तातोपानी नाका खुलाउन नेपालको चीनसँग आग्रह - Chaitanya News
  • 2026-11-18
  • 13:32:15
  • बुधबार,मंसिर ०३, २०८३
  • तातोपानी नाका खुलाउन नेपालको चीनसँग आग्रह

    तातोपानी नाका खुलाउन नेपालको चीनसँग आग्रह

    काठमाडौँ– चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका सञ्चालनमा समस्या भएपछि नेपालले तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चिनियाँ अधिकारीसँगको भेटमा नाका यथाशीघ्र सञ्चालनमा ल्याउन अनुरोध गरेका हुन्।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा चीनको ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गसँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री खनालले तातोपानी नाकाको महत्त्वबारे ध्यानाकर्षण गराएका थिए।

    मन्त्री खनालका अनुसार गत भदौमा गएको बाढीका कारण रसुवागढी नाका बन्द छ । त्यस्तै, चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि चिसोका कारण पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था छ। यस्तो परिस्थितिमा काठमाडौँबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ थियो।

    खनालले तातोपानी नाका दुई देशबीचको ऐतिहासिक मित्रताको प्रतीक भएको उल्लेख गर्दै व्यापार तथा कनेक्टिभिटी विस्तारका लागि यसको तत्काल सञ्चालन आवश्यक रहेको बताएका थिए।

    जवाफमा चिनियाँ अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

    भेटवार्तामा नेपाल–चीनबीचको व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध तथा शिक्षा लगायतका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।