कर्णाली — दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा अग्रता कायम गरेको छ। तर प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन बनेको छ। आफ्नै प्रदेशमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन भइरहँदा कर्णालीले कुनै पनि विधामा पदक जित्न नसक्नु चर्चाको विषय बनेको छ। हालसम्म अनौपचारिक रूपमा सम्पन्न विभिन्न खेलको नतिजाअनुसार बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ। पदक सङ्ख्याका आधारमा दोस्रो स्थानमा रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक हात पारेको छ। सहआयोजक कर्णाली भने पदक तालिकामा शून्यमा सीमित छ। प्रदेशको कमजोर प्रदर्शनबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्नुलाई मुख्य कारणका रूपमा औँल्याएका छन्। पदक तालिकामा त्रिभुवन आर्मी क्लब ११ स्वर्ण, २० रजत र १९ कास्यसहित कुल ५० पदक जितेर अगाडि छ। नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ। त्यस्तै, गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ पदक जित्दा कोशीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ पदक प्राप्त गरेको छ। सशस्त्र प्रहरी बल (एपिएफ)ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच तथा लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ पदक जितेका छन्। सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गर्दा मधेस प्रदेशले दुई कास्य पदकमा चित्त बुझाएको छ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन्। तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन्। नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा: दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको खेलमा पुलिसले गण्डकीलाई १–० गोलले हराएको हो। पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। खेलका क्रममा पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए। हारसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ। आज मङ्सिर १३ गते दुई खेल हुँदैछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भिड्नेछन् भने दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिएका छन्।


