बन्तोली जात्रामा दमाहा बजाएर सबैको ध्यान खिचिन् कक्षा ७ मा अध्ययनरत सिमरन बिष्टले - Chaitanya News
  • 2026-11-18
  • 12:40:49
  • बुधबार,मंसिर ०३, २०८३
  • बन्तोली जात्रामा दमाहा बजाएर सबैको ध्यान खिचिन् कक्षा ७ मा अध्ययनरत सिमरन बिष्टले

    बन्तोली जात्रामा दमाहा बजाएर सबैको ध्यान खिचिन् कक्षा ७ मा अध्ययनरत सिमरन बिष्टले

    दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिका–७, बन्तोलीस्थित प्रसिद्ध लटिनाथ मन्दिरमा यस वर्षको तिहारमा केही फरक र विशेष दृश्य देखियो। हरेक वर्ष भाइटीकाको राति लाग्ने दार्चुलाकै प्रमुख धार्मिक तथा सांस्कृतिक जात्रामध्ये एक मानिने बन्तोली जात्रामा यसपटक एक बालिकाले आफ्नो अद्भुत प्रतिभामार्फत सबैको ध्यान आकर्षित गर्न सफल भइन्। उनी हुन् शैल्यशिखर नगरपालिका–७ की कक्षा ७ मा अध्ययनरत सिमरन बिष्ट।

    वर्षौंदेखि पुरुषहरूले मात्रै दमाहा बजाउँदै आएको स्थानीय सांस्कृतिक परम्परामा यसपटक सिमरनले दमाहा बजाएर नयाँ उदाहरण प्रस्तुत गरिन्। जात्रामा दमाहा बजाउने व्यक्तिहरूको कमी थिएन, तर दमाहा बजाउने महिलाका रूपमा भने सिमरन एक्ली थिइन् । परम्परागत बाजा दमाहा बजाउँदै जात्रामा सहभागी भएकी उनलाई देखेर जात्रा अवलोकन गर्न आएका दर्शकसमेत आश्चर्यचकित बने। उनको दमाहा बजाउने कला र आत्मविश्वासले जात्राको माहोललाई थप आकर्षक बनाएको थियो।

    सामान्यतया गाउँघरमा दमाहा बजाउने जिम्मेवारी पुरुषहरूले नै सम्हाल्दै आएका छन्। तर, यही परम्परागत सोचलाई चुनौती दिँदै सिमरनले आफू पनि दमाहा बजाउन सक्षम रहेको प्रमाणित गरेकी छन्। सानै उमेरदेखि गाउँघरमा आफ्ना दाजुभाइले दमाहा बजाएको हेर्दै आएकी उनले बिस्तारै आफैँ पनि बजाउने प्रयास गर्न थालेकी हुन्। अरूले बजाएको हेर्दा आफूलाई पनि दमाहा बजाउन रहर जाग्ने गरेको र निरन्तरको अभ्यासले अहिले जात्रामै दमाहा बजाउने आत्मविश्वास प्राप्त भएको उनका दाजु कमल बिष्टले जानकारी दिए।

    सिमरन हाल आफ्नै गाउँमा रहेको बद्रिनाथ माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन्। विद्यालयको पढाइसँगै स्थानीय कला, संस्कृति र परम्परागत बाजाप्रति देखाएको उनको रुचिले अहिले गाउँघरमा चर्चा पाएको छ। सानै उमेरमा आफ्नो मौलिक संस्कृति र परम्पराप्रति चासो राख्दै त्यसलाई व्यवहारमै उतार्नु आफैँमा प्रशंसनीय काम भएको स्थानीयहरूको भनाइ छ।

    बन्तोली जात्रा केवल मनोरञ्जनको माध्यम मात्रै नभई धार्मिक आस्था, सामाजिक सद्भाव र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिको पहिचान पनि हो। हरेक वर्ष भाइटीकाको राति लटिनाथ मन्दिरमा लाग्ने यस जात्रामा दार्चुलाका विभिन्न स्थानबाट श्रद्धालु तथा दर्शकहरूको उपस्थिति रहने गर्दछ। जात्रामा परम्परागत बाजागाजा, धार्मिक विधि तथा स्थानीय सांस्कृतिक गतिविधिले छुट्टै रौनक थप्ने गरेका छन्।

    यस वर्षको जात्रामा सिमरनको दमाहा बजाउने प्रतिभाले एउटा महत्वपूर्ण सन्देशसमेत दिएको छ, कला, सीप र प्रतिभाको कुनै लिङ्ग हुँदैन। अवसर र हौसला पाए महिलाहरूले पनि परम्परागत रूपमा पुरुषले मात्रै गर्दै आएका काममा आफ्नो क्षमता देखाउन सक्छन्। दमाहा बजाउने उनको साहसले पुरानो मान्यतालाई परिवर्तन गर्न सकिने सन्देश दिएको छ।

    एउटी बालिकाले देखाएको यही सानो प्रयासले स्थानीय मौलिक कला र संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको सहभागिता कति महत्वपूर्ण छ भन्ने कुरा पनि उजागर गरेको छ। परम्परालाई पुस्तान्तरण गर्न नयाँ पुस्ताले केवल हेरेर मात्रै होइन, आफैँ सहभागी भएर सिक्न र जोगाउन आवश्यक छ भन्ने उदाहरण सिमरनले प्रस्तुत गरेकी छन्।

    बन्तोली जात्रामा यसपटक दमाहाको आवाजसँगै सिमरन बिष्टको नाम पनि विशेष रूपमा सम्झनलायक बनेको थियो। उनको यो प्रतिभाले आगामी दिनमा अन्य बालिका तथा युवतीहरूलाई पनि आफ्नो रुचि र क्षमताअनुसार मौलिक कला, संस्कृति र परम्परागत बाजागाजामा सहभागी हुन प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ।