काठमाडौँ– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले वार्षिक लक्ष्यको करिब १३ प्रतिशत मात्रै वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म ऋण र अनुदान गरी ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त भएको हो।
सरकारले चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने लक्ष्य राखेको छ। तर पहिलो त्रैमाससम्मको प्राप्ति वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ।
मन्त्रालयको विवरणअनुसार असोज मसान्तसम्म वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रुपैयाँ ऋण प्राप्त गर्ने लक्ष्य राखेकोमा यसको प्रगति १३.८८ प्रतिशत रहेको छ।
त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा पहिलो त्रैमाससम्म १२.९३ प्रतिशत मात्रै उपलब्धि हासिल भएको छ।
यसैबीच, पहिलो तीन महिनामा वैदेशिक सहायता परिचालनका लागि ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। महिनागत विवरणअनुसार साउनमा २ अर्ब २० करोड ३८ लाख, भदौमा १ अर्ब १३ करोड ७३ लाख र असोजमा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको हो।
असोज महिनामा वैदेशिक सहायता प्रतिबद्धता अघिल्ला दुई महिनाको तुलनामा बढी देखिए पनि समग्र सहायता प्राप्ति भने वार्षिक लक्ष्यको तुलनामा न्यून रहेको छ।
वैदेशिक ऋण तथा अनुदान सरकारले विकास निर्माण, पूर्वाधार र विभिन्न सार्वजनिक कार्यक्रम सञ्चालनका लागि परिचालन गर्ने महत्त्वपूर्ण स्रोत हुन्। पहिलो त्रैमासमा लक्ष्यअनुसार सहायता प्राप्ति हुन नसक्दा चालु आर्थिक वर्षको वैदेशिक सहायता परिचालनको अवस्था अपेक्षाकृत सुस्त देखिएको छ।