सरकारप्रति शिक्षक महासङ्घको असन्तुष्टि, आन्दोलनको चेतावनी - Chaitanya News
  • 2026-11-29
  • 14:15:54
  • आइतबार,मंसिर १४, २०८३
  • सरकारप्रति शिक्षक महासङ्घको असन्तुष्टि, आन्दोलनको चेतावनी

    सरकारप्रति शिक्षक महासङ्घको असन्तुष्टि, आन्दोलनको चेतावनी

    काठमाडौँ– नेपाल शिक्षक महासङ्घले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनको चेतावनी दिएको छ। शिक्षक तथा विद्यालय कर्मचारीका मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै महासङ्घले आफ्ना माग सम्बोधन नभए कडा र निर्णायक आन्दोलनमा उत्रिने जनाएको छ।

    महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले वार्ताका क्रममा सहमति गर्ने तर कार्यान्वयनमा इमानदारिता नदेखाउने प्रवृत्ति दोहोर्‍याएको आरोप लगाएका छन्।

    सरकारको यस्तो व्यवहारका कारण शिक्षक तथा कर्मचारी लामो समयदेखि उही समस्या र माग बोकेर बस्नुपरेको महासङ्घको भनाइ छ । वर्तमान सरकारले समेत शिक्षक–कर्मचारीका समस्यालाई गम्भीरतापूर्वक नलिएको भन्दै महासङ्घले सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

    महासङ्घले शिक्षकहरूको निवृत्तिभरण व्यवस्थालाई मुख्य मागका रूपमा अघि सारेको छ । नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी नियुक्ति पाएका शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण दिनुपर्ने उसको माग छ । ऐन जारी भएपछि स्थायी हुने शिक्षकका हकमा भने योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्नुपर्ने र अस्थायी रूपमा काम गरेको सेवा अवधिसमेत निवृत्तिभरणमा गणना गर्नुपर्ने माग गरिएको छ।

    त्यसैगरी दुर्गम क्षेत्रमा कार्यरत शिक्षकले पाउँदै आएको स्थानीय भत्ता कटौती गरिएको तथा विगतमा प्राप्त भत्तालाई बेरुजु देखाएर फिर्ता गर्न पत्राचार गरिएको विषयप्रति महासङ्घले आपत्ति जनाएको छ। यसलाई अन्यायपूर्ण भन्दै पुरानै सुविधा निरन्तरता दिन माग गरिएको छ।

    विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकका समस्यालाई पनि महासङ्घले प्राथमिकताका साथ उठाएको छ । उनीहरूका लागि छुट्टै दरबन्दी सिर्जना गरी पदअनुसारको तलब तथा भत्ता उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

    महासङ्घले विगतमा सरकारसँग भएका सहमति समेटेर अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पनि आग्रह गरेको छ। तेस्रो राष्ट्रिय परिषद्बाट पारित ५४ सूत्रीय माग सम्बोधन गर्नुपर्ने र शिक्षा नियमावलीअनुसार पेस गरिएको महासङ्घको विधान स्वीकृत गर्नुपर्ने उसको माग छ।

    विगतका सहमति कार्यान्वयन नगर्ने र शिक्षक–कर्मचारीका समस्या निरन्तर बेवास्ता गर्ने सरकारी प्रवृत्तिले असन्तुष्टि बढाएको उल्लेख गर्दै महासङ्घले माग सम्बोधनका लागि सरकारलाई दबाब दिएको छ। आफ्ना मागप्रति गम्भीरता नदेखाइए निर्णायक आन्दोलनमा जान बाध्य हुने उसले चेतावनी दिएको छ।