चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1155
  • 2026-11-23
  • 15:51:17
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

नयाँदिल्ली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीका लागि अनुकूल वातावरण र प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै भारतीय उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीमा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै भारतीय निजी क्षेत्रलाई नेपालमा नयाँ लगानी गर्न र भइरहेका लगानी विस्तार गर्न आग्रह गरेका हुन्। नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेको बताए। “सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,” उनले भने, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।” नेपालमा विदेशी लगानी आकर्षित गर्न सरकारले नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिएको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए। लगानीसम्बन्धी कानुनी व्यवस्थालाई सरल र लगानीमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै उनले निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सरकारले आवश्यक सहजीकरण गरिरहेको बताए। उनका अनुसार विदेशी लगानीकर्ताको लगानी सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउन सरकारले विशेष पहल गरिरहेको छ। लगानीकर्ताले विश्वासका साथ नेपालमा पुँजी परिचालन गर्न सक्ने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो। कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद तथा भारतीय उद्योग परिसंघ (सीआईआई) को अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए। नेपालबाट प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी उद्योगी व्यवसायीका साथै भारतका डेढ दर्जनभन्दा बढी उद्योगी व्यवसायी तथा प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको कार्यक्रममा सहभागिता रहेको थियो। नेपाल र भारतका निजी क्षेत्रबीच लगानी तथा व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा उपलब्ध लगानीका अवसर उपयोग गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्।

News by नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह :