काठमाडौँ– सेवाग्राहीलाई कर छुटको सुविधा लिन सहज होस् भन्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि राजस्व संकलन सेवा सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले कात्तिक ३० गते सार्वजनिक बिदा भए पनि नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयबाट राजस्व संकलन कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कात्तिक २७ गते जारी गरेको सूचनामार्फत सार्वजनिक बिदाका दिन पनि राजस्व संकलन सेवा सञ्चालन हुने जानकारी दिएका छन् ।
नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकभित्र कर बुझाउने सेवाग्राहीलाई १५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । उक्त छुट सुविधा प्राप्त गर्ने कात्तिक ३० गते अन्तिम दिन भएकाले सेवाग्राहीलाई कर बुझाउन सहज होस् भनेर सार्वजनिक बिदामा पनि सेवा सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ ।
पहिलो चौमासिकको कर छुट सुविधा उपयोग गर्न बाँकी रहेका सेवाग्राहीले अन्तिम दिनसमेत सम्बन्धित कार्यालयमा पुगेर राजस्व बुझाउन सक्नेछन् ।
यसअघि गृह मन्त्रालयले कात्तिक २७ गते सूचना जारी गर्दै कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रालयको सार्वजनिक बिदासम्बन्धी निर्णयका बाबजुद नगरपालिकाले भने राजस्व संकलन सेवालाई नियमित राख्ने भएको हो ।