नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुला, कुन पदमा कति कर्मचारी मागियो? - Chaitanya News
  • 2026-11-18
  • 09:55:44
  • बुधबार,मंसिर ०३, २०८३
  • नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुला, कुन पदमा कति कर्मचारी मागियो?

    नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुला, कुन पदमा कति कर्मचारी मागियो?

    काठमाडौं — सरकारी सेवामा प्रवेश गर्न चाहने युवाका लागि नेपाल राष्ट्र बैंकले रोजगारीको अवसर खुलाएको छ। बैंकले विभिन्न पद र सेवातर्फ गरी ६१ जना कर्मचारी नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सार्वजनिक गरेको हो।

    नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार सहायक निर्देशकदेखि सहायक पदसम्म कर्मचारी माग गरिएको छ।

    विज्ञापनअनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा सबैभन्दा बढी २६ जनाका लागि आवेदन माग गरिएको छ। त्यस्तै, लेखापरीक्षणतर्फ सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फ २ जना र सूचना प्रविधितर्फ ४ जना कर्मचारी नियुक्त गरिनेछ।

    यसैगरी, सहायक द्वितीय श्रेणीअन्तर्गत सहायक पदमा २६ जनाका लागि दरखास्त आह्वान गरिएको छ। बैंकले यी सबै पदमा खुला तथा समावेशी समूहबाट प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने जनाएको छ।

    आवेदन दिने म्याद कहिलेसम्म?

    राष्ट्र बैंकका अनुसार इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २०८३ मंसिर १७ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर बुझाएर मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन्।

    आवेदन अनलाइनमार्फत मात्रै दिन सकिनेछ। त्यसका लागि उम्मेदवारले नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np मा रहेको Career अन्तर्गत Online Portal for Open Competition वा www.jobs.nrb.org.np मा गएर फाराम भर्न सक्नेछन्।

    विभिन्न शैक्षिक योग्यता र विषयगत क्षेत्रका उम्मेदवारलाई लक्षित गर्दै बैंकले खोलेको यो विज्ञापन सरकारी क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि अवसरका रूपमा रहेको छ।