एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्‍यो - Chaitanya News
  • 2026-09-25
  • 14:51:33
  • शुक्रबार,आश्विन ०९, २०८३
  • एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्‍यो

    एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्‍यो

    काठमाडौं– जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

    जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।

    अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

    नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए।

    टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो।

    अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए। नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए।

    नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।

    नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ। बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो ।

    नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

    क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ ।

    यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।