धनगढी: धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रको सार्वजनिक यातायात सेवा विस्तार गर्ने उद्देश्यले थप दुई वटा विद्युतीय (ईभी) मिनी बस खरिद गरेको छ। बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका ती मिनी बस आइतबार उपमहानगरपालिकाको कार्यालयमा आइपुगेका हुन्।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसम्म सहज पहुँच पुर्याउने, विद्यार्थीको आवतजावत सहज बनाउने तथा रोजगारीका लागि दैनिक ओहोरदोहोर गर्ने नागरिकको यात्रा सहज बनाउने उद्देश्यले बस खरिद गरिएको हो।
नयाँ बसमार्फत स्याउले–घुर्सुवा हुँदै हसनपुर भएर धनगढी बजारसम्म यातायात सेवा सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ। यसबाट उक्त क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता पुग्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको शैक्षिक पहुँच र रोजगारीका अवसरसँग ग्रामीण क्षेत्रको सम्बन्ध विस्तार हुने नगर प्रमुख गोपाल हमालले जानकारी गराएका छन्।
धनगढी उपमहानगरपालिकाले केही दिन अघि पनि ग्रामीण क्षेत्रमा पर्ने वडा नम्बर १२, १५, १६ र १७ का नागरिकलाई लक्षित गरी ६ वटा मिनी बस ल्याइसकेको छ।
त्यस्तै, फूलबारीदेखि अत्तरियासम्म ६ वटा नगर बस सञ्चालन भइरहेका छन्। थप दुई विद्युतीय मिनी बस सञ्चालनमा आएपछि उपमहानगरपालिकाको सार्वजनिक यातायात सेवा विस्तार हुने र ग्रामीण क्षेत्रका नागरिकलाई सहरी क्षेत्रसँग जोड्न थप सहज हुने छ।