पाँच वर्षमा एक लाख युवालाई रोजगारी दिने सरकारको योजना - Chaitanya News
  • 2026-11-29
  • 15:21:33
  • आइतबार,मंसिर १४, २०८३
  • पाँच वर्षमा एक लाख युवालाई रोजगारी दिने सरकारको योजना

    पाँच वर्षमा एक लाख युवालाई रोजगारी दिने सरकारको योजना

    काठमाडौँ– वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउँदै स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर विस्तार गर्ने लक्ष्यसहित सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। आगामी पाँच वर्षभित्र एक लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले सरकारले ‘केयर इकोनोमी पोलिसी’ निर्माण गरिरहेको छ।

    राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउन विभिन्न योजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार नेपालको इतिहासमै पहिलो पटक केयर इकोनोमीसम्बन्धी नीति निर्माण गर्न लागिएको हो।

    सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, दक्षता र अनुभवलाई स्वदेशको श्रम बजारसँग जोड्न ‘रिटर्नी कनेक्ट’ डिजिटल प्लेटफर्म सञ्चालन गर्ने तयारी गरेको छ। त्यसैगरी, स्वदेशमै प्लेटफर्म इकोनोमी विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्न ‘श्रम सेवा’ नामक अर्को डिजिटल प्लेटफर्म पनि ल्याउन लागिएको मन्त्री यादवले बताए।

    युवालाई जागिर खोज्ने मात्र नभई आफैँ उद्यमी बन्न प्रोत्साहित गर्ने उद्देश्यले युवा स्वरोजगार कोषमार्फत बिनाधितो कर्जा उपलब्ध गराउने योजना पनि सरकारको प्राथमिकतामा परेको छ। व्यावसायिक अवधारणा विकासदेखि उद्यम सञ्चालनसम्म सहयोग र मार्गदर्शन उपलब्ध गराउने गरी ‘युवा उद्यम सारथी’, ‘कर्मयोगी श्रम सम्मान योजना’ र ‘उद्यम बनाऊ उद्यम बढाऊ’ कार्यक्रम आगामी महिना सार्वजनिक गर्ने तयारी गरिएको छ।

    श्रम तथा रोजगार क्षेत्रमा देखिएका पुराना समस्या र बेथिति अन्त्य गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई समेत अघि बढाएको छ। राष्ट्रिय रोजगार ऐन पहिलो पटक तर्जुमा भइरहेको र त्यसमा सामाजिक उद्यमशीलतालाई समेत समेट्ने व्यवस्था गर्न लागिएको मन्त्री यादवले जानकारी दिए।

    त्यस्तै, १९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गरिएको छ। संघीयता कार्यान्वयनपछि पहिलो पटक राष्ट्रिय युवा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ। संशोधन प्रस्तावमा राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा ३५ वर्षमुनिका युवालाई नियुक्त गर्ने व्यवस्था समावेश गरिएको मन्त्री यादवको भनाइ छ।

    सरकारले युवा सम्मेलनबाट प्राप्त सुझावलाई पनि आगामी नीति तथा कार्यक्रमको आधार बनाउने जनाएको छ। मन्त्री यादवले सम्मेलनपछि तयार हुने ‘काठमाडौँ घोषणापत्र’मा समेटिएका सुझाव मन्त्रालयमा छलफल गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

    दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय युवा सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल शासन, उद्यमशीलता, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक समानता र नागरिक सहभागितालगायत विषयमा छलफल भइरहेको छ। सम्मेलनले युवाका समस्या, सम्भावना र रोजगारी सिर्जनाका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।