विषय प्रवेश विश्वका सबै सरकारहरू समृद्धि सुशासनका दवावमा छन्। जवाफदेही सरकारहरू कसरी जनतालाई सुख, सुविधा र शान्ति दिने भनी चिन्तामा छन्। सर्वसाधारणहरूका चाहना पूरा नहुँदा राज्य प्रक्रियासंग सन्तुष्ट छैनन्। एकातर्फ जनताका आवश्यकता र आकाङ्क्षा दिन प्रतिदिन बढ्गै गएका छन्, तर त्यसको सापेक्ष्यमा शासककीय क्षमता बढ्न सकेको छैन। सर्वसाधारण उही सेवा पनि नयाँ स्वादमा लिन चाहिरहेका छन्, तर सोअनुरुप राज्य संयन्त्रको क्षमता विकास हुनसकेको छैन। जनताको चेतनाको स्तर, उदार लोकतन्त्रको अभ्यास, विश्वव्यापीकरण र सूचना प्रविधिको व्यापक विस्तारले जवाफदेही सरकारको माग बढेको छ। शास्त्रीय शासन पद्धति र नवीन चाहनाबीचको असन्तुलनले राज्यप्रक्रियामा नवप्रत्र्तनको माग भएको छ। त्यो कसरी? तर प्रन अनुत्तरित रहँदै आएको छ। किनकी जनता हरेक प्रश्नको कार्यात्मक उत्तर चाहिरहेका छन्। त्यो उत्तर समृद्धि र सुशासनमा देखिनुपर्दछ, न कि शव्द र अभिव्यक्तिमा। समृद्धिका धेरै अर्थ र आयामहरू छन्। समृद्धिको परम्परागत अर्थ ‘सफल हुनु’ हो। त्यो सफलतालाई भौतिक र आर्थिक आयामबाट बोध गरिन्थ्यो। आधुनिक अर्थमा ‘स्वास्थ्य, सम्पत्ति र खुसी’ (Wealth, health and happiness) को समष्टि समृद्धि हो। मानिसका सफलता प्रत्यक्ष र अनुभूति, दृश्य र अदृश्य आयामबाट हेरिन गरिन्छ। यसर्थ समृद्धि भनेको मानिसका आवश्यकता र अकाङ्क्षा पूरा हुनु हो। आवश्यकता र आकाङ्क्षाको दायरा गतिशील रुपमा फराकिलो हुने गर्दछ। समृद्धि अग्रेजी शव्द प्रोस्पोरिटी (Prosperity) ‘Pro’ र ‘Spers’ बाट बनेको छ। जसको अर्थ हुन्छ आशा र आकाङ्क्षा। यसर्थ मानिसमा आशा र अकाङ्क्षा रहनु वा जीवनका आशा र अपेक्षा पूरा हुनु समृद्धि हो। बृद्धिबाट समृद्धि शुरु हुन्छ। त्यसैले समृद्धिका लागि बृद्धिको आधार के हो र बृद्धिलाई केबाट प्रोत्साहन गर्न सकिन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ। जोशेफ सुम्पिटरले बृद्धिका लागि रचनात्मक ध्वंश (विनिर्माण) चाहिन्छ भनेका छन् ता कि उत्पादनका प्रक्रियालाई बदल्न, निरन्तर विस्तार गर्न सकियोस्। उनका अर्थमा शास्त्रीय पद्धतिलाई प्रवत्र्तनले विस्थापन गर्नुपर्दछ भन्ने हो। अर्थशास्त्री र विकासविदहरूका मतमा समृद्धिको सबैभन्दा महत्वपूर्ण पक्ष राष्ट्रिय सम्पत्ति/पूँजी निर्माण गर्नु हो। माइकल इ पोर्टरका अनुसार पूँजीले नै लगानी, उत्पादन, व्यापार, रोजगारी र मूल्य शृङ्खलालाई चलायमान बनाई समृद्धिको मार्ग गतिशील बनाउँछ, प्रतिस्पर्धात्मक लाभले समृद्धिलाई ऊर्जा दिन्छ। समृद्धिको शास्त्रीय ढाँचामा प्राकृतिक स्रोतमाथि जोड दिइन्थ्यो भने आधुनिक अवधारणले पूँजी, प्रविधि, मानव संसाधनमाथि जोड दिइन्छ। प्राकृतिक स्रोतको न्यून उपलव्ध भएका मुलुकहरू पनि विकास र समृद्धिको शिखर चुमेका छन्। पूँजी, प्रविधि र मानव साधनले नै प्राकृतिक स्रोत सम्पदाको उपयोग/सम्वर्द्धन गर्दछ। त्यसैले चलायमान कारकका रुपमा पूँजी, प्रविधि र मानव साधन रहने गर्दछ। गरिबी र बञ्चिती विकास तथा समृद्धिको बाधक हुन्। अफ्रिका तथा एशियाका मुलुकहरूमा रहेको गरिबीले समृद्धिको मार्गलाई अवरुद्ध गरिरहेको छ। सामाजिक भेदभाव, आधारभूत आवश्यकताबाट बञ्चिती, अवसरमाथिको कमजोर पहूँच, शिक्षा तथा स्वास्थ्य सेवामा रहने कमजोर सामथ्र्य गरिबीका कारण हुन्। गरिबीका धेरै स्वरुप भएपनि आर्थिक स्वरुप सबैभन्दा असरदार यस अर्थमा छ कि आर्थिक कारणले नै व्यक्ति शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाको सामथ्र्यबाट पर पुग्छ, मानव पूजी विकास गर्न सक्दैन र आफ्ना सपनाहरू साँघुरा बनाउँछ। एशियन ड्रामाका लेखक गुनार मिर्डाल यसलाई गरिबीको दुस्चक्र भन्न पुग्छन्। यो दुस्चक्र तोड्न आक्रामक नीति हस्तक्षेप नै चाहिन्छ। अर्थशास्त्री अमत्र्यसेन भने मानव सामथ्र्य नै गरिबीको कारण हो भन्दै मानव सामथ्र्य विकास भए गरिबी हट्ने मान्यतामा छन्। यस शताव्दीका राजनेता नेल्सन मण्डेलाका अनुसार जातीभेद रङ्गभेदजस्तै गरिबी मानव व्यवहारको परिणाम हो, त्यसैले मानवीय प्रयत्नबाटै गरिबी घटाउन र हटाउन सकिन्छ। गरिबी हटाउने आधार भनेको सीप तथा क्षमता विकासमार्फत रोजगारी सिर्जना हो। आधुनिक विश्वमा सवै प्रकारको अवसर पाउने आधार आर्थिक सामथ्र्य भएकोले पहिला गरिबी निवारण, त्यसपछि समृद्धिको यात्रा भन्ने गरिन्छ। राष्ट्रिय विकास प्राथमिकता र अन्तराष्ट्रिय विकास साझेदारी यसैतर्फ लक्ष्यित छन्। तर एक्काइसौ पनि विश्वका ९० करोड जति मानिस गरिब छन्, जसले विकास र समद्धिलाई खिज्याइरहेको छ। समृद्धिका केही सूचकहरू कुनै पनि मुलुक समृद्ध छ छैन भनेर हेर्ने आधारहरू धेरै छन्। विभिन्न संस्था र विचारकहरू समृद्धिको व्याख्या गर्ने सन्दर्भमा आआफ्नै सूचकहरूलाई आधार माज्दै आएका छ। तर प्रमुख आधारहरूमा भने खासै भिन्नता पाइदैन। समृद्धिको अध्ययन तथा विश्लेषण गर्दै आएका बेलायत स्थित लेगातम इन्स्टिच्यूटले १२ सूचकहरूलाई एकीकृत गरी लेगातम समृद्धि सूचकाङ्क बार्षिक रुपमा प्रकाशन गर्दै आएको छ। यसले मुलुकहरूको समृद्धिको स्तर (एकीकृत तथा छुट्टा छुट्टै) एकीन गरी सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गरिदिन्छ। इन्स्टिच्यूटको पछिल्लो प्रतिवेदन (२०२१) ले विश्वका १६७ मुलुकको समृद्धिको अवस्था प्रकाशन गरेको छ। इन्स्टिच्यूटले Pathwyas from Poverty to Prosperity का आदर्श वाक्यका साथ प्रकाशन गर्ने प्रतिवेदनमा निम्न १२ सूचकहरूको आधारमा मुलुकहरूको समृद्धिस्तर वर्गीकरण गर्दछ : सूचक नेपालको अवस्था सुरक्षा (Safety and security) ९४औं व्यक्तिगत स्वतन्त्रता (Personal freedom) ७४ औं शासनको स्तर (Governance) ८८ औं सामाजिक पूजी (Social capital) ११६औं लगानी अवस्था (Investment) १२३ औं उद्यमको अवस्था (Enterprize & industry) १२४ औं पूर्वाधार र बजार पहूच (Infrastructure and market access) १४१ औं आर्थिक गुणस्तर (Economic quality) ९५ औं जीवनस्तर (Living condotion) १२८ औं स्वास्थ्य अवस्था (Health) ११८ औं शिक्षा (Education) ११७ औं प्राकृतिक वातावरण (Natural Environment) १४३ औं स्रोत : http://www.prosperity.com/globle/nepal यी सूचकहरूको आधारमा डेनमार्क अधिकांश सूचकहरू (जीवनस्तर, वैयक्तिक स्वतन्त्रता, सामाजिक पूजी र शासकीय प्रभावकारिता) मा अग्रतासाथ विश्वमा नै समृद्धि राष्ट्र बनेको छ भने मानव विकास सूचकाङ्कमा संधैजसो माथि रहने नर्वे दोस्रो र त्यसपछि स्वीजरल्याण्ड, स्वीडेन र नर्वे छन्। दक्षिण सुडान समृद्धिमा सवैभन्दा पुछारमा (१६७ औं स्थानमा) छ। औसत सूचकका आधारमा नेपाल ११४ औं स्थानमा छ। विगत एक दशकको आँकडामा नेपालले १७ विन्दूले स्तर बढाए पनि असहले पनि मध्यस्थ भन्दा तल छ। छिमेकी मुलुकसँग तुलना गर्दा उदीयमान अर्थतन्त्र भएको चीन ५४ औं मा र भारत १०१ औ मा छन्। यस बर्षबाट चरम आर्थिक सङ्कटमा परेको श्रीलङ्का ८८ औ मा छ भने सार्कका तीन मुलुकहरू बङ्गलादेश (१२६ औ), पाकिस्तान (१३८ औं) र अफगानिस्तान (१६३ औं) नेपालभन्दा पछि छन्। लेगातम सूचकले सामाजिक समावेशिता, आर्थिक अवसर र नागरिक सशक्तीकरणलाई समृद्धिको बृहद आधार (स्कोर) मा लिएको छ, जसमा नेपाल आर्थिक पक्षमा निकै कमजोर देखिएको छ। १२ स्तम्भमध्ये बैयक्तिक स्वतन्त्रता स्तम्भ अन्यभन्दा उच्च छ, जवकि वातावरणीय स्तम्भ सबैभन्दा निम्नस्तरमा छ। यसले तीन कुराको सङ्केत गरेको छ : पहिलो, राजनैतिक नेतृत्वले लिने कार्यसूची र प्राथमिकता के हुन् भन्ने स्पष्ट पारेको छ, दोस्रो, नीति निर्माता र सार्वजनिक प्रशासनले बढी आक्रामक हुनुपर्ने क्षेत्र पहिचान गरिदिएको छ, तेस्रो, लगानीकर्ता र व्यवसायीले समृद्धिमा सहकार्य गर्ने क्षेत्र र सोका लागि राज्यले बनाइदिनु पर्ने वातावरणलाई देखाएको छ। समृद्धिका आयाममा नेपालको अवस्था (क) आर्थिक क्षेत्र : लेगातम समृद्धि सूचकले समष्टिगत रुपमा नेपालको समृद्धिको अवस्था देखाएको छ। आन्तरिक रुपमा समग्र परिवेशको विश्लेषण गर्दा नेपालको आर्थिक सामाजि अवस्थामा प्रशस्तै सुधारका क्षेत्रहरू देएिका छन्। समृद्धिको पहिलो आधार आर्थिक सूचकहरू कमजोर छन्। निम्न स्तरको पूजी निर्माण, निम्न लगानी र निम्न स्तरको रोजगारीले अर्थतन्त्रको अकार, स्तर र अरु अर्थतन्त्रसंगको आवद्धतामा कमजोर स्थिति विद्यमान छ। नेपालमा सीमान्त पूजी उत्पादन अनुपात ५.२०:१ छ। यसको अर्थ रु १ पूजी निर्माण गर्न रु ५.२० लगानी गर्नुपर्छ भन्ने हो। यसले अर्थतन्त्रको लागत संरचना उच्च छ भन्ने पनि देखाउँछ। प्रशस्त संभावना भएर पनि निजी क्षेत्र लगानी गर्न लजाइरहेको छ। नोपलको अवस्थित र श्रमको फाइदा (L & L advantage) का कारण लगानी आकर्षण हुनुपर्ने हो। सीमित लगानी पनि दीर्घकालीन फाइदाभन्दा तत्कालका प्रतिफलमा केन्द्रित छ। अधिकांश लगानी घरजग्गा लगायतका रिएल स्टेट क्षेत्रमा भएको छ। यसले लगानीकर्ताहरू जोखिम नलिने, सुरक्षित लाभमा मात्र ध्यान दिने, अर्थतन्त्र बनावटी सुन्न्याउनेतर्फ गएको देखिएको छ। रोजगारबिहीन बृद्धि, किराया प्रवृत्ति र आसेपासे अर्थतन्त्र विकास हुँदै आएको देखिन्छ। यसको पुष्टि कोभिड महामारीका कारण मुलुक स्तव्ध हुँदा पनि गत बर्ष ‘क’ श्रेणीका बैंकहरूले २३ नाफा गरेकोबाट हुन्छ। अर्थतन्त्रको दीर्घकालीन आधार खडा नुहुँदा समृद्धिको नेपली सपना धकेलिदै गएको छ। अवस्थिति, सस्तो श्रम, प्रचुर प्राकृतिक साधन र जनसाङ्ख्यिक लाभबाट फाइदा लिन सकिएको छैन। एक तिहाइ कृषिभूमि उपयोगमा छैन, बन, जलस्रोत तथा खनिज साधनले आर्थिक उपयागिता पाएको छैन, पूर्णबेरोजगारी र लुकेको बेरोजगारी गरी ४० प्रतिशतभन्दा बढी आर्थिक सक्रियताको जनसङ्ख्या निस्क्रिय छ। अर्थतन्त्रमा औद्योगिक उत्पादनको हिस्सा ५ प्रतिशत मात्र छ। उदीयमान आर्थिक क्षेत्रको रुपमा विस्तार भएको सहकारी मूल्य आदर्शबाट विषयान्तर हुँदैछ, जसले ठूलै वित्तीय सङ्कट नल्याउला भन्न सकिन्न। नेपलको बाह्य व्यापारमा आयातको हिस्सा निरन्तर बढ्दै गएको छ। टम्र्स अफ ट्रेड नेपालको पक्षमा छैन। उच्च व्यापार घाटा छ। निर्यात–आयात अनुपात गत वर्ष १: १५.३ थियो, यस बर्ष १: १२.२ जति छ। व्यापारमा बस्तुतथा देशगत विविधता छैन। गत बर्षको निर्यात व्यपारमा ७१.८ प्रतिशत भारत र ९ प्रतिशत अमेरिकासंग थियो भने आयातमा ६१.४ प्रतिशत हिस्सा भारतले र १५.२ प्रतिशत हिस्सा चीनले ओगटेका छन्। चीनसंगको व्यापार नाका निर्वाध रुपमा खुला छैन। भूराजनीतिक कुटनीतिक उतारचढावले भूपरिवेष्ठित मुलुकका नाताले पाउने सहुलियत उपयोगमा अव्यक्त तहमा समस्याहरू रहेका छन्। वाह्य व्यापारमा आयाततर्फ खनिज तेल तथा उच्च मूल्यका बस्तुहरूको मात्रा अधिक छ भने निर्याततर्फ कम मूल्यका बस्तुहरूको आधिक्यता रहँदै आएको छ। मुलुकमा विस्तारै आसेपासे अर्थतन्त्र विकास भैरहेको छ। आर्थिक विकासका लागि व्यवस्थित र दिगो नीति संयन्त्र एवं रणनीति बेगर तदर्थ रुपमा लगानी, नाफा, उत्पादन गर्ने क्रियाकलाप नै आसेपासे अर्थतन्त्र हो। यसले तत्काल नाफा कमाउने तदर्थ सोच र व्यवहार गर्दछ। यस अवस्थामा व्यापारी तथा उद्यमीहरू आफूलक्ष्यित नीति र सहुलियतका लागि नीति निर्मातालाई प्रभाव पार्दछन्, अनुरोध गर्दछन् र फाइदा लिन्छन्। नीतिले न आमउद्यमीलाई न्याय गर्छ न दिगो आर्थिक आधार नै बनाउँछ। तत्काल फाइदा लिने र भविष्यको वास्ता नगर्ने सोच उद्यमी तथा व्यापारीमा विकास भैरहको छ। घोषित नीति एउटा भएपनि नीतिका छिद्रहरूबाट सीमित लगानीकर्ता/उद्यमीहरू संरक्षित हुन खोज्ने प्रवृत्ति बढ्दैछ। प्रणालीले स्वचालित काम गर्ने स्थिति विग्रिएपछि अनुदार उदारवादको अभ्यास शुरु हुन्छ। राजनैतिक दल र नीति निर्माताहरू आफूसम्वन्धित व्यवसायीलाई संरक्षण गर्न पुग्छन्। छद्यभेषी अर्थतन्त्र विकास हुन्छ, जसको जग दह्रिलो हुँदैन। आसोपासे आर्थिक प्रवृत्तिका साथै किराया अर्थतन्त्र पनि विकास भएको छ। यो प्रवृत्ति नवौं योजनादेखि नै विकास हुन थालेको थियो। किराय प्रवृत्तिले अर्थतन्त्रका गतिविधिहरूलाई बढाउँछ तर सुरक्षित खेलमार्फत। घर, जग्गा, शेयर, मोटरमा गरिएको लगानी सुरक्षित हुन्छ तर यसले रोजागरी सिर्जना र मूल्य शृङ्खला विकास गर्दैन। उत्पादन उद्योग र कलकारखानाहरू स्थापनामा खासै ध्यान दिइदैन। किराया प्रवृत्तिमा बैंक तथा वित्तीय संस्थाहरू लगानीमा जोखिम लिदैनन्, दीर्घकालीन सोच राख्दैनन् र अर्थतन्त्रलाई कृतिम जस्तो कारोवारबाट सुन्निने बनाउँछन्। बृद्धिहीन लगानी हुन्छ, रोजगारीबिहीन गतिविधि हुन्छ। भाडा, किराया र कमिशनमा नै अर्थतन्त्र रमाएउँछ। परिणमतः मूल्यबृद्धि, बेरोजागरी, विलाशिसताको बस्तुका सञ्चय भण्डार हुन्छ। अर्थतन्त्रले सिनर्जी असर देखाउदैन र बहुसंख्यक सर्वसाधारणहरू समस्यामा पर्दछन्। कोभिड महामारीका कारण अर्थतन्त्र बेस्सरी थलिएको समयमा पनि ‘क’ श्रेणीका बैंकहरूले गत बर्ष २३ प्रतिशत नाफा गर्नु अर्थतन्त्र किरायामुखी बन्दै जानुको परिणाम हो। यसर्थ मुलुकले उदारीकरणको नीति अवलम्वन पछि वित्तीय मध्यस्थता सेवा, शिक्षा र स्वास्थ्य सेवा, नागरिक उड्डयन सेवा र सूचना सञ्चार प्रविधि सेवामा केही प्रगति हासिल भए पनि तत्कालका लागि सतहमा देखिएका बबल्स मात्र हुन वा दिगो रुपमा व्यवस्थित हुन्छन् भन्ने प्रश्न देखिएको छ। अर्थतन्त्रका गतिविधिहरू सुन्निएका हुन् वा मूल्यअभिबृद्धि हुने गरी बृद्धि भएको छ भन्ने तत्काल निक्र्यौल गर्नुपर्ने अवस्था छ। किनकी समृद्धिको सबैभन्दा ठूलो आयाम नै आर्थिक हो। (ख) पूर्वाधार क्षेत्र : पूर्वाधार संरचनाहरू विकास र समृद्धिका भुल्नै नसकिने आयामहरू हुन। पूर्वाधारले आर्थिक गतिविधि विस्तारमा पूर्व शर्तका रुपमा काम गर्दछ। भौतिक पूर्वाधार र आर्थिक बृद्धिको सकारात्मक सम्बन्ध रहन्छ। नेपालमा यस क्षेत्रले विस्तारको चरण लगभग पूरा गरेको छ, गुणस्तरको चरण शुरु गर्नुपर्ने स्थिति छ। सवैजसो आवधिक योजनाले पूर्वाधार संरचना निर्माणका लागि प्राथमिकता दिएका छन्। फलत ९५,५९६ कि मि सडक (जसमध्ये १६९३९ कालोपात्रे, ८८२१ कि मी खण्डास्मित र ६१७२५ कि मी स्थानीय तथा प्रादेशिक) निर्माण भएको छ। राष्ट्रिय स्तरको सडक ३३८७१ कि मी बनेको छ। ७६ जिल्ला र ७३२ पालिकाहरू सडक सञ्जालमा आवद्ध भैसकेका छन्। २२५० जति मोटरयोग्य पुल र ५००० जति झोलुङ्गे पुल निर्माण भएका छन्। चालु ३७ सहित ५७ विमानस्थल छन्। ५१ कि मी रेल चालु छ, पूर्वपश्चिम रेलमध्ये १०८ कि मीको ट्राकवे तथा बक्स कल्भर्ट निर्माण काम भैरहेको छ। सडक तथा अन्य यातायात पूर्वाधारले आथिर्क गतिविधलाई सहजीकरण गरिरहेका छन्। त्यस्तै विद्युततर्फ कूल जडित क्षमता २२०५ मेगावाट पुगेको छ। ९४ प्रतिशत सर्वसाधारण जल (२०२२), सौर्य (४९.७९), तापीय (५३.४) र चिनी मिल (६ मे वा) बाट विजुलीको पहूचमा छन्। यसले जनस्वास्थ्य, वातावरण र आर्थिक गतिविधिलिाई सकारात्मक योगदान पुर्याएको छ। प्रतिवर्ष प्रतिव्यक्ति २५० यूनिट खपत हुने गरेको छ। गत बर्ष अघिसम्म विद्युत आयात गर्नुपर्ने अवस्थाबाट मुलुक विद्युत निर्यातमा पुगेको छ। तर १११ बर्षे विद्युत इतिहासमा संभावनाको तुलनामा निकै कमजोर उपलव्धि हासिल भएको छ। ९९ प्रतिशत जनत खानेपानी सेवा संरचना पहूँचमा छन् (निरन्तर सेवा करिव ५५ प्रतिशतमा मात्र) भने मध्यम तथा उच्चस्तरको खानेपानी २१ प्रतिशतमा पुगेको छ। मुलुक खुलादिशामुक्त भएको छ तर १९ प्रतिशतले मात्र शौचालय प्रयोगपछि सावुन/खरानी पानीले हात धुन्छन्। सूचना सञ्चार प्रविधि पूर्वाधार एवं सेवा वितरणमा महत्वपूर्ण उपलव्धि देखिएको छ। नेपाल टेलिकम (२३० लाख), एनसेल (१८० लाख) र स्मार्ट (२० लाख) कम्पनीले ४ करोड ३० लाख लाइन टेलिफोनवितरण गरेका छन्। टेलिफोन घनत्व १३९.८६ र इन्टरनेट घनत्व ११६.९ प्रतिशत पुगेको छ। ६३८ स्थानीय पालिकाहरूमा ब्रोडव्याण्ड इन्टरनेट पुगेको छ। ६५० भन्दा बढी एफएम र ११७ टेलिभिजन प्रसारण अनुमतिमा छन्। हजारौ डिजिटल पत्रिका प्रकाशन भैरहेका छन्। मुलुक डिजिटल युगमा प्रवेश गरी सूचना, सामाजिक सम्बन्ध, राष्ट्रिय भावना विकास र सशक्तीकरणमा सहयोग भएको छ। यसले सामाजिक समावेशिता र पूँजी निर्माणमा पनि योगदान गरको छ। (ग) मानव संसाधन क्षेत्र : राष्ट्रिय आवश्यकता पूरा गर्ने गरी मानवीय सीप तथा क्षमताको निर्माण गरेर समृद्धिलाई बलियो आधार दिन सकिन्छ। भनिन्छ विकासको पूर्वाधारको पनि पूर्वाधार शिक्षा हो। शिक्षा मानव पूजी निर्माणको आधार हो। पश्चिमी चिन्तक प्लेटो तथा आरस्तु र पूर्वी चिन्तक चाणक्य र विदूर सवै नै शिक्षालाई वैयक्तिक प्राज्ञ र क्षमता विकासको आधार मान्दै आएका छन्। यस शताव्दीका चिन्तक युभल नोह हरारी तीव्र परिवर्तनशील विश्वमा शिक्षाले चार प्रकारको क्षमता निर्माण गर्ने मान्यता राख्दछन्। पहिलो, समीक्षात्मक क्षमता, दोस्रो, सञ्चार क्षमता, तेस्रो, सहकार्य सीप र चौथो, उत्पादन सिर्जनशीलता। यी चार प्रकारका क्षमता नै समृद्धिका उर्जा हुन्। आर्थिक विकासका लागि चाहिने प्राकृतिक स्रोत, मानव साधन र पूजी र प्रविधिमध्ये मानव साधन मात्र सजीव तत्व हो, अन्य साधनलाई गतिशील बनाउने काम यसैले गर्दछ। त्यसैले आजभोलि यसलाई मानव पूँजी भनिन्छ। राष्ट्रिय तथा साङ्गठनिक तहमा मानव साधनको योजना तथा उपयोगको उपयुक्त प्रणालीले मानव पूजी निर्माण गर्न सकिन्छ। मानव पूजी निर्माण तथा सम्वद्र्धनमा शैक्षिक प्रतिष्ठान तथा सीप प्रदायक संस्थाहरूको भूमिका रहन्छ। नेपालको शैक्षिक संरचना र आँकडाले केही उत्सहवद्र्धक नतिजा देखाइरहेको छ। प्राथमिक तहमा भर्ना दर ९६.९ प्रतिशत पुगेको छ। भर्नामा लैङ्गिक समता सूचकाङ्क १.०१ प्राप्त भएको छ। विद्यालयमा रहने अपेक्षित अवधि १२.८ बर्ष र आधारभूत तहको टिकाउ अवधि ८५.१ प्रतिशत पुगेको छ। यी शैक्षिक उपलव्धि हासिल हुनुका पछि शैक्षिक संस्थाहरूको उल्लेख्य उपस्थिति हो। हाल ३४,३६८ विद्यालय, यत्तिकै संख्यामा प्रारम्भिक बाल विकास सञ्चालनमा छन्। सीप शिक्षाका लागि ११३१ प्राविधिक तथा व्यावसायिक विद्यालय विभिन्न ट्रेडमा सञ्चालनमा छन्। उच्च शिक्षामा ११ विश्वविद्यालय मातहत आङ्गिक (१५२), सामुदायिक (५३६) तथा निजी (७४९) गरी १४३७ क्याम्पसहरू, ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सञ्चालनमा छन्। विदेशी विश्वविद्यालयको सम्बन्धमा उहीको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कलेजहरू ८६ छन्। करिव ८२ लाख विद्यार्थीहरू पठन कार्यमा संलग्न छन्। सार्वजनिक तथा निजी तौरबाट हुने खर्चको सवैभन्दा ठूलो अंश शैक्षिक क्षेत्रमा छ। समृद्धिका सापेक्षमा हेर्दा शैक्षिक प्रतिष्ठानबाट उत्पदित जनशक्तिले राष्ट्रिय विकासमा कतिको योगदान गर्यो, सामाजिक तथा बैयक्तिक उद्देश्य पूरा गर्न सक्षम भयो भनेर हेर्नुपर्ने हुन्छ। यस आधारबाट हेर्दा सङ्ख्यात्मक उपलव्धि र संरचना विस्तारले उपयुक्त उत्तर दिन सक्दैनन्। संविधानको धारा ५१ (ज) ले वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमुलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने उद्देश्य पूरा गर्न राज्यलाई निर्देश गरेके छ। विभिन्न समयमा गठन भएका शिक्षा आयोगका प्रतिवेदन, संवैधानिक आशय र नीति एवम् आवधिक योजनाका आधारमा ‘गुणस्तरीय शिक्षामा समान अवसर : सभ्य, समुन्नत र समृद्ध राष्ट्र निर्माणको आधार’ शिक्षा विकासको ध्येय हो। राष्ट्रिय शिक्षा नीति, २०७५ ले ‘शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्तिः सामाजिक न्याय, रुपान्तरण र समृद्धि’ लाई जोड दिएको र प्रारम्भिक बाल विकास कार्यक्रमदेखि उच्च शिक्षा प्रदायक निकायहरू शैक्षिक उद्देश्य पूरा गर्न क्रियाशील छन्। तर सिकाइ उपलव्धि स्तर निकै कमजोर छ। प्रतिस्पर्धा क्षमता मात्र कमजोर होइन, उत्तिर्णाङ्क दर पनि न्यून छ। सबैभन्दा धेरै विद्यार्थी पढ्ने (७६प्रतिशत) त्रिभुवन विश्वविद्यालयको उत्तिर्ण दर २९ प्रतिशत मात्र छ। चिकित्सा शास्त्रमा स्नातक गरेकाहरूमध्ये गत बर्षको मेडिकल काउन्सिल परीक्षामा ४६ प्रतिशतले मात्र अभ्यासका लागि इजाजत प्राप्त गरे। विश्वविद्यायलबाट उपाधि पाएका व्यक्तिहरू स्व/रोजगारीमा लाग्न सकेका छैनन्। शिक्षा, श्रम र सीप एकअर्कामा छुट्टिएकोले समृद्धि पाखा परेको छ। शिक्षाका व्यक्तिगत, सामाजिक र राष्ट्रिय तहका उद्देश्य पूरा भएका छ्रैनन्। शिक्षाले बेरोजगारहरूको भीड सिर्जना गरेको छ। आफ्नै लागि भार हुने शिक्षाले समृद्धिलाई धेरै सघाउन सक्ने अवस्था पनि छैन। (घ) वातावरणीय क्षेत्र : विकास र समृद्धिमा प्राकृतिक स्रोतको उपयोग र वातावरणीय सन्तुलनले महत्वपूर्ण स्थान राख्दछ। नेपालका प्राकृतिक स्रोत बन, भूमि, खानी तथा जलस्रोतको उपलव्धताले समृद्धिका संभावना देखाउछ। नेपालले प्राकृतिक स्रोतहरू अधिकांश भर्जिन छन्। उपयोगमा ल्याउन सके आर्थिक विकासको फड्को मार्न सकिन्छ। कूल क्षेत्रफल १४७५१६ वर्ग कि मी मध्ये ९२.९४ प्रतिशत भूभागको २८.७५ प्रतिशत खेतीयोग्य छ, तर खेतीयोग्य जमिनको एकतिहाई बाँझो छ। ४४.७४ प्रतिशत बन भएपनि आर्थिक उपार्जनमा बनलाई ल्याउन सकिएको छैन। बनको संरक्षणका अभावमा जैविक विविधता विनास हुँदैछ। नेपालमा रहेका ११८ पारिस्थितिक प्रणालीमध्ये ८० बन क्षेत्रमा छन्। करिव ६ हजार हिमनदीबाट उर्जा, जलाधार संरक्षण, सिचाइ, मनोरञ्ज, खानेपानी लगायत बहुपक्षीय उपयोगमा ल्याउन सकिन्थ्यो तर बार्षिक २ खर्व २४ अर्व ३१ करोड घन मिटर पानी त्यत्तिकै वगेर गएको छ। एक्काइसौ शताव्दीमा पनि बहुमूल्य पानीको बहुपक्षीय उपयोग गर्न सकिएको छैन। नेपालको भूगर्भमा के कस्ता सम्पदा छन् भनेर पहिचान नै भएको छैन। तर सामान्य खनिज देखि बहुमूल्य युरेनियमसम्मको उपलव्धता रहेको अनुमान गरिएको छ। खानी विभागले ६३ प्रकारका खनिजको पहिचान गरेको छ। भूमिबाट खाद्य सुरक्षा, बनबाट प्राकृतिक सन्तुलन र जलवायुवित्त, पानीबाट उर्जा व्यापार र खानीबाट आन्तरिक आवश्यकता पूरा गरी रोजगारी सिर्जना गरी राष्टिय समृद्धिमा योगदान पुर्याउनु पर्ने आवस्था छ। तर भूमिमा रहेको राजनीति, जलस्रोतमा देखिने उग्रराष्ट्रियता, बन तथा खानीमा रहेको प्राविधिक तदर्थपनले संभावना उपयोगमा बाधा पुगेको छ। प्राकृतिक साधनको अनुपयोग मात्र होइन, सीमित क्षेत्रमा उग्रदोहन पनि भैरहेको छ। ढुङ्गा, गिटी तथा बालुवाजस्ता प्राकृतिक साधनको उत्खननमा अर्थराजनीतिक चाख देखिदैछ। स्थानीय तथा प्रदेश सरकारहरू यसलाई सजिलो आय स्रोतका रुपमा लिइरहेका छन्, उत्खनन्कर्ताहरू एकदमै कम लगानीमा सजिलो नाफा आर्जन (१३०० प्रतिशतसम्म) का अर्थमा लिइरहेका छन्। सतहमा देखिए भन्दा अन्य गर्भित कारणले पनि उत्खनन व्यवसाय अनियन्त्रित भएको छ। यसले राजनीति, स्थानीय युवा, कर्मचारी र नीति निर्मातासम्मको सुदृढ माखेसाङ्गलो कायम गरेको छ। गत आर्थिक बर्षको बजेट बक्तव्यको बुँदा नम्बर १९९ मा चुरे क्षेत्रका ढुङ्गा, गिटी उत्खनन गरी भारत निर्यात गर्ने नीति नै घोषणा गरिएको थियो (जसलाई समुदाय र प्रदेश सरकारको विरोध र सम्मानित अदालतको आदेबाट कार्यान्वयन गरिएन)। भविष्यपर्यन्त सवै प्रकारका मानवीय आवश्यकता पूरा गर्ने आधार वातावरण हो तर यसमाथि संवेदनशीलता नदेखाएकोले ‘गुड फर बजेट’ भएपनि ‘व्याडफर इकोनोमी’ भएको छ, तत्कालको फाइदाले दीर्घकालीन लागत थपिएको छ। यसका देखिने प्रतिकूल असरहरूमा (क) प्राकृतिक अवस्थितिलाई खलबल्याएको छ, (ख) बन, बनस्पतिमा क्षति पुर्याएको छ, (ग) जलाधार विनास गर्दैछ, (घ) पारिस्थितिक प्रणाली विगार्दैछ, जैविक विविधता विनास गर्दैछ, (ङ) भूस्खलन, पहिरो, सुख्खा, बाढी जस्ता प्रकोपहरू बढाएको छ, (च) जमीनको उर्वरत्व सिध्याउँदै लगेको छ, (छ) प्राकृतिक स्वच्छता र सौन्दर्यमाथि धावा बोलेको छ र (झ) सामाजिक दुस्कृति बढाएको छ। सजिलो सोचबाट सीमित स्रोतको उग्रदोहन नियमन नगरिए यसले दर्घकालीन रुपमा समृद्धिमाथि चुनौती दिइनै रहेन छ। ‘गुड इकोलोजी फर गुड इकोनोमी’ को साझा सोच बनाउनुको विकल्प छैन। सुशासन र समृद्धिको सम्बन्ध सुशासन र समृद्धि छुट्टै विषय नभै परिपुरक छन्। समृद्धिका लागि स्रोत साधन तथा शक्तिको व्यवस्थित अभ्यास चाहिन्छ, भूमिका निर्वाहकर्ताहरूमा व्यावसाकिय दक्षता, सदाचारिता र जवादेहिता चाहिन्छ। सुशासन शक्ति, साधन, स्रोत र क्षमताको अभ्यासलाई व्यवस्थित गराई राष्ट्रिय अभिष्ट प्राप्तिको आधार दिन्छ। सुशासनलाई नागरिक अगुवा डा.देवेन्द्रराज पाण्डेले शक्ति र साधनको न्यायपूर्ण अभ्यास (just exercise of power and resources) भनी संक्षिप्त रुपमा अथ्र्याएका छन्। सुशासनको पहिलो प्रयोग विकासका सन्दर्भमा भएको थियो। यो शव्द शासन र कर्मचारीतन्त्रबाट वाक्क भएका सर्वसाधारणलाई विकास व्यवस्थापन (Development delivery) लाई प्रभावबारी बनाउन १९७९ तिर प्रयोगमा ल्याइएको थियो। यसले लोकतन्त्रलाई कार्यमूलक, सेवा प्रक्रियालाई सेवामैत्री, व्यवास्थपनलाई नतिजामूलक र कार्यआचरणलाई नैतिक बनाउने आग्रह राख्दछ। नव्वेको दशकबाट यसलाई शासकीय व्यवस्था सुधार रणनीति औजारका रुपमा लिन थालिएको छ। सुशासनलाई यी आधारमा हेर्न सकिन्छ : राजनैतिक दृष्टिकोणमा सुशासन सहभागिता र बैधानिकता हो। प्राविधिक/ब्यबस्थापकीय दृष्टिकोणमा साधनको अत्युत्तम बिनियोजनबाट अपेक्षित नतीजा प्राप्तीको आशय यसले राख्दछ। नैतिक पक्षबाट यसले मानवीय मूल्य मान्यता र सदाचारमा जोड दिन्छ र शासक र शासितवीच सहज सम्बन्ध असल बनाउँछ। सामाजिक पक्षबाट हेर्दा यसले समग्र सामाजिक क्रियाकलापको बैध, नैतिक र भरपर्दो बनाउँछ। समग्रमा सुशासन शासकीय अवसरको निर्माण र वितरणको समन्यायिक प्रक्रिया हो, जसले विकास र समृद्धिको मार्ग निरन्तर सतत बनाउँछ। बेलायतको सार्वजनिक सेवामा सुशासन सम्बन्धी स्वतन्त्र आयोगले सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताका अर्थमा सुशासनलाई लिएको छ। राज्य र यसका संयन्त्रको प्रमुख काम नै सेवा प्रभावकारिता विस्तार भएकाले त्यसो भनिएको हो। आयोगले यी छ टा आयामबाट सुशासनलाई हेरेको छ :


