ओलीदेखि पोखरेलसम्मले राष्ट्रिय भेलामा छुट्टाछुट्टै कार्यभार प्रस्तुत गर्ने - Chaitanya News
  • 2026-11-16
  • 15:51:58
  • सोमबार,मंसिर ०१, २०८३
  • ओलीदेखि पोखरेलसम्मले राष्ट्रिय भेलामा छुट्टाछुट्टै कार्यभार प्रस्तुत गर्ने

    ओलीदेखि पोखरेलसम्मले राष्ट्रिय भेलामा छुट्टाछुट्टै कार्यभार प्रस्तुत गर्ने

    काठमाडौं– नेकपा एमालेले पार्टीको राजनीतिक दिशा, सङ्गठनात्मक सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै आयोजना गर्न लागेको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

    सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले मंसिर २ र ३ गते हुने दुईदिने राष्ट्रिय भेलाका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको जानकारी दिए।

    माइतीघरमा आयोजना हुने भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। भेलामा अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्नुका साथै पार्टीका आगामी कार्ययोजना प्रस्तुत गर्नेछन्।

    भेलालाई एमालेले पार्टीको राजनीतिक दृष्टिकोण र आगामी कार्यदिशा स्पष्ट पार्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ। विशेषगरी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय भेलाको प्रमुख एजेन्डा रहनेछ।

    अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी राजनीतिक कार्यदिशा तथा दुई प्रमुख कार्यभार र १५ कामबारे मार्गदर्शन गर्नेछन्।

    त्यस्तै, वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ। उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा गर्नेछन्।

    महासचिव शंकर पोखरेलले भने पार्टी शुद्धीकरण, सङ्गठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनलाई लक्षित कार्ययोजना प्रस्तुत गर्नेछन्।

    एमालेका अनुसार राष्ट्रिय भेलाको अर्को महत्त्वपूर्ण उद्देश्य पार्टीभित्र राजनीतिक बुझाइ र निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्नु हो। आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित तयारीसँगै पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता मजबुत बनाउने लक्ष्य पनि भेलाले लिएको छ।

    भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका पार्टी कमिटीका पदाधिकारी, जनप्रतिनिधि तथा जनसङ्गठनका प्रतिनिधिसहित कुल ३ हजार ४१४ जनाको सहभागिता रहनेछ। सङ्घीय संसद्का सदस्यदेखि स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसम्मका प्रतिनिधि एकै ठाउँमा भेला हुने एमालेले जनाएको छ।

    पार्टीका अनुसार प्रतिनिधित्व र सहभागिताका दृष्टिले यो भेला एमालेको पार्टी जीवनमा विशेष महत्त्वको हुनेछ। सहभागी सङ्ख्याका आधारमा महाधिवेशनभन्दा पनि ठूलो रहेको दाबी गरिएको भेलामा पार्टीका विभिन्न तह र संरचनाको प्रतिनिधित्व रहनेछ।

    भेलामा सहभागी हुनेहरूले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्नेछ। कार्यक्रम स्थलको व्यवस्थापन तथा आन्तरिक सुरक्षालाई व्यवस्थित बनाउन विशेष तयारी गरिएको एमालेले जनाएको छ।

    भेलाको सुरक्षा व्यवस्थापनका लागि अवकाशप्राप्त सहायक रथी विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवक परिचालन गरिनेछ। उनीहरूलाई भेला स्थल तथा सहभागीहरूको सुरक्षा व्यवस्थापनको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।