चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 11 of 1166
  • 2026-11-29
  • 14:04:08
  • आइतबार,मंसिर १४, २०८३

About Author

दोधारा चाँदनी झोलुंगे पुल पुनर्निर्माण गर्न २० करोड लाग्ने अनुमान, तत्काल ५ करोड माग

महेन्द्रनगर — महाकाली नदीमा आएको बाढीले क्षति पुर्‍याएर सञ्चालनमा आउन नसकेको कञ्चनपुरको दोधारा चाँदनी झोलुंगे पुल पुनर्निर्माणका लागि बजेट जुटाउने प्रक्रिया अघि बढाइएको छ। पुल पुनर्निर्माणको पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ। गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने उक्त पुलमा आवागमन पूर्ण रूपमा बन्द भएको छ। सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शंकर बुढाथोकीका अनुसार पुनर्निर्माणको प्रारम्भिक काम अघि बढाउन पाँच करोड रुपैयाँ बजेट माग गरिएको हो। तर, पुलको विस्तृत लागत प्रतिवेदन तयार पार्न भने नदीको पानीको सतह घट्नुपर्ने अवस्था छ। “माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न सकेका छैनौँ”, बुढाथोकीले भने, “नदीमा पानीको सतह घटेपछि अरू प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जान्छौँ।” बाढीबाट पुलमा पुगेको क्षतिको अवस्था अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्यीय प्राविधिक टोली कञ्चनपुर पुगेको थियो। उक्त टोलीले पुलमा करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको थियो। पुललाई पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउन भने करिब २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्राविधिक अध्ययनका क्रममा बाढीले भत्काएको स्तम्भ मात्र नभई पुलको दायाँ र बायाँतर्फ रहेका थप दुई स्तम्भसमेत कमजोर अवस्थामा रहेको पाइएको थियो। यसले पुनर्निर्माणको काम थप प्राविधिक चुनौतीपूर्ण हुने देखिएको छ। यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले पनि पुल पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय र प्रदेश सरकारको बजेट व्यवस्थापनसँगै पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। भीमदत्त नगरपालिका र दोधारा चाँदनीलाई जोड्ने यो झोलुंगे पुल स्थानीय आवागमनको महत्त्वपूर्ण माध्यम हुनुका साथै पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ। पुलमा क्षति पुगेपछि स्थानीय बासिन्दाको आवतजावत प्रभावित भएको छ भने पर्यटकीय गतिविधिमा समेत असर परेको छ। नदीको पानीको सतह घटेपछि माटो परीक्षण, विस्तृत प्राविधिक अध्ययन र लागत प्रतिवेदन तयार गरी ठेक्का प्रक्रियामार्फत पुनर्निर्माण अघि बढाउने सस्पेन्सन ब्रिज डिभिजनको तयारी छ।

News by दोधारा चाँदनी झोलुंगे पुल पुनर्निर्माण गर्न २० करोड लाग्ने अनुमान, तत्काल ५ करोड माग :