प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट - Chaitanya News
  • 2026-11-18
  • 13:42:57
  • बुधबार,मंसिर ०३, २०८३
  • प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

    प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

    काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको हो।

    भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे।

    प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए। त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए।

    राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको बताए।

    भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।