काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा लगानी आकर्षित गर्न, उद्योग व्यवसाय विस्तार गर्न र रोजगारी सिर्जना गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्। उनले लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान कानुन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
काठमाडौं क्षेत्र नम्बर ६ का बासिन्दासँग आइतबार भएको भेटघाटमा मन्त्री खनालले उद्योग तथा व्यवसाय सञ्चालनमा रहेका कानुनी जटिलता हटाउन सरकार केन्द्रित रहेको बताए। उनका अनुसार आगामी केही हप्ताभित्र सरकारले संशोधन गर्न लागेका कानुन र त्यसबाट व्यवसाय क्षेत्रमा पर्ने प्रभावबारे सार्वजनिक जानकारी गराइनेछ।
लगानीको वातावरण सहज नभएसम्म उद्योग व्यवसाय विस्तार हुन नसक्ने र त्यसले रोजगारी सिर्जनामा समेत असर पार्ने उनको भनाइ थियो।
‘जति हामी देशलाई लगानीमैत्री बनाउन सक्छौं, त्यति नै उद्योग व्यवसाय फस्टाउँछन्। त्यसबाट बल्ल रोजगारी सिर्जना हुन्छ भन्ने दृष्टिकोणसहित काम गर्दैछौँ,’ उनले भने, ‘त्यसको नतिजा आउन केही समय लाग्छ।’
उनले कानुनी सुधारका लागि सरकार र संसद्बीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै आगामी संसद् अधिवेशनमा पनि संशोधनका विषय अघि बढाइने बताए। केही कानुन संशोधनको प्रक्रिया परराष्ट्र मन्त्रालयबाटै सुरु भइसकेको उनले जानकारी दिए।
गैरआवासीय नेपालीका अधिकार कार्यान्वयनमा जोड:
मन्त्री खनालले गैरआवासीय नेपालीले संविधान र कानुनले प्रदान गरेका अधिकार सहज रूपमा उपभोग गर्न सक्ने व्यवस्था मिलाउन पनि सरकार प्रयासरत रहेको बताए।
परराष्ट्र मन्त्रालयले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको उल्लेख गर्दै उनले अन्य कानुनी व्यवस्थामा आवश्यक सुधार गरेर गैरआवासीय नेपालीका अधिकार कार्यान्वयनलाई सहज बनाउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार विदेशको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता कायम गर्न चाहने व्यक्तिले आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था विद्यमान कानुनमा छ।
संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कतिपय विषय विद्यमान कानुन संशोधनबाटै समाधान गर्न सकिने र कतिपयका लागि संविधान संशोधन आवश्यक पर्ने स्पष्ट पारे।
टोखा–छहरे सुरुङमार्गबारे निर्णय भइसकेको छैन:
मन्त्री खनालले काठमाडौं क्षेत्र नम्बर ६ सँग जोडिएको टोखा–छहरे सडक तथा प्रस्तावित सुरुङमार्गबारे फैलिएका विभिन्न चर्चामाथि पनि स्पष्टीकरण दिएका छन्। उनले सुरुङमार्गको प्रवेश र निकास बिन्दु तथा सडकको अन्तिम रेखांकनसमेत टुंगो नलागेको अवस्थामा ८२ मिटर सडक मापदण्ड लागू हुने भन्ने चर्चा निर्णय नभएको बताए।
उनका अनुसार टोखा–छहरे सडकको मापदण्ड २०७६ सालमै निर्धारण भएको हो। वर्तमान सरकारले उक्त मापदण्ड परिवर्तन नगरेको उनको दाबी छ। अहिले सामाखुसीसम्मको सडक दुई लेनको रहेको र सडकको राइट अफ वे १५–१५ मिटर कायम रहेको उनले बताए।
सुरुङमार्गलाई अन्तर्राष्ट्रिय राजमार्गको स्वरूपमा विकास गर्ने वा सडकको मापदण्ड विस्तार गर्ने विषयमा सरकारले कुनै अन्तिम निर्णय नगरेको उनको भनाइ छ।
‘टोखा–छहरे सुरुङको पोइन्ट के हो भन्ने आजको मितिसम्म कसैलाई पनि थाहा छैन। अध्ययन भइराखेको छ। प्रि–फिजिबिलिटी स्टडीको रिपोर्ट पनि आइसकेको अवस्था छैन,’ उनले भने।
उनका अनुसार पूर्वसम्भाव्यता अध्ययनपछि सम्भाव्यता अध्ययन गरिने र त्यसबाट प्राप्त निष्कर्षका आधारमा मात्रै सुरुङमार्गको स्थान, सडकको स्वरूप र मापदण्डबारे निर्णय हुनेछ।
सडकको मापदण्डसम्बन्धी अन्योलका कारण स्थानीय बासिन्दाले जग्गाको मूल्याङ्कन, बैंकिङ कारोबार र ऋण प्रक्रियामा समस्या भोगिरहेको विषयमा पनि उनले चासो व्यक्त गरे । घोषित मापदण्डभन्दा बाहिर गएर स्थानीय सरकारले नक्सा पास रोकिरहेको भए सम्बन्धित निकायमा निवेदन दिन उनले आग्रह गरे। त्यस्ता समस्या समाधानका लागि भौतिक पूर्वाधार मन्त्रालयमार्फत पहल गर्ने उनको प्रतिबद्धता थियो।
टोखा–छहरे सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७६ सालमा चिनियाँ परामर्शदाता टोलीले गरेको थियो। उक्त टोलीले विभिन्न विकल्प प्रस्तुत गरे पनि आयोजना निर्माणको ठोस निर्णय भने हुन सकेको छैन।
साङ्ला खोला करिडोरलाई प्राथमिकता:
मन्त्री खनालले काठमाडौं क्षेत्र नम्बर ६ को विकासका लागि साङ्ला खोला करिडोरलाई आफ्नो प्राथमिकतामा राखेको बताए। संघीय सांसदका रूपमा निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास आयोजनालाई अघि बढाउन आफूले पहल गरिरहेको उनको भनाइ थियो।
तीन तहका बजेट सार्वजनिक गर्नुपर्नेमा जोड:
खनालले संघ, प्रदेश र स्थानीय तहबाट विनियोजन हुने बजेटबारे नागरिकलाई जानकारी गराउन आफूले सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै आएको बताए।
एउटै स्थानमा विभिन्न तहका सरकारले दोहोरो बजेट विनियोजन गर्ने अवस्था रोक्न बजेट पारदर्शिता आवश्यक रहेको उनले उल्लेख गरे। कुन सरकारले कहाँ र कति रकम विनियोजन गरेको छ भन्ने जानकारी नागरिकले पाउनुपर्ने उनको भनाइ थियो।
बजेटको प्रभावकारिता मूल्याङ्कन गर्ने जिम्मेवारी जनताको पनि भएको भन्दै उनले अनावश्यक वा गलत स्थानमा बजेट विनियोजन भएको देखिए सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे।
प्रदेश सरकारको बजेटसम्बन्धी स्थानीयका प्रश्नलाई सम्बन्धित प्रदेशका प्रतिनिधिसमक्ष पुर्याउने प्रयास गर्ने पनि उनले बताए।