काठमाडौँ– तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माणले १२ वर्षपछि गति लिने संकेत देखिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले एक महिनाभित्र पुल निर्माणको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।
आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने गरी निर्माण थालिएको पुल लामो समयदेखि अलपत्र छ। १२ वर्षअघि सुरु भएको आयोजनामा हालसम्म केही पिल्लर मात्र निर्माण भएका छन्।
मन्त्री लम्सालले पुल निर्माणका लागि पुरानै संरचनालाई निरन्तरता दिने वा नयाँ संरचनाबाट काम अघि बढाउने भन्ने निर्णय भने भइनसकेको बताएका छन्। पुल निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता यसअघि नै तोडिएको छ।
निर्माण कार्य लामो समयदेखि रोकिँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयले पटक–पटक मन्त्री, सांसद तथा सडक डिभिजन कार्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन्।
मन्त्रीको पछिल्लो प्रतिबद्धतासँगै वर्षौंदेखि अलपत्र घुमाउने पुल निर्माणले गति लिने अपेक्षा गरिएको छ।