काठमाडौँ– नेपालको हिमाल आरोहणमा विदेशी आरोहीको आकर्षण बढेको देखिएको छ। जारी पर्वतारोहण सिजनमा ७७ देशका १ हजार ६ सय ३३ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्। उनीहरूबाट पर्यटन विभागले ३३ करोड ४२ लाख ८६ हजार ६ सय १७ रुपैयाँ रोयल्टी संकलन गरेको छ।
पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस सिजनमा ५० हिमाल आरोहणका लागि १ सय ९० समूहलाई अनुमति जारी गरिएको छ। अनुमति लिनेमा ३ सय ८० महिला रहेका छन्।
यस सिजनमा सबैभन्दा बढी आरोहीको रोजाइमा मनास्लु हिमाल परेको छ। मनास्लु आरोहणका लागि ४३ समूहका ५ सय जनाले अनुमति लिएका छन्। तीमध्ये १ सय २७ महिला छन्।
त्यस्तै, अमादब्लम आरोहणका लागि ४० समूहका ४ सय ७६ जनाले अनुमति लिएका छन्। यसमा १ सय १६ महिला रहेका छन्। हिमलुङ हिमाल आरोहणका लागि १३ समूहका १ सय ३० जनाले अनुमति लिएकामा २१ महिला छन्। बरुणत्से आरोहणका लागि भने ६ समूहका ६५ जनाले अनुमति लिएको विभागले जनाएको छ।
देशगत रूपमा हेर्दा फ्रान्सेली आरोही सबैभन्दा बढी छन्। फ्रान्सबाट २१ महिलासहित १ सय ५० जनाले आरोहण अनुमति लिएका छन्। चीनबाट ४४ महिलासहित १ सय ४६, अमेरिकाबाट ३३ महिलासहित १ सय ३०, रुसबाट ३७ महिलासहित १ सय २४ र बेलायतबाट १६ महिलासहित १ सय १२ जनाले अनुमति लिएका छन्।
जारी सिजनमा विभिन्न देशका आरोहीको सहभागिताले नेपालको पर्वतीय पर्यटनमा अन्तर्राष्ट्रिय आकर्षण कायम रहेको देखाएको छ। आरोहण अनुमति शुल्कबापत संकलित ३३ करोडभन्दा बढी रोयल्टीले सरकारी राजस्वमा समेत योगदान पुर्याएको छ।