चैतन्य पाठशालाद्वारा डोटीको रघुनाथ माविलाई २७२ जोडी विद्यालय पोसाक सहयोग - Chaitanya News
  • 2026-11-16
  • 19:53:30
  • सोमबार,मंसिर ०१, २०८३
  • चैतन्य पाठशालाद्वारा डोटीको रघुनाथ माविलाई २७२ जोडी विद्यालय पोसाक सहयोग

    चैतन्य पाठशालाद्वारा डोटीको रघुनाथ माविलाई २७२ जोडी विद्यालय पोसाक सहयोग

    धनगढीः चैतन्य पाठशाला धनगढीले डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित रघुनाथ माध्यमिक विद्यालयलाई २७२ जोडी विद्यार्थी पोसाक सहयोग गरेको छ। चैतन्य शैक्षिक जागरण अभियानअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय पोसाक प्रदान गरिएको हो।

    प्राध्यापक डाक्टर धर्मदेव भट्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी, प्रचार्य प्रेमनिधि ओझा, चैतन्य शैक्षिक जागरण अभियानका सहजकर्ता ईश्वर गिरी तथा रघुनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर पुन मगर, अङ्ग्रेजी शिक्षक नरबहादुर ओली, गणित शिक्षक भवानी जोशीलगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो।

    शनिबार धनगढीस्थित चैतन्य पाठशालामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर धर्मदेव भट्टले रघुनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर पुन मगरलाई पोसाक हस्तान्तरण गरेका हुन्।

    किसान र मजदुरका छोराछोरीको शिक्षामा सहयोग
    पोसाक हस्तान्तरण कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले विद्यालयले चैतन्य शैक्षिक जागरण अभियान सञ्चालन गर्दै आएको बताए।

    २०१२ सालमा स्थापना भएको रघुनाथ माध्यमिक विद्यालयमा किसान तथा मजदुर परिवारका छोराछोरी अध्ययनरत रहेकाले उनीहरूको शैक्षिक यात्रामा सहयोग पुगोस् भन्ने उद्देश्यले पोसाक प्रदान गरिएको उनले बताए।

    ‘२०१२ सालमा खुलेको चर्चित विद्यालयमा किसान र मजदुरका छोराछोरी पढिरहेका छन्। उनीहरूको शिक्षामा सहयोग पुगोस् भनेर हामीले सानो प्रयास गरेका हौँ,’ अध्यक्ष जोशीले भने, ‘चैतन्य पाठशालाले विगत पाँच वर्षदेखि चैतन्य शैक्षिक जागरण अभियान सञ्चालन गरेर दुर्गम पहाडी जिल्लाका विद्यालयहरूलाई सहयोग गर्दै आएको छ।’

    उनले संस्कारसहितको शिक्षा, जीवन्त सिकाइ र शिक्षामा प्रविधिको प्रयोगमार्फत बालबालिकाको सिकाइ प्रक्रियामा आमूल परिवर्तन ल्याउने उद्देश्य चैतन्य पाठशालाले राखेको बताए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सबै बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि सहयोगलाई निरन्तरता दिने उनको भनाइ थियो।

    शैक्षिक जागरण अभियान अनुकरणीय: प्राध्यापक भट्ट
    पोसाक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक डाक्टर धर्मदेव भट्टले चैतन्य पाठशालाले चैतन्य शैक्षिक जागरण अभियान नै चलाएर शिक्षाको क्षेत्रमा अनुकरणीय काम गरेको बताए।

    ‘चैतन्य पाठशालाले चैतन्य शैक्षिक जागर अभियान अन्तर्गत शिक्षामा सबैको पहुँच हुनुपर्छ भन्ने मान्यता अन्तर्गत विभिन्न समयमा सुदूरपश्चिमका विभिन्न विद्यालयमा पुगेर सहयोग गर्दै आएको छ,’ उनले भने, ‘चैतन्य पाठशालाले सुदूरपश्चिममा शैक्षिक जागरणका लागि सहयोग गर्दै आएको कुरा प्रशंसनीय छ।’

    प्राध्यापक भट्टले चैतन्य पाठशालाले दुर्गम क्षेत्रका विद्यालयमा विद्यालय पोसाक सहयोग मात्रै नभई गुणस्तरीय शिक्षा विस्तारदेखि चेतना फैलाउन, शिक्षामा प्रविधिको प्रयोग गर्नसमेत सहयोग गर्दै आएको बताए। कार्यक्रममा प्राध्यापक डाक्टर धर्मदेव भट्टले चैतन्य पाठशालाले संस्थागत रूपमा शैक्षिक जागरण अभियान सञ्चालन गरेर शिक्षाको क्षेत्रमा अनुकरणीय काम गरेको बताए।

    शिक्षामा सबैको पहुँच सुनिश्चित हुनुपर्ने मान्यताका साथ चैतन्य पाठशालाले सुदूरपश्चिमका विभिन्न विद्यालयमा पुगेर सहयोग गर्दै आएको उनले बताए।

    ‘चैतन्य पाठशालाले चैतन्य शैक्षिक जागरण अभियानमार्फत सुदूरपश्चिमका विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको छ। दुर्गम क्षेत्रका विद्यालयमा पोसाक सहयोग गर्नेदेखि गुणस्तरीय शिक्षा विस्तार, चेतना अभिवृद्धि र शिक्षामा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने काम प्रशंसनीय छ,’ उनले भने।

    उनले शिक्षामा समान अवसर सिर्जना गर्न यस्ता अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    चार वर्ष अध्यापन गरेको विद्यालयको प्रगतिले खुसी
    चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले चैतन्य पाठशालाले समाजमा चेतना फैलाउने काम गर्दै आएको स्मरण गर्दै सामाजिक उत्तरदायित्व स्वरुप रघुनाथ माध्यमिक विद्यालय जोरायल डोटीलाई सानो सहयोग गरेको बताए। विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा होस् भनेर सहयोग गरिएको ओझाले बताए।

    आफ्नो शैक्षिक यात्राका चार वर्ष रघुनाथ माध्यमिक विद्यालयमा अध्यापन गरेको स्मरण गर्दै प्राचार्य ओझाले अहिले भने विद्यालयले निकै प्रगति गरेको बताए। दुर्गम क्षेत्रको विद्यालयमा शिक्षकहरूको सामुहिक प्रयासले विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा ठूलो सुधार भएको कुराले खुशी लागेको प्राचार्य ओझाले बताए।

    ‘मैले शैक्षिक जीवनका चार वर्ष रघुनाथ माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गर्ने अवसर पाएको थिएँ। रघुनाथ माध्यमिक विद्यालय अहिले डोटीकै अग्रणी विद्यालय बनेको छ,’ उनले भने, ‘शिक्षकहरूको मेहनतले आधारभूत तह र एसईईमा आएको सुधार गर्व गर्न लायक छ।’

    प्राचार्य प्रेमनिधि ओझाले सामाजिक उत्तरदायित्वअन्तर्गत रघुनाथ माध्यमिक विद्यालयलाई सहयोग गरिएको बताए। विद्यार्थीले प्रत्यक्ष लाभ पाउने गरी सहयोग गर्ने उद्देश्यले पोसाक प्रदान गरिएको उनको भनाइ थियो।

    आफ्नो शैक्षिक जीवनका चार वर्ष रघुनाथ माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गरेको स्मरण गर्दै प्राचार्य ओझाले विद्यालयले पछिल्लो समय उल्लेखनीय प्रगति गरेकोमा खुसी व्यक्त गरे।

    दुर्गम क्षेत्रको विद्यालय भए पनि शिक्षकहरूको सामूहिक प्रयासले विद्यार्थीको शैक्षिक उपलब्धिमा सुधार ल्याउन सम्भव भएको उनले बताए।

    एसईई उत्तीर्ण प्रतिशत ८८ बाट ९५ पुग्यो
    रघुनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर पुन मगरले चैतन्य पाठशालाले गरेको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने बताए। चैतन्य पाठशालामा जस्तै गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर सबै बालबालिकाले पाउनुपर्ने उनको भनाइ थियो।

    उनले शिक्षकहरूको सामूहिक प्रयास र निरन्तर मेहनतका कारण पछिल्ला वर्षमा विद्यालयको शैक्षिक उपलब्धिमा उल्लेखनीय सुधार भएको जानकारी दिए।

    उनका अनुसार २०८१ सालको एसईई परीक्षामा विद्यालयको उत्तीर्ण प्रतिशत ८८ रहेकोमा २०८२ सालमा बढेर ९५ प्रतिशत पुगेको छ।

    यस वर्ष शतप्रतिशत नतिजा हासिल गर्ने लक्ष्यसहित कक्षा ८, ९ र १० का विद्यार्थीका लागि आवासीय सुविधासमेत व्यवस्था गरिएको प्रधानाध्यापक पुनले बताए।

    उनका अनुसार न्यून शुल्कमा आवासीय सुविधासहित अतिरिक्त कक्षाको व्यवस्था मिलाइएको छ। विद्यार्थीलाई शिक्षकहरूले पर्याप्त समय दिएर अध्ययन–अध्यापन गराउने व्यवस्था पनि गरिएको छ।

    चैतन्य पाठशालाले सञ्चालन गर्दै आएको चैतन्य शैक्षिक जागरण अभियानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहयोग तथा दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको छ।