चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 11 of 1153
  • 2026-11-23
  • 03:31:34
  • आइतबार,मंसिर ०७, २०८३

About Author

बाढीपहिरोको पुनर्निर्माणमा कोषको रकम खर्च भइरहेको छ, दुरुपयोग हुँदैन : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम विपद्पछिको उद्धार, राहत तथा पुनर्निर्माणमा पारदर्शी ढङ्गले खर्च भइरहेको बताएका छन्। सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषका लागि उपलब्ध गराएको सहयोग रकम ग्रहण गर्दै मन्त्री पुनले कोषको रकम दुरुपयोग नहुनेमा स्पष्ट पारेका हुन्। उनका अनुसार हालैको बाढीपहिरोले देशका विभिन्न स्थानमा सडक, पुल, विद्यालय तथा अस्पतालमा ठूलो क्षति पुर्‍याएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन कोषको रकम प्रयोग भइरहेको उनले बताए। मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायहरूको प्रारम्भिक अनुमान उद्धृत गर्दै बाढीपहिरोबाट करिब ३ देखि ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए। यति ठूलो क्षतिको पुनर्निर्माणका लागि उद्धार कोषमा जम्मा भएको रकम मात्र पर्याप्त नहुने उनको भनाइ थियो। भोटेकोशीमा आएको बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि उद्धार तथा राहत सामग्री पुर्‍याउन हेलिकप्टरको व्यापक प्रयोग गर्नुपरेको पनि उनले बताए। हेलिकप्टरबाट उद्धार तथा राहत कार्य सञ्चालन गर्दा मात्रै ३० देखि ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको मन्त्री पुनले उल्लेख गरे। यसैबीच, नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ। उक्त रकम सोमबार मन्त्री पुनलाई हस्तान्तरण गरिएको हो।

News by बाढीपहिरोको पुनर्निर्माणमा कोषको रकम खर्च भइरहेको छ, दुरुपयोग हुँदैन : मन्त्री पुन :