सरुवा अटेर गरेपछि अधिकृतको अधिकार खोसियो - Chaitanya News
  • 2026-11-18
  • 13:25:25
  • बुधबार,मंसिर ०३, २०८३
  • सरुवा अटेर गरेपछि अधिकृतको अधिकार खोसियो

    सरुवा अटेर गरेपछि अधिकृतको अधिकार खोसियो

    काठमाडौँ– सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई पुरानै कर्मचारीलाई कार्यालयमा निरन्तरता दिएपछि कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा प्रशासनिक समस्या चुलिएको छ । सरुवा निर्णय कार्यान्वयनमा अटेर गरेको भन्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ ।

    मन्त्रालयका अनुसार सरुवा भइसकेका कर्मचारी तोकिएको नयाँ कार्यस्थलमा नगई साबिककै गाउँपालिकामा कार्यरत रहँदै आएका थिए । त्यस्तै, उनको स्थानमा मन्त्रालयले खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाले हाजिर गराउनसमेत अस्वीकार गरेको थियो ।

    सरकारको सरुवा निर्णय कार्यान्वयन नभएपछि मन्त्रालयले कडा कदम चाल्दै गाउँपालिकाको खाता रोक्का गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल हाजिर गराई आर्थिक तथा प्रशासनिक अधिकारसहित कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ ।

    यसैगरी, आर्थिक जिम्मेवारी रद्द गरिएको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।