संशोधित तालिकाअनुसार काम नगरे ठेक्का रद्द हुन्छ : मन्त्री लम्साल - Chaitanya News
  • 2026-11-18
  • 12:06:57
  • बुधबार,मंसिर ०३, २०८३
  • संशोधित तालिकाअनुसार काम नगरे ठेक्का रद्द हुन्छ : मन्त्री लम्साल

    संशोधित तालिकाअनुसार काम नगरे ठेक्का रद्द हुन्छ : मन्त्री लम्साल

    काठमाडौं– काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि सरकारले कडा कदम चाल्ने भएको छ। संशोधित कार्यतालिकाअनुसार समेत काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन्।

    महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण राष्ट्रिय गौरवको आयोजना नै आलोचनाको विषय बन्न पुगेको बताए। अब निर्माण व्यवसायीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको उनको भनाइ छ।

    उनका अनुसार प्याकेज नम्बर ९ए, ९बी र ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन। पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन र पत्राचार गर्दा पनि निर्माण कम्पनीले आफैँले पेस गरेको संशोधित कार्यतालिकाअनुसार काम गर्न सकेका छैनन्।

    मन्त्री लम्सालले कमजोर कार्यसम्पादन भएका निर्माण कम्पनीका ठेक्का अन्त्य गरेर बाँकी कामका लागि पुनः टेन्डर आह्वान गरिने स्पष्ट पारे। काठमाडौंस्थित आयोजनाको प्रारम्भिक बिन्दुमा देखिएका समस्या पनि छिट्टै समाधान गरिने उनले बताए।

    ‘अब यो आयोजनालाई थप लम्ब्याउनका लागि जोखिम मोल्ने वा निर्माण व्यवसायीलाई थप सुविधा दिने कुनै पनि बाटो छैन,’ उनले भने, ‘संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गरौँ।’

    सरकारले आयोजना थप तीन वर्षभन्दा बढी लम्बिएको हेर्न नचाहेको उल्लेख गर्दै उनले आगामी जेठसम्म सम्बन्धित ठेक्कामा अपेक्षित प्रगति हुनुपर्ने बताए। निर्धारित समयभित्र काम सम्पन्न गर्न नसक्ने अवस्था देखिए ठेक्का अन्त्य गर्न उनले सम्बन्धित पक्षलाई आग्रह गरे।

    मन्त्री लम्सालले फास्ट ट्र्याक निर्माणका क्रममा नेपाली सेनाले देखाएको कार्यक्षमताको प्रशंसा गर्दै आयोजना सुरु हुँदा कार्यान्वयनका लागि आवश्यक उपयुक्त कानुनी व्यवस्था नै नरहेको अवस्थामा पनि सेनाले निर्माणलाई अघि बढाएको बताए।

    हालै सम्पन्न महादेवटार सुरुङको ब्रेकथ्रुलाई उनले महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उक्त सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ भएको उनको भनाइ छ।

    उनले फास्ट ट्र्याकलाई सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। आयोजनामा संलग्न नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिकले हासिल गर्ने ज्ञान र अनुभव भविष्यका ठूला पूर्वाधार आयोजनाका लागि महत्वपूर्ण सम्पत्ति बन्ने उनको धारणा छ।

    मन्त्री लम्सालले आगामी दिनमा पनि यस्तै प्रकृतिका ठूला पूर्वाधार आयोजना सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए। त्यस्ता आयोजनामा नेपाली सेनाको भूमिका थप विस्तार गरिने उनको भनाइ छ। विपद्का बेला सेनाले देखाएको सक्रियता, कार्यक्षमता र छोटो समयमा बेली ब्रिज निर्माण गर्ने क्षमताको समेत उनले प्रशंसा गरे।

    सरकारले फास्ट ट्र्याकलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित कमजोर कार्यसम्पादन गर्ने निर्माण कम्पनीमाथि कडाइ गर्ने र बाँकी कामलाई तीव्रता दिने नीति अघि सारेको छ।