कोप–३१ मा सहमति जुटेन, जलवायु सहकार्यलाई निरन्तरता दिन स्टिलको आग्रह - Chaitanya News
  • 2026-11-23
  • 08:54:32
  • सोमबार,मंसिर ०८, २०८३
  • कोप–३१ मा सहमति जुटेन, जलवायु सहकार्यलाई निरन्तरता दिन स्टिलको आग्रह

    कोप–३१ मा सहमति जुटेन, जलवायु सहकार्यलाई निरन्तरता दिन स्टिलको आग्रह

    काठमाडौँ– संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयमा सहमति हुन नसके पनि विश्वव्यापी जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

    टर्कीको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार सम्पन्न सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै स्टिलले जलवायु परिवर्तनका असर विश्वभर गम्भीर बन्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्य कमजोर हुन नहुनेमा जोड दिएका हुन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना (युएनएफसिसिसी) को सचिवालयका अनुसार उनले जलवायु संकटसँग जुध्न सबै देशले साझा प्रयासलाई अघि बढाउनुपर्ने बताए।

    उनले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा गम्भीर प्रभाव देखिन थालेको, जीवाश्म इन्धनको लागतले अर्थतन्त्रमा मुद्रास्फीति बढाइरहेको र विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम बढ्दै गएको उल्लेख गरे।

    “विश्वले यस्तो अवस्थाको पुनरावृत्ति धान्न सक्दैन। हाम्रो प्रक्रिया, नियमावली र स्थापित नजिरहरू विश्वका करिब २०० देशलाई एकै ठाउँमा ल्याउनका लागि बनाइएका हुन्”, उनले भने।

    स्टिलले पछिल्लो एक दशकको जलवायु वार्ताबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको स्मरण गराउँदै तापक्रम वृद्धि नियन्त्रणको लक्ष्य, नयाँ जलवायु वित्त लक्ष्य, जीवाश्म इन्धनबाट न्यायोचित तथा व्यवस्थित रूपान्तरण र अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य निर्धारणलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।

    उनका अनुसार कोप प्रक्रिया १९४ पक्ष राष्ट्रहरूको साझा मञ्च भएकाले सबै देशका विचारलाई पारदर्शी रूपमा सुन्ने र विगतका उपलब्धिलाई आधार बनाएर सहमति खोज्ने पद्धति आवश्यक छ। जलवायु वार्ताको प्रक्रियालाई समयअनुकूल सुधार, आधुनिकीकरण र पुनर्संरचना गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

    विश्व अहिले प्रतिबद्धता जनाउने चरणबाट कार्यान्वयनको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै स्टिलले बदलिँदो परिस्थितिअनुसार अन्तर्राष्ट्रिय जलवायु वार्ताको शैली र प्रक्रियामा समेत परिवर्तन आवश्यक रहेको बताए।

    कोप–३१ को औपचारिक वार्तामा अपेक्षित सहमति जुट्न नसके पनि एक्सन एजेन्डाअन्तर्गत भने उल्लेखनीय प्रगति भएको उनको भनाइ थियो। कृषि तथा खाद्य प्रणालीको रूपान्तरणदेखि सहर र पूर्वाधारको उत्थानशीलता बढाउनेसम्मका छवटा प्रमुख कार्यक्षेत्रमा ठोस उपलब्धि हासिल भएको उनले जानकारी दिए।

    विभिन्न देशका प्रतिबद्धता र नेताहरूको शिखर सम्मेलनले विश्व अर्थतन्त्रको करिब आधा हिस्सा विद्युतीकरणलाई तीव्रता दिन अग्रसर भएको देखाएको पनि उनले बताए। कोप–३१ को विद्युतीकरण कार्यान्वयन प्याकेजले वास्तविक अर्थतन्त्रमा महत्त्वपूर्ण प्रगति गरेको उनको भनाइ थियो।

    यी उपलब्धिले नवीन प्रविधि, लगानी र सकारात्मक परिवर्तनलाई गति दिने विश्वास व्यक्त गर्दै स्टिलले अन्ताल्यामा भएका प्रगतिलाई आगामी दिनमा अझ महत्त्वाकाङ्क्षी जलवायु परिणाम हासिल गर्ने आधारका रूपमा लिनुपर्ने बताए।

    उनले विगतमा पनि जलवायु वार्ता प्रक्रियाले विभिन्न अवरोध र असफलता सामना गरे पनि पुनः सशक्त रूपमा अघि बढेको स्मरण गराए । यसपटक पनि निराशालाई अन्त्य मानेर नभई सहकार्यलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा लिनुपर्ने उनको धारणा थियो।

    आगामी कोप–३२ लाई महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गर्दै स्टिलले दोस्रो विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटेक) ले पहिलो समीक्षाबाट प्राप्त उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्ने बताए। पहिलो समीक्षाका उपलब्धिलाई कमजोर बनाउनुको सट्टा तिनलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए।

    जलवायु परिवर्तनविरुद्धको अभियानमा नागरिक समाजको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यको गति कायम राख्न आग्रह गरे।

    दुई सातासम्म चलेको सम्मेलन सफल बनाउन योगदान पुर्‍याउने टर्की सरकार तथा जनता, कोप अध्यक्षता, वार्ताका अध्यक्षहरू र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सचिवालयका कर्मचारीलाई धन्यवाद दिँदै स्टिलले जलवायु सहकार्यले विगतका सम्मेलनमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।

    विश्वलाई विनाशकारी तापक्रम वृद्धिको बाटोबाट बाहिर निकाल्न जलवायु सहकार्यले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको निष्कर्ष थियो। “जलवायु परिवर्तनविरुद्धको संघर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ”, उनले भने।