सूर्य उपासनामा जुटे हजारौँ श्रद्धालु, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न - Chaitanya News
  • 2026-11-16
  • 14:47:24
  • सोमबार,मंसिर ०१, २०८३
  • सूर्य उपासनामा जुटे हजारौँ श्रद्धालु, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न

    सूर्य उपासनामा जुटे हजारौँ श्रद्धालु, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न

    हेटौँडा– चार दशकअघि हेटौँडाको राप्ती नदी किनारमा दुई–तीन परिवारले सुरु गरेको छठ पूजा अहिले हजारौँ परिवारको साझा धार्मिक तथा सांस्कृतिक उत्सव बनेको छ । समयसँगै विस्तार हुँदै गएको यो परम्पराले हेटौँडाको धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउँदै आएको छ ।

    यस वर्ष पनि राप्ती नदी तटमा हजारौँ श्रद्धालुको उपस्थितिमा छठ पर्व उल्लास र भक्तिभावका साथ सम्पन्न भएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिने छठ पर्व विधिवत् रूपमा समापन गरेका हुन् ।

    व्रतालुहरू बिहानैदेखि पूजाका सामग्रीसहित राप्ती नदी किनारमा भेला भएका थिए । बाँसका ढाकी र सुपलीमा उखु, केरा, नरिवल, अदुवा, कागतीलगायतका सामग्री सजाएर उनीहरूले उदाउँदो सूर्यको पहिलो किरणसँगै जल र प्रसाद अर्पण गरे । सूर्यदेव र छठी मैयासँग परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको कल्याण तथा आरोग्यको कामना गर्दै पूजा गरिएको थियो ।

    छठ पर्वको अन्तिम तथा महत्वपूर्ण विधिका रूपमा रहेको उषा अर्घ्य सम्पन्न गरेपछि व्रतालुहरूले पारण गरी व्रत समापन गरेका छन् ।

    राप्ती तटमा छठ मनाउने परम्परा सुरु भएको ४६ वर्ष पुगेको छ । विसं २०३७ मा सीमित परिवारबाट सुरु भएको पूजा अहिले हजारौँ परिवारको सहभागितामा हुने ठूलो धार्मिक उत्सवका रूपमा स्थापित भएको छ । सानो समूहबाट सुरु भएको यो परम्पराले पुस्तान्तरण हुँदै समुदायलाई एउटै धार्मिक तथा सांस्कृतिक सूत्रमा जोडेको छ ।

    छठ पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य अर्पण गर्नु हो । सूर्यलाई जीवन, ऊर्जा र प्रकृतिको आधार मान्दै गरिने यो पूजाले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको सन्देशसमेत दिने गरेको छ ।

    चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व नहाय–खायबाट सुरु हुन्छ । दोस्रो दिन खरना गरिन्छ । यस दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष प्रसाद ग्रहण गर्छन् । त्यसपछि सुरु हुने निर्जला व्रतमा पानीसमेत नपिई अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ ।

    छठका लागि ठेकुवा, भुसुवा तथा विभिन्न फलफूलका प्रसाद तयार गरिन्छ । प्रसाद बनाउँदा शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइन्छ । परिवार तथा आफन्तसँगै घाट पुगेर सामूहिक रूपमा पूजा गर्ने परम्पराले यस पर्वलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी पारिवारिक मिलन र सामाजिक सद्भावको अवसरसमेत बनाएको छ ।

    यस वर्ष राप्ती नदी तटमा छठ पर्वलाई व्यवस्थित बनाउन सात सय मिटर लामो पण्डाल निर्माण गरिएको थियो । बिहानैदेखि पूजास्थलमा व्रतालु, श्रद्धालु र दर्शकहरूको उल्लेख्य चहलपहल देखिएको थियो । आयोजकका अनुसार गत वर्ष पनि राप्ती तटमा ठूलो संख्यामा भक्तजन तथा दर्शक सहभागी भएका थिए ।

    पर्व व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो भने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले करिब सात लाख रुपैयाँ बराबरका साउन्ड सिस्टमका उपकरण उपलब्ध गराएको थियो । पूजा स्थलको सुरक्षा तथा भीड व्यवस्थापनका लागि दुई सयभन्दा बढी प्रहरी, स्काउट र स्वयंसेवक परिचालन गरिएको थियो ।

    व्रतालु कनकप्रभा चौधरीका अनुसार छठमा आफूले सकेअनुसारका मिष्ठान्न तथा प्रसाद सूर्यदेवलाई अर्पण गरी अर्घ्य दिने चलन छ । अर्की व्रतालु सकुन्तला साहले परिवारका सदस्यसहित सबैको सुख, शान्ति र कल्याणको कामना गर्दै व्रत बस्ने परम्परा रहेको बताइन् ।

    राप्ती नदी तटमा वर्षौंदेखि निरन्तर हुँदै आएको छठ पूजाले धार्मिक आस्थासँगै सामाजिक सम्बन्ध र सामुदायिक एकतालाई पनि मजबुत बनाएको छ । हरेक वर्ष बढ्दै गएको सहभागिताले यस पर्वप्रति स्थानीय समुदायको आकर्षण र अपनत्व झल्काउँछ ।

    दुई–तीन परिवारको सानो प्रयासबाट सुरु भएको राप्ती तटको छठ आज हजारौँ परिवारको साझा उत्सव बनेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको पूजा उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न हुँदा यस वर्षको छठले पनि हेटौँडामा धार्मिक आस्था, परम्परा र सामाजिक एकताको सन्देश छोडेको छ ।