धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव, ५२४ स्टल रहने - Chaitanya News
  • 2026-11-18
  • 15:53:44
  • बुधबार,मंसिर ०३, २०८३
  • धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव, ५२४ स्टल रहने

    धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव, ५२४ स्टल रहने

    धनगढीः कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १८औँ संस्करण आगामी मंसिर २२ गतेदेखि धनगढीमा सञ्चालन हुने भएको छ।

    महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। मंसिर २२ देखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा महोत्सव सञ्चालन हुनेछ।

    संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार यस वर्षको महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत क्षेत्रका ५२४ वटा स्टल रहनेछन्।

    महोत्सव आयोजनामा करिब चार करोड रुपैयाँ लगानी हुने र १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको अध्यक्ष ओझाले बताए। उनका अनुसार महोत्सवमा करिब आठ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

    महोत्सवलाई थप आकर्षक बनाउन १५० वटा प्यागोडा शैलीका स्टल निर्माण गरिनेछ। त्यसैगरी, प्रवेशद्वारदेखि प्रमुख गेटसम्म दुवैतर्फ अम्ब्रेला स्ट्रिट निर्माण गर्ने तयारी गरिएको संघले जनाएको छ।

    यस वर्षको महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय उत्पादनको बजारीकरण र मौलिक कला संस्कृतिको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइनेछ। साथै, सुदूरपश्चिम प्रदेशको विकासका सम्भावना, चुनौती र भावी कार्यदिशाबारे छलफल गर्न ‘भिजन सुदूरपश्चिम’ बहस कार्यक्रमसमेत सञ्चालन गरिने अध्यक्ष ओझाले जानकारी दिए।

    महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा संघमा दर्ता भई नवीकरण गरेका सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

    महोत्सवलाई व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्न मूल आयोजक समितिसहित २५ वटा उपसमिति गठन गरिएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।