काठमाडौं– बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेपछि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने क्रमलाई मंसिरमा पनि निरन्तरता दिएका छन् । नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको तुलनामा ०.१०७ प्रतिशत बिन्दुले घटेको छ ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.०१३ प्रतिशत रहेकामा मंसिरमा घटेर ३.९०६ प्रतिशत कायम भएको छ ।
मंसिरमा ६ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन् । सबैभन्दा बढी अधिकतम ब्याजदर दिनेमा सानिमा बैंक रहेको छ । बैंकले पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
पछिल्ला महिनाहरूमा पनि मुद्दती निक्षेपको ब्याजदर निरन्तर ओरालो लागेको देखिन्छ । व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर साउनमा ४.१६७५ प्रतिशत, भदौमा ४.१३६० प्रतिशत र असोजमा ४.०८९६ प्रतिशत रहेको थियो ।
बैंकहरूले छोटो अवधिको तुलनामा लामो अवधिको मुद्दती निक्षेपमा केही बढी ब्याजदर दिने गरेका छन् । सार्वजनिक गरिएको अधिकतम ब्याजदर पनि सामान्यतया लामो अवधिको निक्षेपका लागि लागू हुन्छ ।
यसअघि नै लामो अवधिका लागि मुद्दती खाता खोलेका निक्षेपकर्ताले भने सम्झौताअनुसारकै ब्याजदर पाउनेछन् । मंसिरमा नयाँ खाता खोल्ने तथा अवधि पूरा भएपछि नवीकरण गर्ने निक्षेपकर्ताका हकमा मात्रै नयाँ ब्याजदर लागू हुनेछ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा प्रवाहको वृद्धि सुस्त हुँदा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत कमी आउने र त्यसले कर्जाको ब्याजदर घटाउन दबाब सिर्जना गर्ने देखिन्छ । यसैबीच नेपाल राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ ।
व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?
| बैंक | कात्तिकको ब्याजदर | मंसिरको ब्याजदर |
| कृषि विकास | ४.१५ | ३.६५ |
| सिटिजन्स | ३.८५ | ३.८५ |
| एभरेस्ट | ३.७५ | ३.७५ |
| ग्लोबल आईएमई | ४.०० | ४.०० |
| हिमालयन | ४.०० | ४.०० |
| इन्भेस्टमेन्ट मेगा | ३.७० | ३.७० |
| कुमारी | ३.७० | ३.६१ |
| लक्ष्मी सनराइज | ४.०० | ३.७५ |
| माछापुच्छ्रे | ४.५० | ३.५० |
| नबिल | ३.७५ | ३.७५ |
| नेपाल | ४.१५ | ४.१५ |
| नेपाल एसबीआई | ४.०० | ४.०० |
| एनआईसी एसिया | ४.०० | ४.०० |
| एनएमबी | ४.५० | ४.२५ |
| प्राइम कमर्सियल | ४.०० | ४.०० |
| प्रभु | ४.२५ | ४.२५ |
| राष्ट्रिय वाणिज्य | ४.०० | ४.०० |
| सानिमा | ४.५० | ४.५० |
| सिद्धार्थ | ३.७६ | ३.७६ |
| स्ट्यान्डर्ड चार्टर्ड | ३.७० | ३.६५ |