धनगढी-चैतन्य अन्तरविद्यालय स्तरीय शिक्षक फुटसल प्रतियोगिता–२०८३ अन्तर्गत वाल्मीकि बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वाल्मीकिले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा वाल्मीकि बोर्डिङ स्कुल र मयुर बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा जित निकाल्दै वाल्मीकि उपाधि नजिक पुगेको छ।
अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एलायन्स र सुदूरभेदाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले फाइनलमा वाल्मीकि बोर्डिङ स्कुलसँग उपाधिका लागि भिडन्त गर्नेछ।
चैतन्य अन्तरविद्यालय स्तरीय शिक्षक फुटसल प्रतियोगिताले शिक्षकहरूबीच आपसी सद्भाव, सहकार्य र खेलकुद भावनाको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कक्षाकोठामा सिकाइने अनुशासन, सहकार्य, सम्मान र सिकाइका मूल्यहरू खेलमैदानमा समेत व्यवहारमा उतार्न सकिने भएकाले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियनसिप ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।