काठमाडौँः काठमाडौं जिल्लालाई २४सै घण्टा खुला गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सबै क्षेत्रका व्यापार, व्यवसाय र बजारलाई चौबिसै घण्टा सञ्चालन गर्ने गरी तयारी भइरहेको जनाएको हो।
जिल्ला प्रशासन कार्यालयले मङ्गलबार जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार दरबारमार्ग, ठमेललगायतका क्षेत्रलाई यसअघि नै चौबिसै घण्टा खुला गर्ने निर्णय भइसकेको छ। ती क्षेत्र हाल चौबिसै घण्टा खुला रहँदै आएका छन्।
काठमाडौं नेपालको संघीय राजधानी तथा अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले जिल्लाका सबै क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित आवश्यक तयारी भइरहेको सूचनामा उल्लेख छ।
यसका लागि जिल्ला प्रशासन कार्यालयले भरपर्दो सुरक्षा प्रबन्धसहित सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती तथा ट्राफिक व्यवस्थापनलगायतका न्यूनतम पूर्वाधारको पर्याप्त व्यवस्था गर्ने कार्य अघि बढाएको जनाएको छ।
त्यसैगरी, व्यापार, व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउँदै काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने अभिप्रायसहित रणनीतिक तयारी भइरहेको कार्यालयले जनाएको छ।
निकट भविष्यमा काठमाडौं जिल्लाभित्रका अन्य सम्पूर्ण स्थानका व्यापार, व्यवसाय तथा बजारसमेत चौबिसै घण्टा खुला गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वयात्मक बैठक आयोजना गरिने सूचनामा उल्लेख छ।
व्यापक तयारीपछि मात्र काठमाडौंको सम्पूर्ण क्षेत्र चौबिसै घण्टा खुला गर्ने गरी निर्णय गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
तर, हाललाई चौबिसै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीले अर्को सूचना जारी नभएसम्म यसअघि तोकिएको समयसीमाभित्र मात्रै व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्ने सूचनामा भनिएको छ।
