काठमाडौं– नेपाली कांग्रेसको देउवा समूहले सुदूरपश्चिम प्रदेशमा प्रदेश अधिवेशन गर्ने तयारी तीव्र पारेको छ। मंसिर १५ गतेदेखि सुरु हुने दुईदिने अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्।
गृहप्रदेशमा आयोजना हुन लागेको अधिवेशन उद्घाटनका लागि देउवा सुदूरपश्चिम जाने कार्यक्रम तय भएको प्रदेश सभापति वीरबहादुर बलायरले जानकारी दिए।
अधिवेशन कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा आयोजना हुनेछ। बलायरले यसअघि विज्ञप्ति जारी गर्दै मंसिर १५ गते बिहान ११ बजेदेखि उद्घाटन समारोह सुरु हुने जानकारी दिएका थिए।
अधिवेशनका लागि सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको छ । उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको जनाएको छ।