अपी हिमालको आकर्षण बढ्दै, पर्यटनसँगै जलवायु संरक्षणको चुनौती - Chaitanya News
  • 2026-11-23
  • 09:06:34
  • सोमबार,मंसिर ०८, २०८३
  • अपी हिमालको आकर्षण बढ्दै, पर्यटनसँगै जलवायु संरक्षणको चुनौती

    अपी हिमालको आकर्षण बढ्दै, पर्यटनसँगै जलवायु संरक्षणको चुनौती

    काठमाडौँ– हिमालको काखमा फैलिएका हरिया पाटन, नीलो ताल, हिमनदीबाट बग्ने जलधारा र चारैतिर देखिने सेताम्मे हिमशृङ्खला। प्राकृतिक सुन्दरताले भरिएको दार्चुलाको अपी हिमाल क्षेत्र अहिले पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने क्रममा छ। तर, पर्यटनको सम्भावना बढ्दै गर्दा जलवायु परिवर्तनले यहाँको प्राकृतिक सम्पदा र स्थानीय जनजीवनमा नयाँ चुनौती थपिरहेको छ।

    सुदूरपश्चिमकै अग्लो चुचुरो अपी हिमाल समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा अवस्थित छ। करिब तीन हजार ९०० मिटर उचाइमा रहेको आधार शिविरबाट अपी, नाम्पा, कापुचुली र बबई हिमालको भव्य दृश्य अवलोकन गर्न सकिन्छ। विशाल पाटन, ताल, हिमनदी, दुर्लभ वनस्पति र जैविक विविधताले यस क्षेत्रलाई साहसिक तथा प्रकृतिमा आधारित पर्यटनका लागि आकर्षक बनाएको छ।

    अपी हिमाल पुग्न मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म जीप यात्रा गर्न सकिन्छ। त्यसपछि करिब दुई दिनको पदयात्रा गर्दै आधार शिविर पुग्नुपर्छ। कठिन उकालो, भिरालो बाटो र नदी किनार हुँदै गरिने यात्राले हिमाली भूगोलको फरक अनुभव दिलाउँछ । लामो पदयात्रापछि देखिने हिमाल र पाटनको दृश्यले यात्राको थकान बिर्साउने पर्यटकीय सम्भावना बोकेको छ।

    कालीढुंगा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र फराकिला पाटन यस क्षेत्रका प्रमुख आकर्षण हुन् । प्राकृतिक सम्पदासँगै धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थलले पनि अपी हिमालको पर्यटनलाई विविधता दिएका छन्।

    गर्मीयाममा रंगीचंगी फूलले ढाकिने पाटन यहाँको सुन्दरता मात्र होइन, स्थानीय अर्थतन्त्रको आधारसमेत हो। यार्सागुम्बा, पाँचऔँले, पदमचाल, हत्वाजडी, बायुजडी र जटामसीजस्ता बहुमूल्य जडीबुटी यहाँ पाइन्छन्। भेडा, च्याङ्ग्रा र चौँरीपालनका लागि समेत यो क्षेत्र महत्त्वपूर्ण चरनभूमिका रूपमा परिचित छ।

    पर्यटनबाट स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्य:

    अपी हिमाल गाउँपालिकाले प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने योजना अघि सारेको छ। गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार पर्यटकीय गतिविधि विस्तार गर्न स्थानीय जनशक्तिलाई विभिन्न तालिम प्रदान गरिएको छ।

    सामुदायिक घरबास (होमस्टे), स्थानीय यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खाद्य सेवामा स्थानीयको सहभागिता बढाउने गाउँपालिकाको योजना छ।

    “हामीले पालिकाका धेरै जनालाई पर्यटन अर्थतन्त्र विस्तारमा स्थानीयको भूमिकाबारे विभिन्न क्षेत्रका जनशक्तिलाई तालिम दिएर तयार पारिसकेका छौँ,” अध्यक्ष बोहराले भने।

    चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ। अहिलेको तयारीअनुसार अपेक्षित सङ्ख्यामा पर्यटक आउने विश्वास उनले व्यक्त गरे।

    उनका अनुसार अहिलेको मुख्य चुनौती सञ्चार नेटवर्क र इन्टरनेटको पहुँच हो। अन्य आवश्यक पूर्वाधार तयार भइसकेको उनको दाबी छ । पर्यटकलाई सहज सेवा उपलब्ध गराउन आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गरिने उनले बताए।

    पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्न मकरीगाडदेखि आधार शिविरसम्म विभिन्न स्थानमा होमस्टे सञ्चालन गरिएको छ। धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा पर्यटकका लागि आवास सुविधा उपलब्ध छ।

    मकरीगाडदेखि आधार शिविरसम्मको दूरी ३४ किलोमिटर छ। बाटोमा तीनदेखि पाँच किलोमिटरको अन्तरमा होमस्टे सञ्चालन गरिएकाले पदयात्रीलाई बास र खानपानमा सहजता भएको छ। आधार शिविर क्षेत्रमा दैनिक ७० जनालाई सेवा दिन सक्ने क्षमताका स्थायी होटल तथा ठूला टेन्टको व्यवस्था गरिएको छ।

    स्थानीय संस्कृति र मौलिक आतिथ्य यहाँको पर्यटनको अर्को विशेषता हो। पर्यटकलाई फूलमालाले स्वागत गर्ने, स्थानीय नाच प्रस्तुत गर्ने र मौलिक परिकार खुवाउने परम्पराले आगन्तुकलाई आकर्षित गरिरहेको छ।

    गैरा इको रिसोर्ट, घुसाका सञ्चालक महादेव धामी स्थानीय संस्कृति जोगाउँदै पर्यटकलाई गुणस्तरीय आतिथ्य प्रदान गर्न आफूहरू सक्रिय रहेको बताउँछन्। गाउँपालिकाबाट प्राप्त तालिमले पाहुनाको स्वागत, खानपान र आवास व्यवस्थापनमा सहजता थपेको उनको भनाइ छ।

    दोलखाको बिगु गाउँपालिकाकी उपाध्यक्ष देवकी थामीले पनि अपी हिमाल क्षेत्रको आतिथ्य सत्कारको प्रशंसा गरिन् । उनका अनुसार स्थानीयको आत्मीय व्यवहार, सांस्कृतिक प्रस्तुति र खानपानले पर्यटकलाई आकर्षित गर्ने आधार तयार गरेको छ । पर्यटनलाई संस्कृति संरक्षणसँग जोड्न सके स्थानीय मौलिकता नयाँ पुस्तासम्म पुर्‍याउन सकिने उनको विश्वास छ ।

    पर्यटनको सम्भावनासँगै जलवायु सङ्कट:

    प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बढ्दै गए पनि अपी हिमाल क्षेत्र जलवायु परिवर्तनको जोखिमबाट मुक्त छैन। हिउँ पग्लिने क्रम तीव्र हुनु, पानीका मुहान सुक्न थाल्नु र वर्षाको चक्रमा परिवर्तन आउनुले यहाँको प्राकृतिक प्रणाली तथा स्थानीय जीविकोपार्जन प्रभावित हुन थालेको छ।

    त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा वातावरणविद् डा. रमेशराज पन्तका अनुसार जलवायु परिवर्तनको असर अपी हिमालजस्ता उच्च हिमाली क्षेत्रमा देखिन थालेको छ। वर्षाको समय र स्वरूपमा परिवर्तन, अनियमित हिमपात तथा पानीका स्रोत सुक्ने समस्याले स्थानीय जीवनशैलीमा प्रभाव पारेको उनी बताउँछन्।

    यसको असर हिमालको हिउँमा मात्र सीमित छैन। कृषि, पशुपालन र जडीबुटी संकलनमा निर्भर स्थानीय परिवारको दैनिक जीवनसम्म पुगेको छ। भेडापालन, चौँरीपालन र खेतीपातीमा निर्भर समुदायका लागि बदलिँदो मौसम थप चुनौती बनेको डा. पन्तको भनाइ छ।

    जलवायु परिवर्तनको असर सबै समुदायमा समान नहुने उल्लेख गर्दै उनले न्यून आर्थिक क्षमता भएका परिवार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा रहेको बताए। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने हिमाली समुदायले नै यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिएको उनको विश्लेषण छ।

    चमेलिया जलाधार संरक्षणमा अन्तरपालिका सहकार्यको आवश्यकता:

    अपी हिमाल क्षेत्रको अर्को महत्त्वपूर्ण पक्ष चमेलिया जलाधार हो । करिब सात सयदेखि सात हजार १३२ मिटर उचाइसम्म फैलिएको यस जलाधारमा भौगोलिक तथा पारिस्थितिक विविधता पाइन्छ ।

    वातावरणविद् डा. पन्तका अनुसार उपलब्ध अध्ययनले यस क्षेत्रको औसत तापक्रम सातदेखि १८ डिग्री सेल्सियस, वार्षिक वर्षा करिब एक हजार ७०० मिलिमिटर र औसत जलप्रवाह १७७ घनमिटर प्रतिसेकेन्ड देखाएको छ । जलवायु परिवर्तनले माथिल्लो तथा तल्लो तटीय क्षेत्रको कृषि प्रणालीसहित विभिन्न क्षेत्रमा प्रभाव पारिरहेको उनले बताए ।

    चमेलियाका शाखा नदीमध्ये रिठेगाडलगायत क्षेत्रमा पानीको गुणस्तर घट्दै गएको अनुसन्धानले देखाएको छ । सन् २०२५ को एक अध्ययनले महाकाली नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र व्यवस्थापनका लागि चमेलिया जलाधारलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएको डा. पन्तले जानकारी दिए।

    जलाधार संरक्षणलाई कुनै एउटा स्थानीय तहको जिम्मेवारीमा सीमित गर्न नहुने उनको भनाइ छ। नदी, शाखा नदी, पानीका मुहान, वनजङ्गल, चरन क्षेत्र र जैविक विविधताको एकीकृत व्यवस्थापनका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मको सहकार्य आवश्यक रहेको उनले बताए।

    भूगर्भविद् कमल थापाका अनुसार सुक्दै गएका पानीका स्रोत पुनर्जीवन, भूजल पुनर्भरण, वर्षाको पानी संकलन र समुदायमा आधारित पानी सुरक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ।

    अपी नाम्पा संरक्षण क्षेत्र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको आश्रयस्थल पनि हो। रेडपान्डा, हिउँ चितुवा, कस्तुरी र डाँफेजस्ता प्रजाति यहाँ पाइन्छन् । जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग र मानवीय गतिविधिले यी सम्पदाको अस्तित्वमा चुनौती थपिरहेको भूगर्भविद् थापाको भनाइ छ।

    जलवायु न्यायका लागि अपी हिमाल घोषणापत्र:

    पर्यटन प्रवर्द्धनसँगै वातावरण संरक्षण र जलवायु न्यायको मुद्दालाई अघि बढाउन अपी हिमाल गाउँपालिकाले पर्यटन उत्सव तथा जलवायु संवाद आयोजना गरेको छ। आधार शिविर क्षेत्रमा आयोजित कार्यक्रममा अपी हिमाल घोषणापत्र–२०८३ जारी गरिएको थियो।

    चमेलिया नदी तटीय क्षेत्रका स्थानीय तहबीच सहकार्य सुदृढ गर्दै हिमाली प्रकृति, जलवायु न्याय र दिगो विकासका लागि साझा प्रतिबद्धता जनाउनु घोषणापत्रको मुख्य उद्देश्य रहेको छ।

    घोषणापत्रमा जैविक विविधता संरक्षण, पारिस्थितिकीय पुनर्स्थापना, प्राकृतिक स्रोतको दिगो उपयोग, स्थानीय ज्ञान र संस्कृतिको प्रवर्द्धन, जलवायु उत्थानशील जीविकोपार्जन, दिगो पर्यटन तथा अनुसन्धान र नवप्रवर्तनलगायत १७ विषय समेटिएका छन् ।

    त्यसैगरी महिला, युवा, किसान र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर हरित रोजगारी, जैविक खेती, जडीबुटी उद्यम तथा नवीकरणीय ऊर्जामा आधारित अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ।

    हिमाली पदमार्गलाई वातावरणमैत्री बनाउने, प्लास्टिक तथा ठोस फोहोर नियन्त्रण गर्ने, हिमनदी र ताल संरक्षण गर्ने तथा पानीका मुहान पुनर्जीवन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता घोषणापत्रमा व्यक्त गरिएको छ।

    खेल पर्यटनबाट अन्तर्राष्ट्रिय पहिचानको प्रयास:

    अपी हिमाललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा खेलकुदलाई पनि जोडिएको छ। गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता आयोजना गरेको छ।

    उच्च उचाइमा खेलकुद गतिविधि सञ्चालन गर्न सके स्थानीय खेलाडीको प्रतिभा उजागर हुनुका साथै खेल पर्यटनको सम्भावना विस्तार हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्ट बताउँछन्।

    प्राकृतिक सौन्दर्य, उच्च हिमाली वातावरण र स्थानीय संस्कृतिलाई पर्यटन तथा खेलकुदसँग जोड्न सके अपी हिमाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्न सक्ने उनको विश्वास छ।

    अपी हिमालको भविष्य केवल पर्यटकको सङ्ख्या बढाउनुसँग मात्र जोडिएको छैन। यहाँको हिमाल, जलस्रोत, जैविक विविधता, संस्कृति र स्थानीय जीवनशैली जोगाउन सक्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।

    पर्यटन विस्तारसँगै वातावरण संरक्षण, जलवायु अनुकूलन र स्थानीय समुदायको जीविकोपार्जनलाई प्राथमिकतामा राख्न सके अपी हिमाल दिगो पर्यटनको उदाहरण बन्न सक्छ। प्रकृतिले दिएको अनुपम सम्पदालाई जोगाउँदै विकासको बाटो अघि बढाउनु नै यस क्षेत्रको दीर्घकालीन समृद्धिको आधार बन्ने देखिन्छ।