काठमाडौँ– अविरल वर्षासँगै विभिन्न राजमार्गमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने सार्वजनिक यातायात प्रभावित भएको छ। बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा परेको लगातारको वर्षाका कारण लामो दूरीका अधिकांश सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन्।
काठमाडौँ जोड्ने प्रमुख राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध भएपछि नयाँ बसपार्कमा सार्वजनिक सवारीसाधनको चाप बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले प्रमुख राजमार्ग अवरुद्ध हुँदा बाहिरी जिल्लातर्फ जाने सार्वजनिक बस काठमाडौँमै रोकिएको जानकारी दिए।
उनका अनुसार पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। काठमाडौँबाट हेटौँडा जाने फर्पिङको सडक भने सञ्चालनमा रहेकाले साना सवारीसाधन आवतजावत गरिरहेका छन्।
गोङ्गबुस्थित नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार बिहीबार साँझदेखि नै सार्वजनिक यातायातका सवारीसाधन बसपार्कमा रोकिएका छन्।
“देशका विभिन्न भागबाट काठमाडौँ जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँ बसपार्कमै रोकिएका छन्,” उनले भने।
यसैबीच, काठमाडौँ उपत्यकामा बिहीबार बिहानदेखि लगातार वर्षा भइरहेको छ। निरन्तर वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी करिडोर क्षेत्रमा सवारीसाधन नरोकिन र पार्किङ नगर्न आग्रह गरेको छ। ट्राफिक प्रहरीले जोखिमयुक्त क्षेत्रबारे माइकिङसमेत गरिरहेको छ।
भारी वर्षाका कारण राजमार्गमा थप पहिरो जानसक्ने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि चालक तथा व्यवसायीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले वर्षाका कारण जुनसुकै बेला राजमार्ग अवरुद्ध हुनसक्ने भएकाले सुरक्षा निकायसँग समन्वय गरेर मात्र आवतजावत गर्न व्यवसायी तथा चालकलाई आग्रह गरे।
असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान रहेकाले यातायात तथा यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गर्दै आएका छन्।