विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शिक्षा प्रणालीले विद्यार्थीलाई जागिर खोज्ने मात्र नभई आफैँ रोजगारी सिर्जना गर्न सक्ने बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा असोज १४ गतेदेखि इटहरीमा जारी श्रम रोजगार मेलालाई आइतबार सम्बोधन गर्दै मन्त्री पुनले औपचारिक शिक्षा मात्रै रोजगारीको पर्याप्त आधार बन्न नसक्ने बताए। त्यसका लागि पढाइसँगै सीप, अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो। उनले विश्वविद्यालय तथा कलेजमा अध्ययनसँगै नयाँ प्रविधि र वस्तुको विकास गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। नवप्रवर्तनबाट उत्पादित वस्तु तथा प्रविधिको व्यवसायीकरण गर्न सके विद्यार्थी आफैँ उद्यमी बन्न सक्ने उनले बताए। “पढेर मात्रै जागिर पाइँदैन, पढाइको साथसाथै सीप हुनुपर्यो,” मन्त्री पुनले भने, “नवप्रवर्तनमार्फत उत्पादित वस्तुको व्यवसायीकरण गरेर आफैँ उद्यमी बन्न सके जागिर खोज्नु पर्दैन।” मन्त्री पुनले विश्वविद्यालय तथा कलेजमा नवप्रवर्तन केन्द्र स्थापना गरी आवश्यक उपकरण र स्रोतसाधन उपलब्ध गराउनुपर्ने बताए। नेपालमा उपलब्ध जडीबुटीको अध्ययन, अनुसन्धान र प्रयोगलाई अघि बढाउन आवश्यक प्रयोगशाला निर्माणमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।


