काठमाडौं– न्यायपालिकामाथि उठेका प्रश्नहरूको छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले महाभियोग सिफारिस समिति गठन गरेर संसदीय प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । कानुन व्यवसायी पृष्ठभूमिका १४ जना सांसदले शुक्रबार सिंहदरबारमा छलफल गर्दै प्रश्न उठेका न्यायाधीशमाथि छानबिनका लागि संविधानले व्यवस्था गरेको महाभियोग प्रक्रियालाई नै उपयुक्त माध्यम बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् । उनीहरूले अन्य प्रकृतिको उच्चस्तरीय छानबिन समिति गठन गर्दा त्यसको संवैधानिक तथा कानुनी वैधतामाथि प्रश्न उठ्न सक्ने भन्दै महाभियोग सिफारिस समितिमार्फत अनुसन्धान अघि बढाउनुपर्ने राय दिएका छन् । ‘हामी सबै कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूको राय महाभियोग सिफारिस समिति भन्ने छ । किनभने अध्ययन गर्नुपर्छ, छानबिन गर्नुपर्छ । सर्वोच्च अदालतको न्यायाधीश भएपछि शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम पनि हेर्ने संसद्ले नै हो,’ छलफलमा सहभागी एक सांसदले बताए । ती सांसदका अनुसार संसद्ले छुट्टै उच्चस्तरीय छानबिन समिति गठन गर्नेभन्दा संविधानले चिनेको महाभियोग सिफारिस समितिबाटै प्रमाण संकलन र छानबिन गर्नु उपयुक्त हुन्छ । ‘अब संसद्ले उच्चस्तरीय छानबिन समिति भन्यो भने पनि त्यसको वैधानिकता हुँदैन । संविधानले चिनेको भनेको महाभियोग सिफारिस समिति हो,’ ती सांसदले भने, ‘प्रमाण संकलन गर्ने र निर्णय गर्ने सबै अधिकार महाभियोग सिफारिस समितिलाई संविधानले नै दिएको छ । पछि महाभियोग लगाउनु नपर्ने देखिए त्यसैले भन्छ । देखिए महाभियोग लाग्छ।’ इनम सापकोटाको मोबाइल तथा अन्य विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, विभिन्न न्यायाधीश र प्रहरीका उच्च अधिकारीसँगको संवाद तथा कारोबारका विवरण सार्वजनिक भएपछि न्याय क्षेत्रको विषयले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ । सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेट गरेको विषयसमेत सार्वजनिक भएको छ । यही विषयमा रास्वपाका सांसदहरू छलफलमा जुटेका थिए । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सांसद मधुकुमार चौलागाईंले पनि कानुन व्यवसायी पृष्ठभूमिका १४ जना सांसदले महाभियोग लगाउने वा नलगाउने र लगाउनुपर्ने अवस्था आए कसरी प्रक्रिया अघि बढाउने भन्नेबारे छलफल गरिरहेको बताएका थिए । संविधानको धारा १०१ को उपधारा २ ले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीविरुद्ध महाभियोगको व्यवस्था गरेको छ । संविधानअनुसार संविधान र कानुनको गम्भीर उल्लंघन, कार्यक्षमताको अभाव वा खराब आचरण, इमानदारीपूर्वक पदीय कर्तव्य पालना नगरेको तथा आचारसंहिताको गम्भीर उल्लंघन गरेको अवस्थामा महाभियोग प्रक्रिया अघि बढाउन सकिन्छ । प्रतिनिधिसभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले महाभियोग प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ । यस्तो प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भए सम्बन्धित व्यक्ति पदमुक्त हुने संवैधानिक प्रावधान छ । यस प्रक्रियाका लागि प्रतिनिधिसभामा महाभियोग सिफारिस समिति रहने व्यवस्था भए पनि २१ फागुन २०८२ बाट निर्वाचित प्रतिनिधिसभामा अहिलेसम्म उक्त समिति गठन भएको छैन । रास्वपाका कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूले यही समिति गठन गरेर प्रक्रिया अघि बढाउन नेतृत्वलाई सुझाव दिएका हुन् । उनीहरूको सुझावलाई पार्टी सचिवालयले समेत सकारात्मक रूपमा लिएको एक सांसदले बताएका छन् । शनिबार बसेको रास्वपा सचिवालय बैठकले न्याय क्षेत्रमाथि उठेका विषयको निरुपण गर्ने प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिएको थियो । पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रको पुनर्संरचना तथा त्यससँग सम्बन्धित विषयको निरुपणका लागि संवैधानिक बाटो संसद् नै भएको बताएका छन् । ‘यदि हामीले समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने अब यसका लागि संवैधानिक बाटो भनेको संसद् नै हो । संसद्मार्फत यसको प्रक्रिया अघि बढाइनुपर्छ,’ उनले भनेका छन् । यससँगै रास्वपाले न्याय क्षेत्रमाथि उठेका प्रश्नको निरुपणका लागि संसदीय प्रक्रियालाई अघि सार्ने संकेत गरेको छ ।


