काठमाडौँ– देशभरका नदी तथा खोलानालामा जलसतह बढ्ने क्रमसँगै आज र भोलि बाढीको जोखिम थप बढ्ने भएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको विशेष बुलेटिनमार्फत विभिन्न प्रदेशका नदी तथा स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको हो।
महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा बहने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ। गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरलगायत जिल्लामा जोखिम बढी रहने पूर्वानुमान गरिएको छ।
आजै पूर्वको ताप्लेजुङदेखि पश्चिमको बैतडीसम्मका अन्य दर्जनौँ जिल्लामा बहने स–साना नदीमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ।
भोलि बाढीको उच्च जोखिम अझ विस्तार हुने देखिएको छ। नवलपरासी पूर्वदेखि कञ्चनपुरसम्मका २५ जिल्लाका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ। नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका नदीमा विशेष सावधानी आवश्यक हुने महाशाखाको पूर्वानुमान छ।
यसैबीच कोशी, नारायणी, बागमती, कन्काई, कमला तथा तिनका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ। आज सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीलगायत कोशी बेसिनका नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ।
नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा पनि आज बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा भने आज सामान्य वृद्धि हुने र भोलि उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।
आज बिहानसम्म पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली तथा तिनका सहायक नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आज र भोलि देशका धेरैजसो प्रमुख नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ।
पर्सि असोज ११ गते पनि सातै प्रदेश भएर बहने केही स–साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
