महिला कबड्डीमा नेपाल लगातार दोस्रोपटक कास्यमा सीमित - Chaitanya News
  • 2026-09-26
  • 13:55:07
  • शनिबार,आश्विन १०, २०८३
  • महिला कबड्डीमा नेपाल लगातार दोस्रोपटक कास्यमा सीमित

    महिला कबड्डीमा नेपाल लगातार दोस्रोपटक कास्यमा सीमित

    काठमाडौं– महिला कबड्डीमा नेपालले लगातार दोस्रो एसियन गेम्समा कास्य पदकमै चित्त बुझाएको छ। २०औँ एसियन गेम्सको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमा सीमित भएको हो।

    जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भयो। भारतले पहिलो हाफमै ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम राख्दै खेल आफ्नो पक्षमा पार्‍यो।

    नेपालले यसअघि १९औँ एसियन गेम्समा पनि सेमिफाइनलमा भारतकै सामना गरेको थियो। त्यतिबेला पनि भारतसँग पराजित भएपछि नेपालले कास्य पदक जितेको थियो।

    यसपटक समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनल प्रवेशसँगै नेपालले कास्य पदक पक्का गरेको थियो।

    जारी एसियन गेम्समा नेपालको यो दोस्रो पदक हो। यसअघि पुरुष करातेको कुमिते ८४ केजी तौल समूहमा तेन्जिङ शेर्पाले नेपाललाई कास्य पदक दिलाएका थिए।