जलवायु परिवर्तनसँग जुध्न शून्य फोहोर प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड - Chaitanya News
  • 2026-11-16
  • 10:21:24
  • सोमबार,मंसिर ०१, २०८३
  • जलवायु परिवर्तनसँग जुध्न शून्य फोहोर प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड

    जलवायु परिवर्तनसँग जुध्न शून्य फोहोर प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड

    काठमाडौँ– जलवायु परिवर्तनको असर न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण तथा दिगो विकासका लागि फोहोरमैला व्यवस्थापनलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिइएको छ । कोप–३१ अन्तर्गत क्रिएसन नेपालको आयोजनामा भएको विशेष संवाद कार्यक्रममा शून्य फोहोर (जिरो वेस्ट) प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषय उठाइएको हो ।

    नेपालको राष्ट्रिय पेभिलियनमा आयोजित कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाले फोहोरलाई समस्याका रूपमा मात्र नहेरी पुनःप्रयोग र स्रोतको पुनःप्राप्तिमार्फत आर्थिक तथा वातावरणीय अवसरमा रूपान्तरण गर्नुपर्ने धारणा राखे ।

    क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले छलफलको सहजीकरण गर्दै दिगो फोहोर व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीच सक्रिय, समावेशी तथा एकीकृत सहकार्य आवश्यक रहेको बताइन् ।

    छलफलमा अफ्रिका सर्कुलरका बीएसएफ सिस्टम्स विज्ञ पिओत्र बार्चाकले बीएसएफ प्रणाली र फोहोर व्यवस्थापनका व्यावहारिक समाधानबारे आफ्नो अनुभव प्रस्तुत गरे । उनले विश्वव्यापी अभ्यासबाट सिक्दै चक्रीय अर्थतन्त्रतर्फको रूपान्तरणलाई गति दिन सकिने विषयमा धारणा राखे ।

    दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप)का महानिर्देशक नोर्बु वाङ्चुकले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य र साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै, चिलीको राष्ट्रिय फोहोर सङ्कलक सङ्घकी अध्यक्ष तथा रेडलाक्रेको अन्तर्राष्ट्रिय सचिवालय सदस्य सोलेदाद मेल्लाले फोहोर सङ्कलन तथा व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानलाई उचित पहिचान र सम्मान दिनुपर्ने बताइन् । उनले समावेशी फोहोर व्यवस्थापन प्रणाली निर्माणमा श्रमिकको भूमिकालाई महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिन् ।

    इन्टरएक्टिभका संस्थापक महाप्रबन्धक तथा उपाध्यक्ष एवं क्लाइमको टर्कीका कार्यकारी बोर्ड सदस्य भोल्कान उरालले उद्योग क्षेत्रबाट चक्रीय समाधान अवलम्बन, स्रोतको पुनःप्राप्ति र दिगो फोहोर व्यवस्थापनका सम्भावनाबारे चर्चा गरे ।

    कार्यक्रमले फोहोरमैला व्यवस्थापनलाई सरसफाइमा मात्र सीमित नराखी जलवायु परिवर्तन न्यूनीकरण, स्रोत संरक्षण र चक्रीय अर्थतन्त्रको विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    शून्य फोहोरको लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता र सबै पक्षको सहभागिता अपरिहार्य रहेको निष्कर्ष निकाल्दै क्रिएसन नेपालले सरकारदेखि आम नागरिकसम्मको साझा प्रयासबाट मात्रै दिगो परिवर्तन सम्भव हुने जनाएको छ ।