काठमाडौंः सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका सातवटा मुख्य निर्णय सार्वजनिक गरेको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आगामी सोमबारदेखि हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्ने प्रयोजनका लागि आदेश जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरूसमेत सार्वजनिक गरिएको छ । यस्ता छन् मन्त्रिपरिषद्का निर्णयः- –२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने । –चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने । –अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । –नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने । –राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने । –ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने । –राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।


