काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयतालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबै राजनीतिक दलसँग छलफल तथा सहकार्य गर्ने तयारी गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले संघीयताको मर्मअनुसार तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउन राष्ट्रियस्तरमा बहस र साझा समझदारी आवश्यक रहेको बताएका हुन् ।
पार्टी नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सुरु गरेको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै लामिछानेले संघीयता कुनै एक राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएको उल्लेख गरे ।
प्रदेश संरचनालाई थप व्यवस्थित बनाउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उनले जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थानीय तहबाट हुने सेवा प्रवाह प्रभावकारी हुनुपर्ने बताए । कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकार सम्पन्न बनाउने रास्वपाको प्रतिबद्धता रहेको उनको भनाइ थियो ।
लामिछानेले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने पनि बताए । मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्ने उनको जोड थियो ।
यसैबीच, सांसद सिंहले राष्ट्रिय एकता, सामाजिक सद्भाव र नागरिकका समस्या बुझ्ने उद्देश्यसहित मेची–महाकाली पदयात्रा सुरु गरेका छन् । यात्राका क्रममा हिमाल, पहाड र तराईका नागरिकसँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गरिने उनले बताए ।
सिंहका अनुसार पदयात्रामा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल यात्रा गरिनेछ । जानकी मन्दिरबाट सुरु भएको यात्राले विभिन्न क्षेत्रका नागरिकका समस्या, आवश्यकता र अपेक्षा बुझ्ने अवसर प्रदान गर्ने उनको विश्वास छ ।
उनले पदयात्रा भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई देशका विभिन्न भूभागका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउने प्रयाससमेत भएको बताए ।