काठमाडौँ– बडादसैँ मनाउन राजधानी छाड्ने यात्रुको सङ्ख्या बढ्दै गएको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँमा बस्दै आएका मानिसहरू परिवारसँग चाडपर्व मनाउन गाउँ फर्किन थालेपछि नयाँ बसपार्कमा यात्रुको चाप उच्च भएको हो। नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। दसैँका लागि घर जाने यात्रुको सङ्ख्या बढेसँगै बसपार्कमा यात्रु व्यवस्थापन र सवारी सञ्चालनमा समेत चुनौती थपिएको छ। नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनको अवधिमा मात्रै नयाँ बसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन्। उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु काठमाडौँबाट बाहिरिएका हुन्। तथ्याङ्कअनुसार असोज २३ गते सबैभन्दा धेरै ३१ हजार २३५ यात्रुले नयाँ बसपार्कबाट यात्रा गरेका छन्। त्यसपछि असोज २५ गते २९ हजार ३८० र असोज २० गते २९ हजार ६०२ यात्रु बाहिरिएका थिए। यसले दसैँ नजिकिँदै गर्दा राजधानीबाट बाहिरिने यात्रुको चाप उल्लेख्य रहेको देखाउँछ। यात्रुको चाप बढिरहेका बेला सडक अवरोधले यातायात व्यवस्थापनलाई थप जटिल बनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यात्रु व्यवस्थापनमा समस्या भइरहेको बताए। उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए। त्यसले यात्रुलाई गन्तव्यसम्म पुर्याउने व्यवस्थामा कठिनाइ उत्पन्न गरेको थियो। दसैँमा घर फर्किने यात्रुको चापलाई ध्यानमा राख्दै महासंघले यात्रुहरूलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, सरकारले तोकेको भाडादरअनुसार रकम तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ। दसैँ नेपाली समाजमा परिवार, आफन्त र समुदायसँग पुनर्मिलन हुने प्रमुख चाड हो। यही कारण अध्ययन, रोजगारी र व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू हरेक वर्ष दसैँका बेला आफ्नो जन्मथलो फर्किने गर्छन्। यस वर्ष पनि नयाँ बसपार्कबाट बाहिरिने यात्रुको सङ्ख्याले राजधानी छाडेर गाउँ फर्किने क्रम तीव्र बनेको देखाएको छ।


