‘सफलता चाहिन्छ भने पढाइमा निरन्तरता छोड्नु हुँदैन’ : डा. नेहा पाण्डे - Chaitanya News
  • 2026-11-18
  • 14:49:40
  • बुधबार,मंसिर ०३, २०८३
  • ‘सफलता चाहिन्छ भने पढाइमा निरन्तरता छोड्नु हुँदैन’ : डा. नेहा पाण्डे

    ‘सफलता चाहिन्छ भने पढाइमा निरन्तरता छोड्नु हुँदैन’ : डा. नेहा पाण्डे

    डाक्टर बन्ने सपना देख्नु र त्यसलाई वास्तविकतामा बदल्नु सहज छैन। त्यसका लागि दृढ इच्छाशक्ति, निरन्तर मेहनत, आत्मविश्वास र चुनौतीसँग जुध्ने साहस आवश्यक हुन्छ। आर्थिक अवस्था, सीमित स्रोतसाधन र तयारीका क्रममा आउने निराशाले धेरै विद्यार्थीलाई आफ्नो लक्ष्यबाट पछि हट्न बाध्य बनाउँछ। तर, सही योजना र निरन्तर प्रयासले कठिन लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने उदाहरण हुन् डा. नेहा पाण्डे।

    बुटवलमा विद्यालय तहको अध्ययन पूरा गरी प्रवेश परीक्षामा सफलता हासिल गर्दै महिला कोटामा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन पूरा गरेकी पाण्डे अहिले चिकित्सा क्षेत्रमा आफ्नो व्यावसायिक यात्रा अगाडि बढाउँदै छिन्।

    चिकित्सा शिक्षाको तयारीदेखि छात्रवृत्ति प्राप्ति, एमबीबीएस अध्ययनका चुनौती, बिरामीसँगको पहिलो अनुभव, व्यावसायिक जीवन र भावी योजनासम्मका विषयमा चैतन्य खबरले गरेको ‘चैतन्य संवाद’ प्रस्तुत छ।

    १– आफ्नो परिचय र शैक्षिक यात्राबारे बताइदिनुहोस् न।

    मेरो स्थायी घर बुटवल हो। प्रारम्भिक अध्ययन भारतबाट सुरु गरे पनि कक्षा १२ सम्मको पढाइ बुटवलमै पूरा गरेँ। कक्षा १० सम्म श्री शान्ति नमुना माध्यमिक विद्यालय र कक्षा ११–१२ न्यु होराइजन कलेजमा अध्ययन गरेँ। त्यसपछि मेडिकल प्रवेश परीक्षाको तयारीका लागि काठमाडौँ आएँ र छात्रवृत्तिमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेँ।

    २– चिकित्सा क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?

    परिवारका अंकल र दाइहरू चिकित्सा क्षेत्रमा हुनुहुन्थ्यो। परिवारमा छोरीतर्फबाट डाक्टर कोही नभएकाले मलाई पनि डाक्टर बन्न प्रेरित गरिन्थ्यो। सानैदेखि परिवारको हौसला र आफ्नै रुचिका कारण डाक्टर बन्ने लक्ष्य बनाएकी थिएँ।

    ३– डाक्टर बन्न मेडिकल परिवार वा आर्थिक रूपमा सम्पन्न हुनुपर्छ भन्ने धारणा छ। यसलाई कसरी लिनुहुन्छ ?

    मलाई यो धारणा सही लाग्दैन। डाक्टर बन्न पारिवारिक पृष्ठभूमि वा धेरै पैसा होइन, मेहनत, लगनशीलता र दृढ इच्छाशक्ति आवश्यक हुन्छ। मैले पनि छात्रवृत्तिमा एमबीबीएस पूरा गरेकी हुँ। त्यसैले आफ्नो क्षमतामा विश्वास गरेर मेहनत गरे आर्थिक अवस्थाले मात्र लक्ष्य प्राप्तिमा बाधा पुर्‍याउँदैन।

    ४– एमबीबीएसपछि अहिले के गर्दै हुनुहुन्छ ? आगामी योजना के छ ?

    अहिले म मेडिकल अफिसरका रूपमा सरकारी सेवामा जाने तयारीमा छु। सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाले नियमानुसार दुई वर्ष सरकारी सेवा गर्नुपर्ने हुन्छ। स्वास्थ्य मन्त्रालयबाट नियुक्तिपत्र आउने प्रक्रियामा रहेकाले अहिले त्यसैको प्रतीक्षामा छु।

    ५– डाक्टर बन्ने यात्रामा कस्ता चुनौती सामना गर्नुपर्‍यो ?

    यात्रामा धेरै उतारचढाव आए। कहिलेकाहीँ आफैँमाथि शंका लाग्ने र आत्मविश्वास कमजोर हुने अवस्था पनि आयो। तर हार नमानी निरन्तर मेहनत गरेँ। कठिन समयमा पनि आफूले सक्दो उत्कृष्ट प्रयास गर्नुपर्छ भन्ने सोचले अघि बढेँ। आज ती दिन सम्झिँदा निरन्तर प्रयास र आत्मविश्वास नै सफलताको आधार रहेछ भन्ने लाग्छ।

    ६– अहिले चिकित्सा शिक्षा प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई विद्यालय तहको पढाइले कत्तिको सहयोग गर्छ ? छुट्टै तयारी कक्षा आवश्यक छ ?

    कक्षा ९ र १० को पढाइले प्रत्यक्ष रूपमा धेरै सहयोग नगरे पनि आधारभूत ज्ञान बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ। कक्षा ११ र १२ देखि नै विषयको अवधारणा स्पष्ट पार्दै पढे प्रवेश परीक्षाको तयारी सहज हुन्छ। सम्भव भए ११–१२ पढ्दादेखि नै तयारी सुरु गर्न सकिन्छ। तयारी कक्षा उपलब्ध नभएका ठाउँका विद्यार्थीले पनि विद्यालय र कलेजकै पाठ्यक्रममा ध्यान दिँदै आधार बलियो बनाउनुपर्छ। आत्मविश्वासका साथ निरन्तर मेहनत गरे सफलता हासिल गर्न सकिन्छ।

    ७– प्लस टु (कक्षा ११ र १२) को पढाइसँगै मेडिकल इन्ट्रान्सको तयारी कसरी व्यवस्थापन गर्न सकिन्छ ?

    प्लस टुमा पढाइने विषयलाई बोर्ड परीक्षाका लागि अवधारणा स्पष्ट हुने गरी गहिरिएर पढ्नुपर्छ। त्यससँगै सम्बन्धित बहुवैकल्पिक प्रश्न ९ःऋत्त० अभ्यास गर्दै जाने हो भने बोर्ड र इन्ट्रान्स दुवैको तयारी प्रभावकारी हुन्छ।

    ८– कक्षा ११ र १२ मा पढ्दा हजुरलाई सबैभन्दा गाह्रो लागेको विषय कुन थियो र त्यसलाई कसरी सुधार गर्नुभयो ?

    मलाई विशेषगरी बोटनी अलि गाह्रो लाग्थ्यो। फिजिक्स र केमिस्ट्रीमा अवधारणा र तर्क बुझिसकेपछि सजिलो हुने भए पनि बोटनी र जुलोजीमा धेरै तथ्यहरू याद गर्नुपर्ने हुन्छ। त्यसैले सबै विषयलाई सन्तुलनमा राख्दै बोटनीलाई केही बढी समय दिएँ। नबुझेका विषयलाई स्पष्ट पार्न शैक्षिक भिडियो र अन्य स्रोतहरूको सहयोग लिन्थेँ।

    ९– सीईईको तयारी कहिलेदेखि सुरु गर्नुभयो ? ग्याप लिएर तयारी गर्नुभएको हो कि नियमित विद्यार्थीका रूपमा नै सफल हुनुभयो ?

    मैले ग्याप लिएको होइन, नियमित विद्यार्थीका रूपमा नै तयारी गरेकी हुँ। बुटवलमा पढ्दा कक्षा ११ र १२ मा विशेष इन्ट्रान्स कक्षा थिएनन्। कक्षा १२ मा पुगेपछि स्थानीय प्रि(मेडिकल इन्स्टिच्युटमा सञ्चालन हुने साप्ताहिक कक्षाबाट औपचारिक तयारी सुरु गरेकी हुँ।

    १०– राम्रो नतिजाका लागि महँगो र प्रतिष्ठित कलेज नै आवश्यक हुन्छ भन्ने धारणा कत्तिको सही हो ?

    मेरो विचारमा नतिजा मुख्यतः विद्यार्थीको मेहनतमा निर्भर हुन्छ। कलेजले राम्रो वातावरण, अनुभवी शिक्षक र आवश्यक मार्गदर्शन दिन सक्छ। यसले तयारीमा सहजता ल्याउँछ, तर अन्तिम नतिजाका लागि विद्यार्थीको आफ्नै लगनशीलता र मेहनत सबैभन्दा महत्त्वपूर्ण हुन्छ।

    ११– इन्ट्रान्स तयारीका क्रममा हजुरको दैनिक अध्ययन तालिका कस्तो थियो ?

    म बिहान सबेरै उठेर पढ्ने भएकाले बिहानैबाट अध्ययन सुरु गर्थेँ। तर घण्टाअनुसारको तालिका बनाएर त्यहीअनुसार चल्नुभन्दा निश्चित समयभित्र निश्चित टपिक पूरा गर्ने लक्ष्य राख्थेँ। पहिले विषयको अवधारणा स्पष्ट पार्ने र त्यसपछि सम्बन्धित एमसीक्यू अभ्यास गर्ने मेरो तरिका थियो।

    १२– तयारीका क्रममा सामाजिक सञ्जालले विद्यार्थीलाई सहयोग गर्छ कि ध्यान भड्काउने काम बढी गर्छ ?

    सामाजिक सञ्जालको प्रभाव यसको प्रयोगमा निर्भर हुन्छ। सही तरिकाले प्रयोग गर्दा अध्ययन सामग्री खोज्न र आवश्यक मार्गदर्शन लिन उपयोगी हुन्छ। तर, अरूको प्रगति हेरेर आफूलाई तुलना गर्दा आत्मविश्वास घट्न सक्छ। त्यसैले अनावश्यक सामग्रीबाट टाढा रहेर सिकाइ र तयारीका लागि मात्र सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्छ।

    १३– डिकल इन्ट्रान्सको तयारी गर्दा बजारमा धेरै अध्ययन सामग्री उपलब्ध हुन्छन्। यस्तो अवस्थामा सही स्रोत कसरी छनोट गर्ने र सामाजिक सञ्जालबाट कस्ता सामग्री लिने ?

    स्रोतमा अल्झिनुभन्दा आफूले बुझ्ने र विश्वास गर्ने एक–दुईवटा सामग्री छनोट गर्नुपर्छ। त्यसैबाट नोट्स बनाएर पटक–पटक रिभिजन गर्नुपर्छ। कुनै विषय बुझ्न कठिन भए मात्र अन्य स्रोतको सहयोग लिन सकिन्छ। मैले पनि एउटा मुख्य किताबलाई आधार बनाएर अतिरिक्त जानकारी त्यहीँ टिपोट गर्ने गर्थें।

    १४– तयारीका क्रममा थ्योरी अध्ययन, एमसीक्यू अभ्यास र मोक टेस्टलाई कसरी व्यवस्थापन गर्नुभयो ?

    सुरुमा थ्योरी र अवधारणा बुझ्न ध्यान दिएँ। त्यससँगै सम्बन्धित एमसीक्यू अभ्यास गर्थें। हरेक हप्ता मोक टेस्ट दिने गर्थें। मोक टेस्टमा कम अंक आउँदा निराश हुनुभन्दा कुन विषयमा कमजोरी छ भन्ने पहिचान गरेर सुधार गर्नुपर्छ।

    १५– मोक टेस्टमा भएका गल्ती कसरी मूल्याङ्कन गर्नुहुन्थ्योरु यसले वास्तविक परीक्षामा कस्तो सहयोग गर्‍यो ?

    म बुटवलमा बसेर तयारी गरेको हुनाले कपी जाँच गराउने विशेष सुविधा थिएन। त्यसैले आफ्ना गल्ती आफैँ विश्लेषण गर्थें। मोक टेस्टले समय व्यवस्थापन गर्न, प्रश्न राम्रोसँग पढ्न र साना गल्ती कम गर्न निकै सहयोग गर्‍यो।

    १६– इन्ट्रान्स तयारीका क्रममा ध्यान भड्किने, पटक–पटक असफल हुँदा निराशा हुने र परिवारको दबाब महसुस हुने अवस्था आउन सक्छ। यस्तो परिस्थितिलाई कसरी सामना गर्ने ?

    मेरो पहिलो प्रयासमै नाम निस्किएकाले लामो समयको निराशा प्रत्यक्ष भोग्नुपरेन। तर, मेडिकल क्षेत्रमा साँच्चै रुचि छ भने बाहिरी दबाबभन्दा आफ्नै लक्ष्य र आत्मविश्वासलाई प्राथमिकता दिनुपर्छ। आफूले यही क्षेत्रमा केही गर्ने दृढ संकल्प राखेर मेहनत गर्नुपर्छ।

    १७– तयारीका क्रममा आफूले सक्दिनँ कि भन्ने निराशा आउँदा कसरी उत्प्रेरित रहने ?

    यस्तो अवस्थामा परिवारको साथ र सहयोग निकै महत्वपूर्ण हुन्छ। तयारीका क्रममा मलाई पनि कहिलेकाहीँ निराशा लाग्थ्यो। तर परिवारले सकेको प्रयास गर्न र नतिजा जे आए पनि चिन्ता नगर्न सधैँ हौसला दिनुहुन्थ्यो। त्यसैले विद्यार्थीलाई निराशाबाट बाहिर निकाल्न परिवारको सकारात्मक वातावरण, साथ र प्रोत्साहनले ठूलो भूमिका खेल्छ।

    १८– प्लस टुमा कमजोर अंक आए पनि विषयवस्तुको ज्ञान र मेडिकल क्षेत्रमा रुचि भएको विद्यार्थीले चिकित्सा शिक्षा प्रवेश परीक्षामा सफलता हासिल गर्न सक्छ ?

    पक्कै सक्छ। प्लस टुको अंकले मात्र भविष्य निर्धारण गर्दैन। मेडिकल क्षेत्रमा जाने इच्छाशक्ति र मेहनत गर्ने प्रतिबद्धता भए कक्षा १२ पछि पनि राम्रो तयारी गरेर सफल हुन सकिन्छ।

    १९– प्रवेश परीक्षा आउन ३० दिन मात्र बाँकी हुँदा कुन कुरालाई प्राथमिकता दिनुपर्छ ?

    अन्तिम समयमा नयाँ विषय पढ्नुभन्दा पहिले पढिसकेका विषयको पुनरावृत्ति र बहुवैकल्पिक प्रश्न अभ्यासमा जोड दिनुपर्छ। आफूलाई थाहा भएका विषयबाट आउने प्रश्न नबिगार्ने गरी तयारी गर्नुपर्छ।

    २०– विगतका वर्षमा सोधिएका प्रश्न अभ्यास गर्नु कत्तिको उपयोगी हुन्छ ?

    निकै उपयोगी हुन्छ। पुराना प्रश्न अभ्यास गर्दा परीक्षामा सोधिने प्रश्नको ढाँचा, महत्त्वपूर्ण विषय र प्रश्न सोध्ने तरिका बुझ्न सकिन्छ। त्यसैले नयाँ प्रश्न खोज्नुभन्दा पहिले पुराना प्रश्न राम्ररी अभ्यास गर्नुपर्छ।

    २१– परीक्षा हलमा समय व्यवस्थापन र गलत उत्तरबापत अंक कट्ने जोखिमलाई कसरी सन्तुलन गर्ने ?

    प्रश्नप्रतिको आफ्नो आत्मविश्वासका आधारमा निर्णय लिनुपर्छ। कुनै प्रश्नको उत्तरबारे बिल्कुलै जानकारी छैन भने छोड्नु उचित हुन्छ। तर पढेको विषयबाट आएको प्रश्नमा दुई विकल्पबीच मात्र अन्योल छ भने सोचविचार गरेर उत्तर दिन सकिन्छ।

    २२– मोक टेस्टमा लगातार कम अंक आएमा कमजोरी कसरी पहिचान गर्ने ?

    कम अंक आउनुको कारण विषय नबुझ्नु मात्र हुँदैन। प्रश्न पूरा नपढ्नु, प्रश्नको आशय नबुझ्नु वा हतारमा उत्तर दिनु पनि गल्तीका कारण हुन सक्छन्। त्यसैले कुन विषयमा कमजोरी छ र गल्ती किन भयो भनेर विद्यार्थीले आफ्नै उत्तरपुस्तिका विश्लेषण गर्नुपर्छ।

    २३– महिला कोटामा पूर्ण छात्रवृत्ति हासिल गर्न हजुरको तयारी र दैनिक अध्ययन तालिका कस्तो थियो ?

    मैले कक्षा १२ देखि नै प्रवेश परीक्षाको तयारी सुरु गरेकी थिएँ। बुटवलमा दैनिक तयारी कक्षा उपलब्ध नभएकाले हप्तामा एक दिन मात्र कक्षा लिन्थेँ। त्यस समयमा विषयवस्तुको अवधारणा स्पष्ट बनाउन ध्यान दिएँ। कक्षा १२ को परीक्षा सकिएपछि काठमाडौं आएर चार–पाँच महिना नियमित तयारी गरेँ। यस अवधिमा दैनिक बहुवैकल्पिक प्रश्न अभ्यास गर्ने र प्लस टुमा पढेका विषयको निरन्तर पुनरावृत्ति गर्ने गर्थें। यही अभ्यास र मेहनतले महिला कोटामा पूर्ण छात्रवृत्ति हासिल गर्न सफल भएँ।

    २४– आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पनि डाक्टर बन्ने सपना पूरा गर्न सक्छन् ? सरकारी छात्रवृत्ति पाउने सम्भावना कत्तिको छ?

    आर्थिक अवस्था कमजोर हुँदैमा सपना छोड्नु हुँदैन। सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो क्षमतामाथिको विश्वास र निरन्तर मेहनत हो। तयारीका क्रममा आत्मशंका हुनु स्वाभाविक भए पनि हिम्मत हार्नु हुँदैन। अहिले चिकित्सा शिक्षा प्रवेश परीक्षामार्फत छात्रवृत्तिका अवसर र सिट पनि बढेका छन्। त्यसैले मेहनत र आत्मविश्वासका साथ तयारी गरे सरकारी छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउन सकिन्छ।

    २५– छात्रवृत्तिमा नाम ननिस्किए विद्यार्थीले पुनः प्रयास गर्ने कि अर्को विषय रोज्ने ?

    यो विद्यार्थीको रुचि र प्राथमिकतामा निर्भर हुन्छ। कसैले एमबीबीएसलाई आफ्नो भविष्यको लक्ष्य मानेर थप एक–दुई वर्ष मेहनत गर्न सक्छन् भने कसैले समयलाई ध्यानमा राखेर अर्को विषय रोज्न सक्छन्। पुनः प्रयास गर्दा समय खेर गएको नभई भविष्यका लागि लगानी भएको महसुस हुन्छ भने निरन्तरता दिनुपर्छ। तर त्यसले पछुतो मात्र दिन्छ भन्ने लागे आफ्नो रुचिको अर्को क्षेत्र रोज्नु उचित हुन्छ।

    २६– पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्दा पनि होस्टेल, खाना र दैनिक खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ। हजुरले कसरी व्यवस्थापन गर्नुभयो ?

    हाम्रो पालामा होस्टेल अनिवार्य थियो र कलेजको शुल्क पनि केही महँगो थियो। पढाइ व्यस्त हुने र बाहिर काम गरेर कमाउने अवसर पनि नभएकाले मेरो अध्ययन तथा दैनिक खर्च परिवारले नै पठाइदिनुहुन्थ्यो। मैले परिवारकै सहयोगमा खर्च व्यवस्थापन गरेँ।

    २७– वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययन सुरु गर्दा गरेको अपेक्षा र वास्तविक अनुभव कस्तो रह्यो ?

    पहिलो दिन कलेज जाँदा अब डाक्टर बन्ने यात्रामा प्रवेश गरेँ भन्ने निकै उत्साह थियो। तर वास्तविकता सोचेभन्दा फरक रहेछ। सुरुवाती वर्षमा बिरामी जाँच्ने वा उपचारमा संलग्न हुने अवसर हुँदैन। अन्य विद्यार्थीझैँ कक्षाकोठामा बसेर सैद्धान्तिक अध्ययन गर्नुपर्ने भएकाले पहिलो दिनमै डाक्टर बनेको अनुभूति हुँदैन।

    २८– एमबीबीएस अध्ययनको सबैभन्दा चुनौतीपूर्ण चरण कुन रह्यो ?

    त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पाठ्यक्रममा चौथो वर्ष सबैभन्दा चुनौतीपूर्ण लाग्यो। यो वर्ष जम्मा छ महिनाको भए पनि पढ्नुपर्ने विषय धेरै हुन्छन्। छोटो समयमा धेरै विषयको तयारी गरेर परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। परीक्षा पास नभए इन्टर्नसिप सुरु गर्न नपाई छ महिना पछाडि धकेलिने सम्भावना भएकाले यो चरण निकै दबाबपूर्ण हुन्छ।

    २९– पहिलो पटक बिरामीसँग प्रत्यक्ष भेटेर संवाद गर्दा कस्तो अनुभव भयो ?

    एमबीबीएसको पहिलो र दोस्रो वर्ष मुख्यतः सैद्धान्तिक अध्ययन हुन्छ भने तेस्रो वर्षदेखि क्लिनिकल अभ्यास सुरु हुन्छ। पहिलो पटक बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउँदा केही असहज महसुस भएको थियो। वीरगन्जको स्थानीय भाषा नबुझ्दा बिरामीसँग संवाद गर्न कठिनाइ हुन्थ्यो। त्यस्तै, आफू भर्खर सिक्दै गरेको विद्यार्थी भएकाले बिरामीहरूले पनि पूर्ण चिकित्सकको रूपमा नभई विद्यार्थीका रूपमा हेर्ने गर्थे। यद्यपि, सुरुवाती कठिनाइले नै व्यवहारिक ज्ञान र अनुभव हासिल गर्ने अवसर दियो।

    ३०– मेडिकल पेसामा दिन र रात दुवै समयमा ड्युटी गर्नुपर्ने हुन्छ। यस्तो व्यस्तताबीच परिवार, साथीभाइ र व्यक्तिगत जीवनलाई कसरी समय दिनुहुन्छ ?

    मेडिकल क्षेत्रमा प्रवेश गरेपछि पेसाको प्रकृति बुझेर त्यसअनुसार आफ्नो मानसिकता तयार गर्नुपर्छ। सुरुवातमा परिवार र साथीभाइलाई समय दिन नसक्दा कठिन लाग्न सक्छ। तर, पेसागत जिम्मेवारीलाई स्वीकार गर्दै समय व्यवस्थापन गर्न सिकेपछि व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन मिलाउन सहज हुँदै जान्छ।

    ३१– आगामी दिनमा विशेषज्ञता छनोट गर्दा कुन कुरालाई आधार बनाउनुहुन्छ ? हजुरको रुचि कुन विधामा छ ?

    विशेषज्ञता छनोट गर्दा आफ्नो रुचि र कामको अनुभवलाई मुख्य आधार बनाउनेछु। अहिले नै कुन विधा रोज्ने भन्ने निश्चित गरेकी छैन। आगामी दुई वर्ष मेडिकल अधिकृतका रूपमा काम गर्दै आफ्नो रुचि र क्षमतालाई मूल्याङ्कन गर्नेछु। अहिले भने मेडिसिन विधाप्रति मेरो रुचि बढी छ।

    ३२– अन्त्यमा मेडिकल क्षेत्रमा आउन चाहने विद्यार्थीलाई तयारी, दैनिक अध्ययन तालिका र आत्मविश्वासका विषयमा के सुझाव दिन चाहनुहुन्छ ?

    तयारीका क्रममा आत्मशंका र निराशा आउनु स्वाभाविक हो। तर, त्यस्तो अवस्थामा पनि आफूमाथि विश्वास राख्नुपर्छ। दैनिक अध्ययन तालिका बनाएर निरन्तर अभ्यास र पुनरावृत्ति गर्नुपर्छ। पढ्न मन नलागेका दिनमा पनि आफूलाई प्रेरित गर्दै पढाइलाई निरन्तरता दिनुपर्छ। आत्मविश्वास, अनुशासन र निरन्तर मेहनतलाई सँगै अघि बढाउन सके सफलता हासिल गर्न सकिन्छ।