बैंकको मुद्दती निक्षेपमा १५.३ प्रतिशत गिरावट - Chaitanya News
  • 2026-11-18
  • 13:50:43
  • बुधबार,मंसिर ०३, २०८३
  • बैंकको मुद्दती निक्षेपमा १५.३ प्रतिशत गिरावट

    बैंकको मुद्दती निक्षेपमा १५.३ प्रतिशत गिरावट

    काठमाडौं– बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदरमा आएको गिरावटका कारण वाणिज्य बैंकहरूको मुद्दती निक्षेप घट्न थालेको छ । बैंकमा पर्याप्त पैसा थुप्रिएपछि मुद्दती र बचत निक्षेपको ब्याजदरबीच ठूलो अन्तर नहुँदा सर्वसाधारणले मुद्दतीमा रहेको रकम बचत खातामा सार्न थालेका छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप १५.३ प्रतिशतले घटेको छ । यस अवधिमा चल्ती निक्षेप २९.९ प्रतिशत र बचत निक्षेप ४५.६ प्रतिशतले बढेको छ ।

    बैंकिङ प्रणालीमा रेमिट्यान्स आप्रवाह निरन्तर बढ्नु र कर्जाको माग न्यून रहनुले तरलता बढाएको छ । पर्याप्त निक्षेप उपलब्ध हुँदा बैंकहरूले बढी ब्याज दिएर दीर्घकालीन निक्षेप आकर्षित गर्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ ।

    कर्जा प्रवाह कमजोर हुँदा बैंकहरूलाई दीर्घकालीन निक्षेपको आवश्यकता पनि कम भएको छ । मुद्दती र बचत निक्षेपको ब्याजदर समानजस्तै भएपछि सर्वसाधारणले मुद्दतीमा पैसा राख्नुभन्दा बचत खातामै राख्न रुचाएको केन्द्रीय बैंकको विश्लेषण छ ।

    राष्ट्र बैंकका अनुसार गत आवमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १३.९ प्रतिशतले बढेर ९२ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि १२ प्रतिशत थियो ।

    त्यस्तै, बैंकहरूको कुल निक्षेप परिचालन १४.६ प्रतिशतले बढेर ७४ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निक्षेप परिचालन १३.७ प्रतिशतले बढेको थियो ।

    तर कर्जा तथा लगानी विस्तारको गति भने सुस्त देखिएको छ । समीक्षा अवधिमा बैंकहरूको कर्जा तथा लगानी ४.२ प्रतिशतले बढेर ६५ खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि ७.२ प्रतिशत थियो ।

    निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष निजी क्षेत्रमा कर्जा विस्तार ८.६ प्रतिशत थियो । २०८३ असार मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपात ७८.८ प्रतिशत कायम भएको छ ।

    यसैगरी, प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको ३८.१४ प्रतिशत अर्थात् १९ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कृषि क्षेत्रमा १३.१२ प्रतिशत र गैरकृषि क्षेत्रमा २५.०२ प्रतिशत कर्जा प्रवाह भएको छ ।

    बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानी भने ९.२ प्रतिशतले घटेर ९ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो लगानी बढेको थियो ।

    समीक्षा अवधिमा वाणिज्य बैंकहरूको तरल सम्पत्ति १८ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो कुल निक्षेपको २४.०६ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो अनुपात २६.७ प्रतिशत थियो ।

    तरल सम्पत्तिअन्तर्गत विदेशी बैंकमा रहेको मौज्दात ६२.३ प्रतिशतले बढेर ४ खर्ब २० अर्ब २१ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात भने १.३ प्रतिशतले घटेर ३ खर्ब ५९ अर्ब ३ करोड रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।