काठमाडौँ– प्राकृतिक विपद्बाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना जारी गर्ने प्रणालीलाई प्रभावकारी पूर्वतयारी र तत्काल प्रतिकार्यसँग जोड्नुपर्नेमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन चापागाईंले जोड दिएका छन् ।
टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत ‘सबैका लागि पूर्वसूचना’ विषयक विशेष सत्रलाई सम्बोधन गर्दै उनले विपद्को जोखिमबारे जानकारी पाउनु मात्र पर्याप्त नहुने बताए । प्राप्त सूचनाका आधारमा नागरिकले समयमै सुरक्षित कदम चाल्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो ।
चापागाईंका अनुसार सन् २०२२ मा ‘सबैका लागि पूर्वसूचना’ अभियान सुरु भएयता विपद् पूर्वतयारीको नीतिगत संरचना बनाउने देशको सङ्ख्या ३५ बाट बढेर ७५ पुगेको छ । सन् २०२५ मा मात्रै यस्तो पूर्वतयारीका कारण ५४ देशका ९६ लाख नागरिकले विपद् आउनुअघि आफ्नो ज्यान र जीविकोपार्जन सुरक्षित गर्न सहयोग पाएका थिए ।
उनले पूर्वसूचनालाई समयमै पूर्वतयारीसँग जोड्नु मानवीय दायित्व मात्र नभई दूरदर्शी र बुद्धिमत्तापूर्ण निर्णयसमेत भएको उल्लेख गरे । विपद् आउनुअघि गरिने लगानीले नागरिकको जीवन, जीविकोपार्जन र आत्मसम्मान जोगाउनुका साथै विपद्पछिको ठूलो आर्थिक तथा मानवीय क्षति रोक्न सक्ने उनको भनाइ थियो ।
विश्वका झन्डै ४० प्रतिशत देशमा विपद् आउनुअघि तयारी थाल्न सकिने पूर्वसूचना प्रणालीको स्पष्ट संयन्त्र क्रियाशील रहेको उनले जानकारी दिए । पूर्वानुमानमा आधारित पूर्वतयारीलाई व्यापक रूपमा कार्यान्वयन गर्न सकिने प्रमाणसमेत बलियो बन्दै गएको उनले बताए ।
तर, पूर्वसूचना प्रणालीको पहुँच बढे पनि त्यसको प्रभावकारी उपयोगमा अझै चुनौती रहेको उनले औँल्याए । उनका अनुसार विपद् प्रभावित क्षेत्रका पाँच जनामध्ये चार जनाले पूर्वसूचना प्राप्त गरे पनि तीन जनामध्ये एक जनाले त्यसअनुसार सुरक्षित कदम चाल्न सकिरहेका छैनन् । सूचना प्राप्त गर्ने र त्यसलाई व्यवहारमा उतार्नेबीच रहेको यही अन्तर हटाउनु अहिलेको प्रमुख आवश्यकता भएको उनले बताए ।
मानवीय सहायता स्रोत सीमित हुँदै गइरहेको अवस्थामा विपद् आएपछि उद्धार र राहतमा मात्र निर्भर रहन नसकिने चापागाईंको भनाइ थियो । विपद् आउनुअघि नै आवश्यक कदम चालेर क्षति र उद्धारको आवश्यकता घटाउनुपर्ने उनले बताए ।
उनले ‘सबैका लागि पूर्वसूचना’ अभियानको सन् २०२७ लाई अन्तिम गन्तव्य नभई महत्त्वपूर्ण उपलब्धिको एउटा चरणका रूपमा लिनुपर्नेमा जोड दिए । त्यसपछि पनि राजनीतिक इच्छाशक्ति, दिगो आर्थिक स्रोत र प्रभावकारी कार्यान्वयनलाई निरन्तरता दिनु मुख्य चुनौती हुने उनको भनाइ थियो ।
चापागाईंले जलवायु तथा मौसमसम्बन्धी पूर्वानुमानमा सुधार भए पनि त्यसलाई समयमै ठोस कार्यमा रूपान्तरण गर्न नसक्नु मुख्य कमजोरी रहेको बताए । कुन विपद् आउँदैछ, कहाँ असर गर्छ र सबैभन्दा बढी जोखिममा को छन् भन्ने जानकारी उपलब्ध हुँदै गए पनि त्यसका आधारमा तत्काल कदम चाल्न नसकिए पूर्वसूचनाको उद्देश्य पूरा नहुने उनले उल्लेख गरे ।
उनका अनुसार पूर्वसूचना प्रणाली समुदायको अपनत्वमा आधारित हुनुपर्छ । स्थानीय बासिन्दा पूर्वसूचना प्रणालीका अन्तिम लाभग्राही मात्र नभई त्यसको सुरुआती आधारसमेत हुन् । जोखिमसँग प्रत्यक्ष जुधिरहेका स्थानीय समुदायलाई आफ्ना समस्या, प्राथमिकता र समाधानका उपायबारे सबैभन्दा बढी जानकारी हुने भएकाले उनीहरूको सहभागिता अनिवार्य रहेको उनले बताए ।
आधुनिक प्रविधिले स्थानीय अनुभव र ज्ञानलाई वैज्ञानिक पूर्वानुमान तथा जोखिम विश्लेषणसँग जोड्न सहयोग गरेको उल्लेख गर्दै उनले प्रविधि र मौसमको पूर्वानुमानले मात्रै मानिसको ज्यान बचाउन नसक्ने स्पष्ट पारे । त्यसका लागि बलियो राजनीतिक प्रतिबद्धता, पर्याप्त लगानी, साझेदारी र समयमै गरिने ठोस कार्य आवश्यक हुने उनको भनाइ थियो ।
चापागाईंले सरकारहरूले स्थानीय समुदाय, रेडक्रसजस्ता राष्ट्रिय संस्था, अन्तर्राष्ट्रिय निकाय तथा विकास साझेदारसँग सहकार्य गर्दै पूर्वसूचना प्रणालीको नेतृत्व लिनुपर्ने बताए । सूचना सबैसम्म पुर्याउनुका साथै प्रत्येक नागरिकलाई त्यसका आधारमा सुरक्षित कदम चाल्न सक्षम बनाउनु आगामी अभियानको मुख्य उद्देश्य हुनुपर्ने उनले उल्लेख गरे ।
उनले पूर्वसूचना अभियानको सफलता जारी गरिएका सूचनाको सङ्ख्याबाट नभई सम्भावित विपद्लाई ठूलो मानवीय संकट बन्नबाट कति रोक्न सकियो भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने धारणा राखे ।