दानबहादुर कार्कीको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी - Chaitanya News
  • 2026-11-18
  • 10:42:39
  • बुधबार,मंसिर ०३, २०८३
  • दानबहादुर कार्कीको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी

    दानबहादुर कार्कीको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी

    काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर गरिएको दानबहादुर कार्कीको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ।

    कार्कीले आफूलाई आईजीपीको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय गैरकानुनी रहेको दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा तोकिएको छ।

    गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। त्यसलगत्तै प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।

    सरकारको उक्त निर्णयले आफूलाई अन्याय भएको र कानुनी प्रक्रिया मिचिएको कार्कीको दाबी छ। सोही निर्णय बदरको माग गर्दै उनले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

    तिहार तथा छठ पर्वको बिदापछि मंगलबारदेखि सर्वोच्च अदालत नियमित सञ्चालनमा आएसँगै कार्कीको रिटमाथि सुनुवाइका लागि आजको मिति तय गरिएको हो। अब सर्वोच्चको प्रारम्भिक सुनुवाइले रिटको आगामी प्रक्रियाबारे कस्तो दिशा तय गर्छ भन्ने चासो बढेको छ।