दशौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि सबै निकायबीच संयुक्त परिचालनको तयारी - Chaitanya News
  • 2026-11-29
  • 16:31:30
  • आइतबार,मंसिर १४, २०८३
  • दशौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि सबै निकायबीच संयुक्त परिचालनको तयारी

    दशौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि सबै निकायबीच संयुक्त परिचालनको तयारी

    काठमाडौँ– कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायहरूले संयुक्त सुरक्षा रणनीति तयार पारेका छन्। प्रतियोगिताभर सुरक्षा अवस्था प्रभावकारी बनाउन सबै सुरक्षा निकायबीच निरन्तर सूचना आदानप्रदान गर्ने र आवश्यकताअनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय भएको छ।

    कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै सुर्खेतमा विशेष सुरक्षा समन्वय बैठक बसेको हो। बैठकमा प्रतियोगिताको उद्घाटनदेखि समापनसम्म अपनाउनुपर्ने सुरक्षा रणनीति, सम्भावित चुनौती र सुरक्षा निकायबीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।

    मंसिर १६ गते प्रधानमन्त्री शाहको उपस्थितिमा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा विशिष्ट व्यक्तिहरूको सहभागिता, खेलाडी तथा अफिसियलको आवास व्यवस्थापन र दर्शकको ठूलो उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउने तयारी गरिएको छ।

    सुरक्षा योजनाअन्तर्गत रंगशालामा प्रवेश तथा बाहिरिने मार्गको व्यवस्थापन, भीड नियन्त्रण, सवारी पार्किङ र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। त्यस्तै, खेलस्थलमा सीसीटीभीमार्फत निगरानी, नियमित सुरक्षा गस्ती र अतिविशिष्ट पाहुनाको सुरक्षित आवागमनका लागि आवश्यक प्रबन्ध मिलाइनेछ।

    मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

    सुरक्षा समन्वय बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही, सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, प्रधानमन्त्रीका प्रेस संयोजक दिपा दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता सहभागी थिए।

    त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिवद्वय डा. रमेशकुमार केसी र लक्ष्मीकुमार विक, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रोशनीकुमारी श्रेष्ठ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठक र राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश कार्यालयका अनुसन्धान निर्देशक नवीनराज अधिकारीको उपस्थिति थियो।

    बैठकमा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव रोविन चन्द, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव विद्याप्रसाद उपाध्याय र शाखा अधिकृत नवराज शर्मा, उत्तरपश्चिम पृतना निमारे ब्यारेकका महासेनानी विदुर अधिकारी, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल र कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर खड्कासमेत सहभागी थिए।

    यसैगरी सुरक्षा प्रबन्ध उपसमितिका सचिव सरोजकुमार पोखरेल र सदस्य कुमार बस्नेत, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव राकेशबहादुर शाही, निजी सचिव मुकुन्द शर्मा तथा सशस्त्र प्रहरी उपरीक्षक बिरसिंह धामीको पनि सहभागिता रहेको थियो।