चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-25
  • 14:57:21
  • बुधबार,मंसिर १०, २०८३

About Author

हिमताल विस्फोटको खतरा बढ्दै, चार तालको पानी घटाउन सरकारको ७ अर्बको योजना

काठमाडौँ — हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र बन्दै जाँदा नेपालका हिमताल विस्फोटको जोखिम पनि बढ्दै गएको छ। हिमनदी पग्लिने क्रम तीव्र भएपछि अस्थिर बन्दै गएका हिमतालले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीवनमा ठूलो क्षति पुर्‍याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले करिब ७ अर्ब रुपैयाँ लागतको ‘सञ्जीवनी’ परियोजना अघि बढाउने भएको छ। परियोजनाअन्तर्गत उच्च जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउनुका साथै निगरानी र पूर्वसूचना प्रणाली विकास गरिनेछ। सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो वरुण तथा मनाङको ठुलागी हिमताललाई प्राथमिकतामा राखिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालका अनुसार होङ्गु–२ हिमतालको पानीको सतह एक मिटर र अन्य तीन हिमतालको तीन–तीन मिटर घटाउने प्रारम्भिक योजना छ। हिमतालको पानीको सतह घटाउने कामसँगै सम्भावित जोखिमको निरन्तर निगरानी, पूर्वसूचना प्रणालीको विस्तार र जोखिममा रहेका समुदायको संरक्षणका कार्यक्रमसमेत सञ्चालन गरिनेछन्। उनका अनुसार हिमालय क्षेत्रको क्रायोस्फियर अर्थात् हिउँ, हिमनदी र हिमतालको प्रणाली तीव्र गतिमा परिवर्तन भइरहेको छ। यसले हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–ग्लोफ) तथा हिउँपहिरोको जोखिम बढाइरहेको छ। हिन्दुकुश हिमालय क्षेत्रमा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको विभिन्न अध्ययनले देखाएको बरालले बताए। मनाङको ठुलागी हिमनदी मात्रै प्रतिवर्ष करिब ३० मिटर पछाडि हटिरहेको छ। उनका अनुसार सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक छ। पछिल्ला छ दशकमा नेपाल तथा आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन्। तीमध्ये नेपालमा करिब १५, तिब्बतमा ११ तथा अन्य क्षेत्रमा समेत यस्ता घटना भएका छन्। हिमताल विस्फोटको सम्भावित क्षति कति भयावह हुन सक्छ भन्ने उदाहरण सन् २०१६ को भोटेकोशी हिमताल विस्फोटलाई लिन सकिने बरालको भनाइ छ। करिब ०.०१७ वर्ग किलोमिटर क्षेत्रफलको हिमताल विस्फोट हुँदा मात्रै करिब ११२ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उनले उल्लेख गरे। सन् २०२० मा यूएनडीपी र इसिमोडले गरेको अध्ययनले नेपालमा क्षति पुर्‍याउन सक्ने ४७ वटा उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको थियो। तीमध्ये २१ वटा नेपालमा, २५ वटा चीनको तिब्बतमा र एउटा भारतमा रहेका छन्। पहिचान गरिएका जोखिमयुक्त हिमतालमध्ये ४२ वटा कोशी बेसिनमा केन्द्रित छन् भने नौवटा दूधकोशी बेसिनमा रहेका छन्। यस्तो अवस्थामा चारवटा हिमतालको जोखिम न्यूनीकरण गरेर मात्रै समग्र समस्या समाधान नहुने भए पनि तत्कालीन जोखिमलाई सम्बोधन गर्न परियोजना महत्त्वपूर्ण हुने अधिकारीहरूको भनाइ छ। ७ वर्ष परियोजना, थप ७ वर्ष सरकारले मर्मत गर्ने: ‘सञ्जीवनी’ परियोजनाका लागि ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान प्राप्त भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहवित्तीय योगदान १३.७८ मिलियन अमेरिकी डलर रहनेछ। यसरी परियोजनाको कुल लागत करिब ५० मिलियन अमेरिकी डलर अर्थात् झन्डै ७ अर्ब रुपैयाँ पुगेको छ। परियोजनाको कार्यान्वयन अवधि सात वर्ष तोकिएको छ। हिमाली क्षेत्रमा काम गर्न अनुकूल मौसम सीमित हुने, कठिन भौगोलिक अवस्था र प्राविधिक चुनौती रहने भएकाले लामो अवधि निर्धारण गरिएको बरालले बताए। परियोजनाबाट करिब २४ लाख मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। सात वर्षे परियोजना सम्पन्न भएपछि थप सात वर्षसम्म यसको सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारले लिनेछ। बरालले विगतमा छोरोल्पा र इम्जा हिमतालको जोखिम न्यूनीकरणका काम लामो अन्तरालमा गरिएको उल्लेख गर्दै अब त्यही गति दोहोर्‍याउन नहुने बताए। उनका अनुसार हिमतालको जोखिम बढिरहेको अवस्थामा दशकौँको अन्तरालमा एउटा–एउटा ताल व्यवस्थापन गर्ने शैली प्रभावकारी हुन सक्दैन। प्रदेश र स्थानीय सरकारलाई पनि सहभागी गराउनुपर्ने माग: परियोजना कार्यान्वयनमा संघीय सरकारको मात्रै भूमिका पर्याप्त नहुने भन्दै कोशी प्रदेश सरकारले प्रदेश र स्थानीय तहलाई समेत निर्णय प्रक्रियामा सहभागी गराउन माग गरेको छ। कोशी प्रदेश सरकारका सचिव इन्द्रप्रसाद सापकोटाले कोशी बेसिनलाई प्राथमिकतामा राखिएकोमा खुसी व्यक्त गर्दै विपद् व्यवस्थापन, उद्धार तथा प्रभावित समुदायसँगको समन्वयमा प्रदेश र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले प्रदेश सरकारले पहिचान गरेका जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा हिमताल विस्फोटसम्बन्धी १० वटा प्राथमिकताका कार्यक्रमलाई पनि परियोजनामा समेट्न आग्रह गरे। उनका अनुसार विपद्को जोखिमसँग प्रत्यक्ष जोडिएका स्थानीय समुदायसम्म पुग्न नजिकको सरकारलाई जिम्मेवारी र स्रोतसाधन उपलब्ध गराउन आवश्यक छ। परियोजनाको बजेट स्थानीय तहसम्म पुर्‍याएर प्रभावकारी रूपमा खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उनको जोड छ। खरिद प्रक्रियासँग सम्बन्धित नीतिगत अवरोधका कारण कतिपय अवस्थामा बजेट खर्च गर्न समस्या हुने गरेको उल्लेख गर्दै उनले त्यसको समाधान गर्न पनि आग्रह गरे। चार हिमताल व्यवस्थापनमै दशक लागे बाँकीको के होला? जल तथा ऊर्जा आयोगका सचिव नवीनराज सिंहले हिमताल जोखिम न्यूनीकरणको वर्तमान गति पर्याप्त नभएको भन्दै कामलाई तीव्रता दिनुपर्ने बताए। उनका अनुसार अहिले चारवटा हिमताल व्यवस्थापन गर्न सातदेखि १० वर्ष लाग्ने हो भने बाँकी जोखिमयुक्त हिमताल व्यवस्थापन गर्न थप तीन–चार दशक लाग्न सक्छ। उनले भने, ‘चारवटा हिमताल व्यवस्थापन गर्न अहिले सातदेखि १० वर्षको समय लाग्ने हो भने बाँकी १५ वटा व्यवस्थापन गर्न कम्तीमा ३०–४० वर्ष लाग्न सक्छ। त्यसैले सबै विकास साझेदार मिलेर आगामी सातदेखि १० वर्षभित्र जोखिमयुक्त हिमताल व्यवस्थापनको काम सम्पन्न गर्ने गरी अघि बढ्नुपर्छ।’ सिंहले जलवायुजन्य विपद् व्यवस्थापनमा जलविद्युत् आयोजना विकासकर्तालाई समेत सहभागी गराउनुपर्ने बताए। नदी कोरिडोरमा रहेका जलविद्युत् आयोजनासँग निगरानी केन्द्र, सञ्चार प्रणाली तथा प्रभावित समुदायसम्बन्धी तथ्यांक उपलब्ध हुने भएकाले ती संरचनालाई पूर्वसूचना प्रणालीमा उपयोग गर्न सकिने उनको भनाइ छ। त्यस्तै, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई जलस्रोत, विपद् व्यवस्थापन र जलवायु उत्थानशीलतासम्बन्धी उत्कृष्टता केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता उनले औँल्याए। चार तालमा सीमित नराख्न अन्तर्राष्ट्रिय साझेदारको सुझाव: ग्रीन क्लाइमेट फन्ड सचिवालयका प्रतिनिधि डा. वाफोन फकरुद्दिनले ‘सञ्जीवनी’ परियोजना चारवटा हिमतालको जोखिम न्यूनीकरणमा मात्रै सीमित हुन नहुने बताए। नेपालमा पहिचान भएका अन्य उच्च जोखिमयुक्त हिमताल र हिमनदी क्षेत्रमा पनि लगानी विस्तार गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि वैज्ञानिक अध्ययन, प्रमाणमा आधारित योजना र थप अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालन गर्नुपर्ने उनले बताए। उनले हाल परियोजनाले समेटेका चारवटा क्षेत्रबाहेक अन्य १७ वटा जोखिमयुक्त क्षेत्रमा समेत सहयोग विस्तार गर्ने आधार तयार गर्नुपर्नेमा जोड दिए। विकास वित्तीय संस्था र अन्य दातृ निकायलाई आकर्षित गर्ने गरी परियोजनाले उत्प्रेरकको भूमिका खेल्नुपर्ने उनको सुझाव छ। फकरुद्दिनले जलवायु वित्त परिचालनका लागि राष्ट्रिय स्तरमा प्रभावकारी समन्वय प्रणाली आवश्यक रहेको पनि बताए। सरकारी बजेट, अन्तर्राष्ट्रिय सहयोग र स्थानीय समुदायसम्म पुग्ने वित्तीय स्रोतबीच समन्वय हुनुपर्ने उनको भनाइ छ। हिन्दुकुश हिमालय क्षेत्रमा नेपालसँगै छिमेकी मुलुक पनि समान प्रकृतिका जलवायु जोखिममा रहेकाले सीमापार सहकार्य र अनुभव आदानप्रदानलाई समेत प्राथमिकता दिनुपर्ने उनले बताए। परियोजनाबाट प्राप्त अनुभव मध्य एसिया, ल्याटिन अमेरिका र अन्य हिमनदीजन्य जोखिम भएका क्षेत्रमा पनि उपयोग गर्न सकिने उनको भनाइ छ। परियोजनाको पहिलो किस्ताको रकम यूएनडीपीमा निकासा भइसकेको जानकारी दिँदै उनले यसको कार्यान्वयन तत्काल अघि बढाउनुपर्नेमा जोड दिए। जलवायु परिवर्तनका कारण हिमताल विस्फोटको जोखिम मात्रै नभई कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य र जलस्रोतमा समेत असर देखिन थालेको अधिकारीहरूको निष्कर्ष छ। तराईमा खडेरी र बाढी, हिमाली क्षेत्रमा हिउँपहिरो तथा हिमतालजन्य विपद् र प्रतिकूल मौसमले पर्यटन गतिविधिमा समेत असर पुर्‍याइरहेको छ। कमजोर भूगर्भीय संरचना, भूकम्पीय गतिविधि, नदी कोरिडोरमा बढ्दो आर्थिक गतिविधि र जोखिमसम्बन्धी सूचनाको अभावले नेपालमा विपद्को सम्भावित क्षति थप बढाउन सक्ने देखिन्छ। यस्तो अवस्थामा चार हिमतालको सतह घटाउने सरकारी योजनासँगै बाँकी जोखिमयुक्त क्षेत्रको व्यवस्थापन, पूर्वसूचना प्रणालीको प्रभावकारिता र स्थानीय तहसम्मको तयारीले परियोजनाको वास्तविक सफलता निर्धारण गर्नेछ।

News by हिमताल विस्फोटको खतरा बढ्दै, चार तालको पानी घटाउन सरकारको ७ अर्बको योजना :