चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 30 of 1150
  • 2026-11-20
  • 02:03:02
  • बिहिबार,मंसिर ०४, २०८३

About Author

जलवायु विपद् पूर्वतयारीमा नेपालको प्रस्तावलाई ५३ देशको समर्थन, क्षेत्रीय सहकार्यमा जोड

काठमाडौँ– जलवायुजन्य विपद्को पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, भू–उपग्रह सूचना र तथ्यांक आदानप्रदानमा क्षेत्रीय सहकार्य गर्ने नेपालको प्रस्तावलाई ५३ देशले समर्थन गरेका छन्। नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबाट प्राप्त पाठलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै एसिया–प्रशान्त क्षेत्रमा एकीकृत पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनमा सहकार्य बढाउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका अवसरमा बिहीबार थाइल्याण्डको राजधानी बैंककमा आयोजित उच्चस्तरीय क्षेत्रीय संवादमा नेपालले जलवायु संकटका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जोखिमबारे जानकारी गराएको हो। नेपाल र यूएन ईएससीएपीको संयुक्त आयोजनामा बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली विपत्तिले सिकाएका पाठहरू’ विषयक संवादमा विभिन्न देशका मन्त्री, कूटनीतिज्ञ, वैज्ञानिक तथा विपद् व्यवस्थापन विज्ञ सहभागी थिए। कार्यक्रममा गत भदौमा नेपालको उच्च हिमाली क्षेत्रमा गएको विशाल हिमपहिरोपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा भएका शृङ्खलाबद्ध विपत्तिले पुर्‍याएको क्षतिबारे जानकारी गराइएको थियो। ती घटनाबाट जलविद्युत् आयोजना, सडक पूर्वाधार, सीमावर्ती संरचना र स्थानीय समुदायको जीविकोपार्जनमा ठूलो असर परेको उल्लेख गरिएको थियो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जोखिमले कुनै एक देशलाई मात्र प्रभावित नगर्ने र नदीको बहावसँगै तल्लो तटीय क्षेत्र तथा सीमापार समुदायसम्म असर पुर्‍याउन सक्ने विषयमा पनि छलफल भएको थियो। यस्तो जोखिम न्यूनीकरण गर्न क्षेत्रीय सहकार्य, वैज्ञानिक अध्ययन र समयमै सूचना आदानप्रदान आवश्यक रहेको नेपालले औँल्याएको छ। उद्घाटन सत्रमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली विपत्ति नेपालका लागि मात्र नभई सम्पूर्ण एसिया–प्रशान्त क्षेत्रका लागि चेतावनी भएको बताए। हिमाली क्षेत्रमा उत्पन्न हुने जोखिमको प्रभाव सीमाभन्दा बाहिरसम्म फैलिन सक्ने भएकाले अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। मन्त्री श्रेष्ठले जलवायुजन्य विपद्को पूर्वतयारीका लागि भू–उपग्रह तथा डिजिटल प्रविधिको प्रयोग, जोखिमसम्बन्धी तथ्यांकको आदानप्रदान र आवश्यक वित्तीय स्रोतको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले जलवायु विपद् सामना गर्न अन्तरिक्ष प्रविधि र भू–उपग्रहबाट प्राप्त सूचना क्षेत्रीय रूपमा उपयोग गर्ने नेपालको प्रस्ताव पनि अघि सारेका थिए। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र यूएन ईएससीएपीका कार्यकारी सचिव अमिदा सल्सीया अलिस्याहबानाले हिमालदेखि समुद्रसम्म फैलिएको पारिस्थितिकीय प्रणालीको संरक्षणका लागि क्षेत्रीय तथ्यांक आदानप्रदान र एकीकृत पूर्वसूचना प्रणालीको महत्त्व औँल्याए। संवादमा विपद् उत्थानशीलता सुदृढ गर्न तीन प्रमुख विषयमा छलफल गरिएको थियो। पहिलो, जलवायु, हिममण्डल र भौगर्भिक परिवर्तनका कारण उत्पन्न हुने अन्तरसम्बन्धित जोखिमको सूक्ष्म अध्ययन गर्ने; दोस्रो, संकटका बेला छिमेकी देशहरूबीच आपत्कालीन तथ्यांक, जलवैज्ञानिक मापन तथा जोखिमसम्बन्धी सूचना तत्काल आदानप्रदान गर्ने; र तेस्रो, अन्तरिक्ष प्रविधि, भू–उपग्रह नक्सांकन, कृत्रिम बौद्धिकता (एआई) तथा युवाकेन्द्रित प्रविधिको प्रयोगबाट पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने। कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय योजना आयोगका सदस्य सञ्जय आचार्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेती र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठले कार्यपत्र तथा विश्लेषणात्मक प्रस्तुति दिएका थिए। संवादमा थाइल्याण्ड, भुटान, फिजी, सामोआ, श्रीलंका र किर्गिजस्तानका मन्त्रीहरूका साथै चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी), भारतको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो), विश्व मौसम विज्ञान संगठन, इसिमोड र एसियाली विकास बैंकलगायतका निकायका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले हिमाली क्षेत्रको उत्थानशीलता बढाउन साझा क्षेत्रीय कार्ययोजना तयार गर्नुपर्नेमा जोड दिएका थिए। नेपालले आयोजना गरेको उक्त संवादबाट विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य विस्तार हुनुका साथै नेपालको पुनर्निर्माण र पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, एसिया–प्रशान्त क्षेत्रका अन्य देशका लागि नीतिगत मार्गदर्शन र साझा रणनीति तयार गर्न पनि यसले आधार प्रदान गर्ने नेपालको विश्वास छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसको सीमापार प्रभावलाई ध्यानमा राख्दै नेपालले अन्तरिक्ष प्रविधिमा आधारित क्षेत्रीय सहकार्यलाई विपद् पूर्वतयारीको महत्त्वपूर्ण माध्यमका रूपमा अघि सारेको छ। ५३ देशको समर्थनले यस्तो सहकार्य विस्तार गर्ने नेपालको प्रयासलाई थप बल पुगेको छ।

News by जलवायु विपद् पूर्वतयारीमा नेपालको प्रस्तावलाई ५३ देशको समर्थन, क्षेत्रीय सहकार्यमा जोड :