काठमाडौं– नेपाली सेनाले यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि कोशी प्रदेशबाट सुरु गर्ने भएको छ। सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा आयोजना हुने सम्मेलनमा कोशी र बागमती प्रदेशका २४ जिल्लाका करिब ५५ हजार भूतपूर्व सैनिक सहभागी हुने अनुमान गरिएको छ। नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार मङ्सिर १४ देखि २५ गतेसम्म सञ्चालन हुने सम्मेलन २० स्थानमा आयोजना गरिनेछ। यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ तय गरिएको छ। सम्मेलनमार्फत भूतपूर्व सैनिकबीच पुनर्मिलन गराउनुका साथै उनीहरूको हित र सैनिक कल्याणकारी कोषको दिगोपनलाई प्राथमिकता दिइनेछ। सम्मेलनको पहिलो चरणमा पूर्वी पृतनाअन्तर्गतका जिल्लालाई समेटिनेछ। जसमा सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बु रहेका छन्। नेपाली सेनाले प्रत्येक प्रधान सेनापतिको कार्यकालमा हरेक प्रदेशमा एकपटक भूतपूर्व सैनिक सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनलाई थप वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी सञ्चालन गर्ने गरिएको छ। पृतनाको मुख्यालयमा आयोजना हुने सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।


