दमौली (तनहुँ)– चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । स्वदेशी तथा विदेशी पर्यटकको आगमन तीव्र बनेपछि यहाँका होटल तथा होमस्टे भरिभराउ भएका छन् भने पर्यटकलाई आवास व्यवस्थापन गर्न कठिन हुन थालेको छ ।
पर्यटकको सङ्ख्या बढेसँगै बन्दीपुरका होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ । बास बस्ने ठाउँ नपाउँदा केही पर्यटक बन्दीपुरबाटै फर्किनुपर्ने अवस्था आएको छ भने कतिपय पर्यटक रात बिताउन नजिकैको डुम्रे बजार पुग्न बाध्य भएका छन् ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार पछिल्लो समय बन्दीपुरमा पर्यटकको चाप अत्यधिक बढेको छ । होटल तथा होमस्टेमा क्षमताभन्दा बढी पर्यटकको माग हुँदा व्यवस्थापनमा चुनौती थपिएको उनले बताए ।
उनका अनुसार चाडपर्वको लामो बिदा र पर्यटकीय मौसम एकै समयमा परेकाले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकको आकर्षण बढे पनि सबैलाई बस्ने व्यवस्था मिलाउन नसकिएको उनको भनाइ छ ।
बन्दीपुरमा सञ्चालित होटल तथा होमस्टेमा गरी करिब एक हजार ४०० जनालाई आवास उपलब्ध गराउन सकिने क्षमता छ । यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन् । तर, खानेपानीको अभावका कारण होटलहरूले पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न नसकेको अध्यक्ष बानियाँले बताए ।
पर्यटकको आगमन बढिरहेका बेला पर्याप्त पानीको व्यवस्था नहुँदा होटल सञ्चालन र आगन्तुकको व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ । पर्यटकको मागअनुसार आवास सुविधा विस्तार गर्नुका साथै आवश्यक पूर्वाधार व्यवस्थित गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदा मनाउन परिवार तथा साथीभाइसँग बन्दीपुर आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताए । पर्यटकको चापले व्यवसायमा उत्साह थपिए पनि सबै आगन्तुकलाई कोठा उपलब्ध गराउन नसकिएको उनले उल्लेख गरे ।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक बजार, मौलिक संस्कृति र हिमशृङ्खलाको मनोरम दृश्यका कारण बन्दीपुर पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । यहाँको पुरानो बजारमा रहेका परम्परागत घर, स्थानीय रहनसहन र शान्त वातावरणले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
बन्दीपुरमा खड्गदेवी, थानीमाई र महालक्ष्मीलगायतका मन्दिर, सिद्धगुफा, मणि मुकुन्दसेन पैदलमार्ग अर्थात् मिनी ग्रेटवाल, तीनधारा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार तथा पदम पुस्तकालय प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेका छन् ।
त्यस्तै, भक्तपुरे शैलीमा निर्माण गरिएका परम्परागत घर, रानीबन, रामकोट, सुनखरी, विन्ध्यवासिनी मन्दिर तथा सूचना केन्द्रले पनि पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।
पर्यटकको बढ्दो आगमनले बन्दीपुरका होटल, रेस्टुरेन्ट, होमस्टे तथा स्थानीय व्यापार व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । तर, पर्यटकको चापअनुसार आवास, खानेपानी तथा अन्य पूर्वाधार विस्तार गर्न नसके पर्यटनको बढ्दो सम्भावनालाई व्यवस्थापन गर्न चुनौती हुने देखिएको छ ।