काठमाडौं– जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो। अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए। नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ। बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो । नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ । यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।


