कर्णालीको काखमा रमाउँदै हजारौँ पर्यटक, सम्भावनाको पर्खाइमा पितमारी - Chaitanya News
  • 2026-11-16
  • 15:07:57
  • सोमबार,मंसिर ०१, २०८३
  • कर्णालीको काखमा रमाउँदै हजारौँ पर्यटक, सम्भावनाको पर्खाइमा पितमारी

    कर्णालीको काखमा रमाउँदै हजारौँ पर्यटक, सम्भावनाको पर्खाइमा पितमारी

    धनगढीः कर्णाली नदीको कलकल बगिरहेको पानी, नदी किनारका चट्टानयुक्त घाँसे मैदान, वरिपरि देखिने हरियाली र पहाडको मनोरम दृश्य। त्यसमाथि वनभोजमा रमाइरहेका मानिसका समूह, गीतसङ्गीतको गुञ्जन र हाँसोको कोलाहल। प्रकृतिको यही अनुपम वातावरणमा रमाउन पछिल्लो समय कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ।

    कर्णाली नदीको काखमा अवस्थित पितमारी अहिले वनभोज, घुमघाम र मनोरञ्जनका लागि कैलालीसहित छिमेकी जिल्ला बाँके र बर्दियाका पर्यटकको रोजाइमा पर्न थालेको छ। अझ दसैँदेखि मङ्सिरको अन्तिमसम्म यहाँ पर्यटकको विशेष चहलपहल हुने गरेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि सडक, खानेपानी र शौचालयजस्ता आधारभूत पूर्वाधारको अभाव भने पितमारीको पर्यटन विकासमा चुनौती बनेको छ।

    कर्णाली पुलबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको पितमारी चिसापानी बजारबाट सुर्खेत–कुइने जाने सडक हुँदै पुग्न सकिन्छ। सवारीसाधनमा पाँचदेखि १० मिनेट र पैदल हिँडेर करिब २५ देखि ३० मिनेटमा यहाँ पुग्न सकिन्छ।

    शनिबार चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेशप्रसाद जोशी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीसँगै पितमारी पुग्दा त्यहाँको दृश्य कुनै लोकप्रिय पर्यटकीय गन्तव्यको भन्दा कम थिएन।

    हाम्रो प्रारम्भिक योजना राजकाँणा पुग्ने थियो। चिसापानी पुगेपछि राजकाँणामा आन्तरिक पर्यटकको अत्यधिक चापका कारण बास बस्नका लागि कोठा पाउन कठिन हुने जानकारी पाइयो। त्यसपछि राजकाँणा जाने योजना स्थगित गर्दै चिसापानीमै खाना खाएर पितमारीतर्फ लाग्यौँ।

    त्यस दिन चिसापानी बजार पनि पर्यटकले भरिएको थियो। कर्णाली पुलमा तस्बिर खिच्ने, टिकटक बनाउने र रमाइलो गर्नेहरूको बाक्लो उपस्थिति थियो। बजारका होटल तथा रेस्टुरेन्टमा समेत पर्यटकको चाप देखिन्थ्यो।

    चिसापानी–राजकाँणा जोड्ने जालपादेवी केवलकार सञ्चालनमा आएपछि यस क्षेत्रमा पर्यटकको आवागमन कस्तो होला भन्ने कल्पना गर्दै हामी कच्ची सडक छिचोल्दै पितमारी पुग्यौँ। तर त्यहाँ पुग्दा देखिएको दृश्यले हामीलाई आश्चर्यचकित बनायो। चिसापानी बजारमा जस्तै पितमारीमा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति थियो।

    कैलालीका विभिन्न स्थानीय तहसँगै बर्दिया र बाँकेबाट आएका वनभोजका समूह कर्णाली नदी किनारको चट्टानयुक्त घाँसे मैदानमा रमाइरहेका थिए। कोही गीतसङ्गीतमा नाच्दै थिए, कोही खाना पकाउन व्यस्त थिए त कोही सामूहिक रूपमा खानपिन गरिरहेका थिए। कतिपय समूह तस्बिर र भिडियो खिच्न तथा टिकटक बनाउन व्यस्त देखिन्थे।

    पर्यटकको सङ्ख्या, उनीहरूको उत्साह र कर्णालीको प्राकृतिक सुन्दरता हेर्दा पितमारी केवल वनभोजस्थल मात्र नभएर सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको अनुभूति हुन्थ्यो।

    पितमारीको सङ्गीतमय वातावरण र मानिसको चहलपहलबीच पनि कर्णाली नदी भने आफ्नै गतिमा शान्त भएर बगिरहेको थियो। नदीको चिसो पानी स्पर्श गर्दै हामी पनि केहीबेर रमायौँ। पसिना बग्ने गरी नाच्यौँ र प्राकृतिक वातावरणमा धित मरुन्जेल रमाइलो गर्‍यौँ।

    जिल्लाबाहिरबाट समेत पुग्छन् वनभोजका समूह
    पितमारीमा वनभोज खान आउनेहरूमा कैलालीका विभिन्न स्थानीय तहका बासिन्दासँगै बर्दिया र बाँकेका समूह पनि उल्लेख्य छन्। साथीभाइ, परिवार, कार्यालय तथा विभिन्न सङ्घसंस्थाका समूह यहाँ वनभोजका लागि पुग्ने गरेका छन्।

    धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट शनिबार करिब ६० जनाको समूह लिएर पितमारी पुगेकी अनिता बिष्टका लागि यो दोस्रो भ्रमण थियो। उनले भनिन्, ‘पितमारीको प्राकृतिक वातावरण र वनभोजका लागि उपयुक्त खुला स्थानले हामीहरूलाई आकर्षित गरेको छ। हाम्रो टोलीमा ६० जना वनभोज खान आएका छौँ। यो ठाउँ निकै राम्रो छ।’

    तर पर्यटकको सङ्ख्या बढ्दै गए पनि खानेपानीको अभाव र सडकको कमजोर अवस्थाले समस्या हुने गरेको उनले बताइन्। पितमारीलाई व्यवस्थित पिकनिक स्थलका रूपमा विकास गर्न स्थानीय तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको सुझाव छ।

    त्यस्तै, बर्दियाको भुरीगाउँबाट १० जनाको समूहसहित वनभोज खान पुगेकी सरस्वती तिमिल्सैनाले पहाड र नदीको दृश्यले आफूलाई आकर्षित गरेको बताइन्। उनी दोस्रोपटक पितमारी पुगेकी हुन्। यहाँको प्राकृतिक वातावरण राम्रो भए पनि आवागमन सहज बनाउन सडक निर्माण तथा स्तरोन्नति आवश्यक रहेको उनको भनाइ छ। ‘यो ठाउँमा म दोस्रो पटक आएकी हुँ। सडक कालोपत्र भए यहाँ अझै धेरै मान्छे आउँछन् भन्ने लागेको छ,’ उनले भनिन्, ‘शान्त भएर बग्ने कर्णाली नदी र वरिपरिको पहाडले मलाई यहाँ आउन आकर्षित गर्छ।’

     

    कैलालीको जानकी गाउँपालिका–८ बन्देवीपुरबाट करिब ५० जनाको समूहसहित पुगेका अर्जुन खनाल र आशिष थापा भने पहिलोपटक पितमारी पुगेका थिए। उनीहरूलाई कर्णाली नदीको दृश्य र वरिपरिको प्राकृतिक वातावरण निकै मन परेको थियो। पर्यटकीय सम्भावना बोकेको यस ठाउँमा सडकको अवस्था सुधार गर्न सके अझ धेरै पर्यटक आकर्षित गर्न सकिने उनीहरूको धारणा थियो।

    त्यस्तै, जानकी गाउँपालिका–२ जानकीनगरबाट करिब एक सय जनाको समूहसहित पितमारी पुगेकी गङ्गा न्यौपाने पनि पहिलोपटक यहाँ आएकी थिइन्। ठूलो समूहमा वनभोज खानका लागि उपयुक्त खुला ठाउँ र प्राकृतिक सुन्दरताले आफूलाई निकै राम्रो लागेको उनले बताइन्।

    यी प्रतिनिधि अनुभवले पितमारीको आकर्षण स्थानीय क्षेत्रमै सीमित नरहेको देखाउँछन्। प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके कैलालीसँगै छिमेकी जिल्लाका पर्यटकका लागि पनि यो महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ।

    दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेको स्थानीयको भनाइ
    पितमारीमा पर्यटकको चाप कति छ भन्नेबारे स्थानीयका अनुभव पनि रोचक छन्। त्यहाँ भेटिएका भक्तराज धमलाका अनुसार दसैँदेखि मङ्सिरको अन्तिमसम्म दैनिक करिब एक हजारको सङ्ख्यामा पर्यटक पितमारी पुग्ने गरेका छन्। कैलाली, बर्दिया र बाँकेबाट विशेषगरी वनभोज तथा घुमघामका लागि मानिसहरू आउने गरेको उनले बताए।

    स्थानीय लक्ष्मीदेवी बिष्टका अनुसार पनि पितमारीमा दैनिक एक हजारभन्दा बढी मानिस आउने गरेका छन्। उनी २०७२ सालदेखि यहाँ पसल सञ्चालन गर्दै आएकी छन्। पर्यटकलाई लक्षित गरी खाजा तथा किराना सामान बिक्री गर्दै आएकी उनको पसलमा दैनिक पाँच हजारदेखि २० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको छ।

    पर्यटकको चापअनुसार स्थानीय व्यवसायले समेत लाभ लिन थालेका छन्। विशेषगरी वनभोजको मौसममा खाजा, खानेकुरा तथा दैनिक उपभोग्य सामग्रीको बिक्री बढ्ने गरेको छ। यसले पितमारीमा पर्यटन गतिविधि बढ्दा स्थानीयको आम्दानी र रोजगारीका अवसरसमेत विस्तार हुन सक्ने सङ्केत गर्छ।

    आफ्नै लगानीमा बनाउँदै पूर्वाधार
    पितमारीको पर्यटन सम्भावना बढ्दै गए पनि त्यहाँ आवश्यक आधारभूत पूर्वाधारको अवस्था भने सन्तोषजनक छैन। लामो समयदेखि पितमारीमा बसोबास गर्दै आएका लालबहादुर बिष्टका अनुसार उनले आफ्नै प्रयास र लगानीमा बाटो, खानेपानी तथा शौचालयको व्यवस्था गर्दै आएका छन्।

    उनी २०४८ सालदेखि पितमारीमा बस्दै आएका छन्। पर्यटकको आवागमन बढ्न थालेपछि यहाँ आउने मानिसलाई सहज होस् भनेर स्थानीयस्तरबाटै विभिन्न पूर्वाधार निर्माणको प्रयास भइरहेको उनले बताए।

    ‘बाटो, पानी र शौचालयको व्यवस्था हामी आफैँले गर्दै आएका छौँ। सरकारी सहयोग भए यहाँ आउने पर्यटकलाई अझ सहज हुन्थ्यो र पर्यटकको सङ्ख्या पनि बढ्थ्यो,’ उनको भनाइ छ।

    उनका अनुसार पितमारीमा वनभोजका लागि मात्र नभई देशका विभिन्न ठाउँबाट मानिसहरू घुम्न आउने गरेका छन्। चलचित्र छायाङ्कनका लागि समेत टोलीहरू यहाँ पुग्ने गरेका छन्। विशेषगरी फागुन, चैत र असोज महिनामा चलचित्र छायाङ्कन तथा घुमघामका लागि मानिसहरू आउने गरेको उनले बताए।

    पितमारीको आसपास राष्ट्रिय वन क्षेत्र र प्राकृतिक वातावरणसँग जोडिएका रिसोर्टसमेत सञ्चालनमा छन्। यसले यहाँ पर्यटनसँग सम्बन्धित व्यावसायिक गतिविधि विस्तार हुने सम्भावनालाई थप बल पुर्‍याएको छ।

    केवलकार र पर्यटन सर्किटसँग जोड्न सके सम्भावना अझ फराकिलो
    कर्णाली पुल, चिसापानी, पितमारी र राजकाँणा आसपासको क्षेत्र प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो। चिसापानी–राजकाँणा जोड्ने जालपादेवी केवलकार सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन गतिविधि थप विस्तार हुन सक्ने चिसापानी बजारमा भेटिएका लक्ष्मण न्यौपानेको ठम्याइ छ।

    तर पर्यटकीय गन्तव्यको विकास केवल प्राकृतिक सुन्दरता र पर्यटकको आगमनले मात्र सम्भव हुँदैन। त्यसका लागि व्यवस्थित सडक, पर्याप्त खानेपानी, सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन, सुरक्षित घुमफिरस्थल र आवश्यक पर्यटकीय सेवा अपरिहार्य हुन्छन्।

    अहिले पितमारी पुग्ने पर्यटकले मुख्य रूपमा वनभोज, घुमघाम र मनोरञ्जनलाई प्राथमिकता दिएका छन्। तर व्यवस्थित योजना बनाएर विकास गर्न सके यहाँ पारिवारिक घुमघाम, प्रकृति अवलोकन, चलचित्र छायाङ्कन तथा अन्य पर्यटकीय गतिविधिलाई समेत विस्तार गर्न सकिन्छ।

    पर्यटकको चाप बढ्दै जाँदा नदी किनारको सरसफाइ र प्राकृतिक वातावरण संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ। स्थानीयस्तरमा हुने अनियन्त्रित फोहोर व्यवस्थापनले पितमारीको प्राकृतिक सुन्दरता नै जोखिममा पार्न सक्छ।

    पितमारीमा पर्यटकको आगमन बढिरहेको छ। स्थानीयले आफ्नै प्रयासमा पर्यटकलाई आवश्यक पर्ने आधारभूत सुविधा जुटाउने प्रयास गरिरहेका छन्। पसल व्यवसाय सञ्चालन गरेर स्थानीयले आम्दानीसमेत गर्न थालेका छन्। तर यस क्षेत्रको वास्तविक पर्यटकीय सम्भावना उजागर गर्न सरकारी निकायको योजनाबद्ध लगानी र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक देखिन्छ।

    कर्णालीको शीतल पानी, चट्टानयुक्त किनार र हरियालीले सजिएको पितमारीमा पर्यटकको मन रमाइरहेको छ। अब त्यहाँ पुग्ने पर्यटकलाई सहजता, सुरक्षा र व्यवस्थित सेवा दिन सक्ने पूर्वाधार निर्माण गर्नु आवश्यक छ।

    प्रकृतिले दिएको सुन्दर उपहारलाई व्यवस्थित पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्न सके पितमारी मोहन्याल गाउँपालिकाको मात्र नभई सुदूरपश्चिमकै आकर्षक पर्यटकीय पहिचान बन्न सक्छ। अहिले पितमारीमा सुनिने गीतसङ्गीत र पर्यटकको रमाइलो आवाजसँगै विकासका लागि स्थानीयले गरिरहेको प्रयास मात्रै पर्याप्त छैन। सरकारी र सामुदायिकस्तरमा पितमारीको पर्यटकीय सम्भावनामा लगानी गर्न सके पितमारीसँगै धेरै जना स्थानीयको पनि अवस्था परिवर्नत हुने देखिन्छ।